Loading...
यस्ता छन्, बामगठबन्धनको भोट माग्न बनाएका नौ कारण






एमाले र माओवादीसहितको बामगठबन्धनले आफ्नो चुनावी घोषणा पत्रमा आफुहरुलाई भोट दिनुपने नौ कारण पेश गरेका छन् ।  प्राप्त गठबन्धनको घोषणा पत्रको मस्यौदामा यस्ता कारण भेटिएका छन् ।
यस्ता छन्  घोषणा पत्रमा उल्लेख नौ कारण
१. कम्युनिस्ट एवं वामपन्थी शक्तिहरू नै देशभक्तिपूर्ण आन्दोलनको मूल नेतृत्वदायी शक्ति भएकाले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र हितको रक्षाका लागि वामपन्थीहरुको बहुमतको सरकार आवश्यक छ ।
२. संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने संघर्षको मुख्य नेतृत्व र बाहक शक्ति हामी कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू भएकाले परिवर्तनको मूल मर्म एवं भावसहित नेपालको संविधान पालना गर्न र गराउन पनि संसद तथा सरकारमा वामपन्थीहरुको बहुमत आवश्यक छ ।
३ नेपाली स्वरुपको लोकतन्त्रको प्रयोगबाट ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली’ र ‘समाजवादउन्मुख’ सामाजिक–आर्थिक रुपान्तरणलाई सफल पार्न कम्युनिष्ट तथा वामपन्थीहरुबाट मात्र संभव छ । नेपालको सर्वोपरी विकासको लागि सबै राष्ट्रिय स्रोत र साधनलाई अत्यधिक रुपमा उपयोग र परिचालन गर्न पनि वामपन्थीहरुको नेतृत्व अपरिहार्य छ ।
४ एकै पटक सबै क्षेत्रमा तीव्र आर्थिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माण गर्न, रोजगारी र उच्च जीवनस्तर हासिल गर्न, जनताको आशा एवं आकांक्षा पूरा गर्न र समाजवादको आधार तयार पार्न कम्युनिष्ट तथा वामपन्थी शक्तिहरु बाहेक अरुबाट संभव छैन । छोटो समयमा सरकारको नेतृत्व गर्ने अवसर पाउँदा समेत हामीले आफूलाई सही सावित गरेका छौं । त्यसैले समृद्ध नेपाल निर्माणका लागि वामपन्थीहरुको बहुमत आवश्यक छ ।
५ शान्तिप्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्न, द्वन्द्वपीडितलाई न्याय दिन र दिगो शान्ति स्थापना गर्न कम्युनिष्ट तथा वामपन्थी सरकार अनिवार्य छ ।
६ मजदुर, किसान, श्रमजीवी, दलित, महिला, मधेसी, जनजाति, थारु, मुस्लिम, उत्पीडित एवं पिछडिएका जनसमुदायको स्वाभिमान एवं हक– हितका विषयहरुलाई राष्ट्रिय कार्यसूचीमा स्थापित गर्ने काम  कम्युनिष्टहरुबाटै भएको हो । यसको रक्षा गर्न र राष्ट्रिय एकता सृदृढ गर्न कम्युनिष्ट तथा वामपन्थीहरुको अगुवाइ अपरिहार्य छ ।
७ इतिहास साक्षी छ– भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने काम कम्युनिष्ट तथा वामपन्थीहरुको नेतृत्वमा मात्र संभव छ ।
८ राजनीतिक स्थायित्व, दिगो शान्ति र राष्ट्रिय सुरक्षा कायम गर्नकै निम्ति हामीले सबै कम्युनिष्ट पार्टी र वामपन्थी लोकतन्त्रवादीहरुलाई एकतावद्ध गर्ने ऐतिहासिक कामको थालनी गरेका छौं । हाम्रो यस सहकार्यबाट मात्रै राजनीतिक स्थायित्व संभव छ ।
९ नेपालको संविधानले निर्देशित गरे अनुरुप संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तको आधारमा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै सबै मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसंग सुमधुर सम्बन्ध कायम राखी नेपालको हित र स्वाभिमान प्रवद्र्धन गर्न पनि हाम्रो आवश्यकता टड्कारो रुपमा देखा परेको छ । नाकाबन्दी जस्ता सङ्कटका घडीमा राष्ट्रको नेतृत्व गर्दै राष्ट्रिय स्वाभीमानको रक्षा गरेर हामीले आफूलाई व्यवहारमा प्रमाणित गरेका छौं ।
ratopati 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads