Loading...
बाबुरामलार्इ कांग्रेसको डर, नारायणकाजीलार्इ एमालेको भर

काठमाडाैं । कुनै बेला एउटै पार्टीभित्र समान हैसियतमा काम गरेका दुई नेताबीच चुनावी प्रतिसप्रर्धा हुने भएपछि गोरखा–२ अहिले चर्चामा छ । माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेका डाक्टर बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठबीचको चुनावी भिडन्तलाई चौतर्फी रुपमा रोमाञ्चक तरिकाले लिइएको छ । कांग्रेसको आडमा उम्मेदवार बनेका भट्टराई र एमालेसँग साथ लागेका श्रेष्ठ स्थानीय तहमा पाएको मतान्तरको जोडघटाउ मिलाएर जित्ने दाउमा छन् । अघिल्लो संविधानसभा निर्वाचनमा ३ क्षेत्र रहेको गोरखा अहिले २ क्षेत्रमा खुम्चिएको छ । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भट्टराई गोरखा–२ बाट सर्वाधिक मत ल्याएर विजयी भएका थिए । २०७० को निर्वाचनमा उनी गोरखा–१ बाट विजयी भएका थिए । अाजको नागरिकमा खबर छ-नयाँ शक्ति पार्टी खोलेर माओवादी छाडेपछि उनको सांसद पद गुमेको थियो । यसबाट केही मतदाताले निराशासँगै चिन्ता व्यक्त गरेका थिए । अहिले गोरखा २ संसदीय क्षेत्रमा विभाजित छ । पहिले २ नम्बर सबै ओगटेको क्षेत्र अहिले पनि २ भित्रै छ । १ नम्बरको केही भूगोल २ मा थपिएको छ । ३ नम्बरका अधिकांस क्षेत्र १ मा गाभिएका छन् ।
स्थानीय तह निर्वाचनको मताधारलाई हेरेर अहिले दुवै नेता आफूले सहजै जित्ने दाबी गरिरहेका छन् । भट्टराईले पार्टी छाडेपछि माओवादीलाई गोरखाको स्थानीय तह निर्वाचनमा ठूलो धक्का लागेको थियो । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा भट्टराई साथ रहँदा तीनवटै क्षेत्र एक्लै जितेको माओवादीले स्थानीय तह निर्वाचनमा ११ मध्ये दुई तह मात्रै जित्यो । भट्टराई साथ नहुँदाको फाइदा कांग्रेसलाई मिल्यो र उसले ९ स्थानीय तहमा जित हासिल गर्‍यो । अधिकांश तहमा माओवादी र नयाँ शक्तिको मत एकै ठाउँमा राख्दा माओवादी नै विजयी हुने देखिन्थ्यो ।
स्थानीय तहको नतिजालाई आधार बनाएर गोरखामा भट्टराई र श्रेष्ठ मतान्तर जोडघटाउ गरिरहेका छन् । यहाँका सर्वसाधारणले दुवै शीर्ष नेता एकै ठाउँमा नउठेको भए हुन्थ्यो भन्ने चाहना पनि व्यक्त गर्छन् तर त्यो समय टरिसकेकाले अहिले नेता मतदाता रिझाउनमा लागिसके । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति क्षेत्र नं. २ मा पर्ने पालुङटार नगरपालिकामा क्षेत्रमा तेस्रो स्थानमा छ । उसले माओवादीका उम्मेदवारले भन्दा करिब पाँच सय मत कम पाएको थियो । विजयी बनेका कांग्रेसका उम्मेदवारकोे भन्दा माओवादीका उम्मेदवारको दुई सय मत कम छ । भट्टराई आफैं निर्वाचनमा होमिँदा झन्डै २६ हजार मतदाता रहेको पालुङटारमा स्थानीय तहमा भन्दा धेरै मत आउने आकलन गरिएको छ ।
स्थानीय तहको निर्वाचनमा अहिलेको २ नम्बर क्षेत्रभित्र वाम गठबन्धनको तुलनामा लोकतान्त्रिक गठबन्धनले पाएको मत एक सय ३२ ले कम छ । भट्टराई यो मतान्तर ठूलो संख्यामा आफूले बढाउने दाबी गर्छन् भने श्रेष्ठ यसले पनि ठूलो अर्थ राख्ने दाबी गर्छन । गोरखा २ मा नेपाली कांग्रेस र नयाँ शक्तिले स्थानीय तह निर्वाचनमा २४ हजार नौ सय ७० मत पाएका थिए । यस्तै वाम गठबन्धनका माओवादी र एमालेले पाएको मत जोड्दा २५ हजार दुई मत हुन्छ । गोरखा–२ मा पालुङटार नगरपालिका, गोरखा नगरपालिकाको ८ देखि १४ वडा, अजिरकोट, सिरान्चोक र सुलिकोट गाउँपालिका पर्छन् ।
श्रेष्ठ पहिलो पटक गोरखाबाट निर्वाचन लड्दै गरेकाले उनलाई भट्टराईसँग प्रतिस्पर्धा गर्न सजिलो छैन तर २०७० को संविधानसभा निर्वाचनमा विजयी भई मन्त्रीसमेत बनेका हितराज पाण्डेले उनलाई साथ दिएका छन् । भट्टराई बाहिरिएर कमजोर महसुस गरेका उनी एमालेसँगको तालमेलले जित्नेमा ढुक्क छन् । कांग्रेसका कार्यकर्ताको मतले माओवादीलाई सजिलै पराजित गर्नेमा भट्टराई पनि ढुक्क देखिन्छन् । यसअघि विजयी भएर अर्थमन्त्री, प्रधानमन्त्री हुँदा गोरखा जिल्लामा र अझै त्यसभित्र पनि गृहक्षेत्र गोरखा–२ मा गरेको लगानीबारे जनतालाई बुझाउनमा भट्टराई सक्रिय भएका छन् । श्रेष्ठले बलियो संगठन र एमाले–माओवादीको पार्टी एकतासम्मको अजेन्डाले कार्यकर्ता र जनतामा खुसी ल्याएको भन्दै जित्ने दाबी गर्छन् । आउँदो निर्वाचनमा भट्टराईको व्यक्तित्वको प्रभाव रहन सक्ने केहीको विश्लेषण छ । गठबन्धन घोषणा गरेको साता नबित्दै वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग तालमेल गरेको भनी भट्टराईको आलोचना गर्नेको जमात पनि बाक्लै छ ।
सिरान्चोक गाउँपालिका जौबारी घर भएका श्रेष्ठले जित्ने आधार स्थानीय तहको मतान्तरलाई मानेका छन् । क्षेत्र निर्धारण गर्दादेखि नै उनले क्षेत्र नम्बर २ मा माओवादीको आधार बलियो देखिएको ठाउँ समावेश गर्न दबाब दिएको खबर बाहिर आएको थियो । माओवादीले उक्त क्षेत्रको सुलिकोट गाउँपालिकामा फराकिलो मतान्तरले जितेको छ । झन्डै ८ सय मतान्तर रहेको उक्त ठाउँ र जौबारीस्थित आफ्नो आधार इलाकाबाट भोट बढाउने दाउमा श्रेष्ठ छन् । उनले पालुङटार केन्द्रित रहेर भोट बढाउने योजना बुनेका छन् भने भट्टराई सुलिकोट, सिरान्चोक र अजिकोट क्षेत्रमा मतदाता रिझाउन जुट्ने तयारीमा छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads