Loading...
नेता झकबहादुर मल्ल माओवादी केन्द्रमा फर्कने तयारीमा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी छाडेका नेता झकबहादुर मल्ल माओवादी केन्द्रमा फर्कने भएका छन् ।








माओवादी उच्च स्रोतका अनुसार मल्ल तिहार सकिएलगत्तै माउ पार्टी फर्कने भएका हुन् । पार्टीमा फर्कनेबारे मल्लले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर छलफल गरिसकेका छन् । काठमाण्डुटुडेसँग मल्लले आफू राजनीतिबाट अलग रहन नसक्ने भएकाले फरक ढंगले राजनीतिमा सक्रिय रहने उल्लेख गरे । उनले विप्लव नेतृत्वको माओवादी अकर्मण्यता फसेको र क्रान्ति गर्ने कुनै मनसाय र तयारी नदेखेपछि पार्टी छाडेको बताए ।

पार्टी नेतृत्वले पछिल्लो परिस्थितिको सही आंकलन गरेर क्रान्तिको कार्यदिशा ल्याउन नसकेकाले विप्लवको साथ छाडेको बताए । ‘पार्टीले क्रान्ति गर्ने त कता हो कता अहिलेको परिस्थति बुझ्नसम्म कसेन’, ‘मल्लले भने, ‘क्रान्ति गर्ने भनेर साथ दिएको थिएँ, तरिका मन नपरेपछि छाडें ।’ यद्यपि विप्लवले बिहीबार विज्ञप्ति जारी गर्दै मल्ल पार्टीको शक्तिको दुरुपयोग गरेर आर्थिक उपार्जनमा लागेको र पैसाका लागि मानिस अपहरण गर्ने क्रियाकपालमा समेत संलग्न रहेको आरोप लगाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको बताएका थिए ।

मल्लले भने आरोप लगाइएजस्तो आफूले कसैको अपहरण नगरेको र त्यस्तो भए प्रमाणित गरेर देखाउन चुनौती दिए । ‘मैले पार्टीमा पहिल्यै असहमति राखेको थिएँ, त्यसबारे छलफल पनि भएको थियो । नेतृत्वले चित्तबुझ्दो जवाफ नदिएपछि फेसबुकमार्फत राजीनामा दिएको हुँ’, उनले भने, ‘मैले राजीनामा दिएपछि अपहरणमा लागेको भन्नेले पहिला किन केन्द्रीय समितिको सदस्यमा राखिरहे ? म यो प्रश्न गर्न चाहन्छु ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads