Loading...
प्रधानमन्त्री देउवाले आफ्ना मन्त्रीहरु हटाए भने माओवादी के गर्छ अब

Click to Load Image
काठमाडौँ । माओवादी केन्द्र बामगठबन्धनतिर ढल्किएपछि तरङ्गित बनेको काँग्रेसमा यतिबेला एउटा बहसले प्रवेश पाएको छ – माओवादीलाई सरकारमै राख्ने कि हटाउने ? 
काँग्रेसभित्र माओवादी मन्त्रीहरु हटाउनुपर्छ र  हटाउन हुँदैन भन्ने दुई थरी मत छ । प्रधानमन्त्री देउवा आफै के सोचेका छन्, यो चाहीँ बाहिर आएको छैन । तर, राजनीतिक घटनाक्रमहरु जसरी विकसित हुँदै गएका छन्, यसलाई हेर्ने हो भने देउवाले माओवादी मन्त्रीहरु अटाउन सक्ने राजनीतिक कोर्स विकसित हुन थालेको जस्तो देखिन्छ ।
पछिल्लो पटक राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको वैठकमा सरकारमा सहभागी हुने विषयमा छलफल भयो । प्रधानमन्त्री देउवा र राप्रपा अध्यक्ष कमल थापावीच भएका संवादपछि राप्रपाको बैठकमा यो विषयले प्रवेश पाएको हो । राप्रपाको सरकारमा सहभागी हुने तयारी भनेको प्रधानमन्त्रीले माओवादी मन्त्रीहरु हटाउने पूर्व तयारीजस्तो देखिन्छ । किनभने यस अघि नै ५६ जना मन्त्री बनाएर आलोचना खेपेका देउवाले थप मन्त्री बनाउन आवश्यक देखिँदैन । 
विकसित राजनीतिक घटनाक्रम र चुनावमा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई केन्द्रमा राखेर काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी मन्त्रीहरु हटाउन सक्ने सम्भावना छ ।
यदि प्रधानमन्त्री देउवाले आफ्ना मन्त्रीहरु हटाए भने माओवादी के गर्छ ? अब यो प्रश्नपनि सतहमा आएको छ । माओवादी प्रवत्ता पम्फा भुसालले प्रधानमन्त्रीले यस्तो कदम नचाल्ने आफूहरुको विश्वास रहेको र चालिहाले जिम्मेवार राजनीतिक दलको भूमिका पूरा गर्ने बताइन् ।
रातोपाटीसँगको कुराकानीमा प्रवक्ता भुसालले मंसिर १० र २१ गते हुन लागेको संघ र प्रदेशको चुनाव सम्पन्न गर्ने आफूहरुको मुख्य लक्ष्य रहेको बताइन् । उनले चुनाव प्रभावित हुने गरी आफ्नो पार्टीले कुनै पनि कदम नचाल्ने उनको भनाई थियो । 
‘बामगठबन्धन बनाएपनि हामीले जिम्मेवार राजनीति गर्छौँ । तत्काल सरकार छाडेर बाहिर ननिस्कने निर्णय गरेका छौँ । यसले विश्वाससहित चुनाव गराउन सकिन्छ भन्ने हाम्रो बुझाई हो । नत्र हामीले अविश्वासको प्रस्ताव पनि दर्ता गन सक्थ्यौँ, सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि सक्थ्यौँ,’ प्रवक्ता भुसालले रातोपाटीसँग भनिन्, ‘यदि प्रधानमन्त्री आफैले माओवादी मन्त्रीहरु हटाउनु भयो भने पनि हामी कुनै उत्तेजित कदम चाल्दैनौँ । आन्दोलनपनि गर्दैनौँ । समयमै चुनाव गर्न सरकारलाई खवरदारी गर्छौँ ।’
अहिले देउवा सरकारमा माओवादीका १७ जना मन्त्री छन् । त्यसमा गृहमन्त्रालय माओवादीको जिम्मामा छ । चुनावको मुखमा विपक्षी गठबन्धनलाई रहेको दलका नेतालाई गृहमन्त्रालय जिम्मा दिदा चुनाव प्रभावित हुन सक्ने काँग्रेसको आकलन छ ।
अविश्वासको प्रस्ताव र चुनाव सार्ने खेल
राजनीतिक जटिलता बढदै गए, के अविश्वासको प्रस्ताव दर्ता हुन सम्भव छ । चुनावी कार्यतालिका अनुसार मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि कार्तिक ५ गते मनोनयन दर्ता हुँदैछ । चुनावका लागि मनोनयन दर्ता भएपछि अहिलेको संसद स्वत विघटन हुनेछ । यस्तो अवस्थामा अविश्वासको प्रस्तावको खेल वाँकी नै रहदैन । यदि बामगठबन्धनले अहिले नै अविश्वासको प्रस्ताव दर्ता गरेपनि यो कोर्स पुरा गर्न कठिन छ । किनभने यस्तो प्रस्ताव दर्ता भएको एक महिनाभित्र मात्र प्रधानमन्त्रीले संसदमा बहुमत देखाउन सक्छन् । अव संसदको आयु दुई साता पनि वाँकी छैन ।
अर्को विकल्प छ, चुनाव सार्ने । आजका दिनमा सत्तारुढ दल चुनाव पछाडि धकेल्ने मूडमा छैन । किनभने अहिले आफुहरुका लागि अनुकुल रहेको गठबन्धनको बुझाई छ । यदि प्रधानमन्त्री देउवा आफैले चुनाव पछाडि धकेले भने बामगठबन्धन अविश्वासको प्रस्तावको कोर्समा अगाडि जान सक्छ । कार्तिक ५ गते मनोनयन भएन भने माघ ७ गतेसम्म संसदको आयु रहन्छ, जहाँ अविश्वासको प्रस्तावको राजनीतिको विकल्प वाँकी रहन सक्छ ।
कार्तिक ५ गते मनोनयन भयो र त्यसपछि चुनाव सारियो भने चाहीँ सत्ता राजनीतिक जटिलता बढ्न सक्छ । संसद पनि रहँदैन र चुनाव पनि तोकिएको मितिमा हुँदैन, यसले थप अन्योलता बढाउन सक्छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads