Loading...
पहिलो चरणको चुनावका लागि आवश्यक सामाग्री सम्बन्धित ३२ वटै जिल्ला सदरमुकाममा


काठमाडाैं । प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको चुनावका लागि आवश्यक सामाग्री सम्बन्धित ३२ वटै जिल्ला सदरमुकाममा पुर्‍याइसकिएको निर्वाचन आयोगले जनाएको छ ।
विकट ठानिएका केही स्थानमा मतपत्र जस्ता संवेदनशील सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएका छन् ।
आयोगका अनुसार दोस्रो चरणको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ ।
आवश्यक ६४ देखि ६७ प्रकारका निर्वाचन सामाग्रीमध्ये केही स्थानीय तहमै खरिद गरिएको र मतपत्र जस्ता संवेदनशील मानिएका सामाग्री केन्द्रबाट पठाइसकिएको निर्वाचन आयोगका अधिकारीले बताएका छन् ।
केही विकट हिमाली जिल्लामा संवेदनशील सामग्रीहरु हेलिकोप्टरबाट पठाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
उनले भने, “स्वस्तिक छाप, मसी, नङमा लगाउने मसी, स्ट्याम्प प्याड, मतपत्र, सीलहरु, छेकाबारा जस्ता संवेदनशील सामग्री जिल्ला पुगिसकेका छन् । दोस्रो चरणका सामाग्री भने लैजाने क्रममा छ ।”
पहिलो चरण अन्तर्गत ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्र अन्तर्गत ४५ सयभन्दा बढी मतदान केन्द्रमा मतदान हुनेछ ।
मंसिर १० गते हुने सो निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा ९ जनासम्म कर्मचारी रहने बताइएको छ ।
दुवै चरणमा गरी झण्डै सवा २ लाख निर्वाचन कर्मचारी खटिनेछन् ।
तीमध्ये पहिलो चरणमा पर्ने विकट र हिँडेर पुग्नुपर्ने स्थानमा बुधवारबाटै कर्मचारी खटाउन लागिएको पनि आयोगका प्रवक्ता ढकालले बताए।
उनको भनाइ थियो, “मतदान हुने भन्दा तीन दिन अगाडि मतदान अधिकारीहरु त्यहाँ पुग्ने गरी व्यवस्थापन गरिएको छ । उनीहरु मंसिर ७ गतेसम्ममा मतदानस्थल पुग्नेछन् । विकट स्थानमा हिँडेर पुग्नुपर्ने स्थानमा उनीहरु बुधवारबाटै हिँड्नेछन् ।”
मतदाता शिक्षा र मतदान परिचयपत्र समेत उनीहरुले वितरण गर्नेछन् ।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि चाहिँ मतपत्र छाप्ने काम अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads