Loading...
जातीय युद्धमा फसेको साउथ सुडान

काठमाडौँ– ‘सडकमा बुट लगाएका सैन्य अधिकारी फाट्टफुट्ट मात्र देखिन्छन् । मध्यान्हतिर दायाँ काँधमा राइफल ‘एके–४७’ भिरेर बायाँ हातमा पाउरोटी झुण्ड्याउँदै हिँडेका सेना र प्रहरीको दृश्य नौलो होइन । उनीहरू सबैको पैतालामा सामान्य चप्पल हुन्छ, कतिपयको शरीरमा सैन्य पोसाकसमेत हुँदैन । काँधमा बन्दुक भिरेको देखेपछि अन्दाज लगाउन सकिन्छ, ‘यो मान्छे पक्कै सेना वा प्रहरी हुनुपर्छ ।’
माथिको दृश्य विश्वको १९३औँ देश साउथ सुडानको राजधानी ‘जुबा’ सहरकोे हो । 
९ जुलाई २०११ मा सुडानबाट छुट्टिएर स्वतन्त्र भएको दोस्रो वर्षमा साउथ सुडानमा जातीय युद्धको आगो सल्कियो । सन् २०१३ डिसेम्बरबाट सुरु भएको जातीय युद्धमा स्थानीय डिंका समुदाय र निउर हरदिन लडिरहेका छन् । 
जुबास्थित तत्कालीन उपराष्ट्रपति डा. रिक मचारको निवासमा गोलीले खोपेका अनगिन्ती डोबहरू देखिन्छन् । उनी अहिले सरकारबाहिर छन्, उनको सेना ‘सुडान पिपुल्स लिबरेसन आर्मी इन अपोजिसन (एसपीएलए आईओ) विद्रोहीको भूमिकामा लडाइँको मैदानमा छ । डा. रिक मचारले निउर समुदायका सेनालाई साथमा लिएर सरकारी फौजसँग लडिरहेका छन् । 
सरकारी फौजको कमाण्ड राष्ट्रपति साल्भाकिरले सम्हालेका छन् । साल्भाकिर डिंका समुदायका हुन् । २०१३ मा राष्ट्रपति साल्भाकिरले अपदस्त गरेपछि तत्कालीन उपराष्ट्रपति डा. रिक मचार निउर समुदायको सरकारी सेनालाई फुटाएर विद्रोहमा उत्रिएका थिए । अहिले युद्धभूमिमा भएका दुवै सरकारी तालिम प्राप्त आर्मी छन्, फरक यत्ति हो, विद्रोही आर्मी निउर समुदायका छन्, डिंकाले सरकारी फौजको प्रतिनिधित्व गरेका छन् ।
  
सरकारी फौज : रक्सी खानेदेखि लुटपाट गर्नेसम्म  
साउथ सुडानी सरकारले आफ्ना सेना र प्रहरीलाई तलब नदिएको ६ महिनाभन्दा बढी भइसक्यो । यहाँका एसपीएलए ‘सुडान पिपुल्स लिबरेसन आर्मी’ एउटा बन्दुक र एकसरो बर्दीको भरमा ड्युटी गर्छन्’ संयुक्त राष्ट्रसङ्घीय मिसन साउथ सुडानमा कार्यरत एक अधिकारी भन्छन्– ‘सरकारले तलब दिन सकेको छैन, आफैं कमाएर बाँच्नुपर्ने बाध्यता छ ।’ 
Click to Load Image
द्वन्द्वले नीति–नियम र कानुन प्रभावहीन भएको छ । भन्सार र चेकपोस्टमा बस्ने प्रहरी तथा एसपीएलए अधिकारीहरू राजस्व र सवारी जरिवाना उठाएर खल्तीमा हाल्छन् । राजधानी जुबामा सवारी निमय निकै कडा जस्तो देखिन्छ । ट्राफिक प्रहरीहरू चालकले गल्ती नै नगरे पनि सवारी रोकेर १५ हजारबाट बार्गेनिङ सुरु गर्छन् अनि थोरै सुडानी पाउन्ड हात थापेर साइड लाग्छन् ।
राज्यका अधिकांश निकायमा सुडान पिपुल्स लिबरेसन आर्मी (एसपीएलए) को बोलवाला चल्छ ।
सुडानमा मदिराको मूल्य सस्तो छ । मदिरा सेवन गरेर ड्युटीमा बस्नु त्यहाँका सुरक्षा अधिकारीका लागि सामान्य कुरा हो । मदिरा त्यहाँका (उच्च तहका बाहेक) तल्लो तहका सुरक्षा अधिकारीको अभाव विर्साउने साथीको रूपमा स्थापित भइसकेको छ । 
साउथ सुडानको अर्को ठूलो समस्या लुटपाट हो । खाद्यबालीदेखि घरपालुवा गाई चोरीको शिकार हुने हुनाले अधिकांश मानिसहरू खेती गर्दैनन् । गाई चोरी हुनबाट रोक्नका लागि गोठालो जाँदासमेत काँधमा बन्दुक (एके–४७) बोकेर हिँड्छन् । 
कत्तिपय अवस्थामा ड्युटीमा खटिएका सुरक्षा निकायका अधिकारी नै त्यस्ता लुटपाटमा संलग्न भएर आफ्नो जीविकोपार्जन गर्न बाध्य छन् । 
      
अभावको माना, एक छाक खाना
अफ्रिका महादेशको इतिहासमा उत्तरी सुडानसँग सबैभन्दा लामो युद्ध लडेर स्वतन्त्र भएको साउथ सुडानको राजधानी जुबामा साँझ ७ बजे कफ्र्यु लाग्छ । जुबा सहरमा  दिनभर सडकमा हात हल्लाउने र हात थापेर माग्नेको सङ्ख्या अत्यधिक भेटिन्छ । धेरैजसो बालबालिकाहरू सडकमा माग्छन् । माग्नेबाहेक लुटपाट गर्नेदेखि पनी त्यहाँ जोगिएर हिँड्नुपर्छ । 
Click to Load Image
अभाव यतिसम्म छ कि साउथ सुडानका बासिन्दाहरू दिनमा एकछाक मात्र खान्छन् । बारीमा आफैं फल्ने जुनेलो, बनजङ्गलमा पाइने कन्दमूल तथा झारपात उसिनेर खान यहाँका मानिसहरू अभ्यस्त भइसकेका छन् । अधिकांश क्रिस्चियन धर्मावलम्बी हुने हुनाले आफ्नो भगवानले चार दिनमा खाने गरेको विश्वास गर्र्दै आफूहरूले एक पटक मात्र खाए पुग्ने उनीहरूको विश्वास छ ।  
प्रशस्त उब्जाउ हुने भए पनि यहाँका मानिसहरू खेती गर्र्दैनन्, किनभने राज्य जनताको सुरक्षा गर्न सक्ने हैसियतमा छैन । दुःखले गरेको खेती भित्र्याउने बेला अर्कैले लुटेर लैजान्छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा खटिएका सुरक्षा अधिकारीहरूका अनुसार सहरी क्षेत्र सरकारी फौजको नियन्त्रणम भए पनि ग्रामीण क्षेत्रमा रहेका निउर बस्तीमा विद्रोही सेनाको पकड छ । युवा निउरहरू हातमा बन्दुक बोकेर राज्यविरुद्ध जातीय धावा बोल्दै छन् । साउथका जनता भने भोकले तड्पिइरहेका छन् । 
Click to Load Image
आन्तरिक विस्थापितलाई यूएनको सुरक्षा
साउथ सुडानको भूगोल नेपालभन्दा चार गुणा ठूलो भए पनि जनसङ्ख्याको हिसाबले नेपालभन्दा थोरै छ । १९६० भन्दा अघी इजिप्टले आफ्नो अधीनमा लिएर सुडानमा मुस्लिम धर्म लागू गरेपछि त्यसलाई साउथ सुडानले अस्वीकार गरिदियो । त्यसपछि मुस्लिम धर्मका विरुद्ध लामो लडाइँ लडेर २०११ मा स्वतन्त्र हुँदा त्यहाँ संयुक्त राष्ट्रसङ्घले आफ्नो मिसन सुरु गरिसकेको थियो । 
‘प्रोटेक्सन अफ सिभिलियन’ संयुक्त राष्ट्रसङ्घीय साउथ सुडान मिसनको मुख्य उद्देश्य हो । युद्धका कारण विस्थापित भएकाहरूलाई राष्ट्रसङ्घले राजधानी जुबाका विभिन्न स्थानमा क्याम्प बनाएर आश्रय दिएको छ । जसलााई पीओसी क्याम्प भनिन्छ, जहाँ हजारौँ सुडानीले आश्रय लिएका छन् । 
‘पीओसी क्याम्पमा बसेकाहरूलाई राष्ट्रसङ्घले नै खानासहित सुरक्षा दिएको छ’– करिब १३ महिना शान्ति मिसनमा सुडानमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी डिकबहादुर थापा भन्छन्– ‘नेपाली सेनाले पनि त्यस्ता क्याम्पहरूको सुरक्षाका लागि पेट्रोलिङ गर्दै आएको छ ।’ 
(साउथ सुडानबाट फर्केपछि)   
फोटो : Olivier Jobard
रातोपती बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads