Loading...
संकटमा कांग्रेस गठबन्धन प्रयास

आफ्नो दलका प्रभावशाली नेताको क्षेत्र मधेसकेन्द्रित दलले मागेपछि कांग्रेस र मधेसकेन्द्रित दुई दलबीचको चुनावी तालमेल संकटमा परेको छ । वाम गठबन्धन भएपछि काउन्टर दिन कांग्रेसले पनि राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलको नीति लिएको थियो ।
तर, राजपा र संघीय फोरमले कांग्रेसका प्रभावशाली नेताकै क्षेत्र मागेपछि सहमति हुन नसकेको कांग्रेस नेता रमेश रिजालले जानकारी दिए । ‘वाम गठबन्धन भएपछि हामीले जसरी पनि मिलेर जाऊँ, चुनाव अघि र पछि मिलेर जाँदा दुवै पक्षको हित हुन्छ भन्यौँ,’ रिजालले भने, ‘तर, हाम्रो प्रयासमा उहाँहरू सकारात्मक हुनुभएन ।  आजको अन्नपूर्णमा खबर छ-यसकारण तालमेल हुने सम्भावना कमजोर हुँदै गएको छ ।’
रिजालका अनुसार राजपा र फोरमले विमलेन्द्र निधिको धनुषा– ३, अमरेशकुमार सिंहको क्षेत्र (सर्लाही), किरण यादवको क्षेत्र (महोत्तरी)सहित प्रमुख नेता उठ्ने क्षेत्र नै मागेपछि सहमति नभएको हो । ‘उहाँहरू कहिले १८ सिट चाहिन्छ भन्नुहुन्छ, कहिले विमलेन्द्र निधि, अमरेश सिंह, किरण यादवका ठाउँ दाबी गर्नुहुन्छ । यसैले समस्या भएको हो,’ रिजालले भने ।
प्रतिनिधिसभामा प्रदेश नं. २ का ३२ सिटमा कांग्रेसले १७ सिट आफूले लिने तथा राजपा र फोरमलाई १५ सिट दिने तयारी गरेको थियो । तर, राजपा र फोरमले १८ सिट लिने अडान राखेका थिए ।
दुवै पक्ष अडानमा रहँदा संख्याको आधारमा तालमेलको प्रयास पनि विफल भएको छ । प्रदेश नं. २ का ६४ सिटको प्रदेश सभामा मधेसी दलले ४० सिटको दाबी गरेका थिए ।
चमत्कार भए मात्र कांग्रेससँग तालमेल
राजपाका नेता केशव झाले पनि अब बुधबार रातभरमा चमत्कार भए मात्र कांग्रेससँग प्रदेश नम्बर २ का ३२ निर्वाचन क्षेत्रमा चुनावी तालमेल हुने बताए ।
‘पहिला कांग्रेसले राजपा र संघीय फोरमका शीर्ष नेतालाई छोड्ने भनेको थियो,’ झाले भने, ‘तर, कांग्रेसले नै शीर्ष नेताहरुको क्षेत्रमा समर्थन गर्न नखोजेपछि समस्या आएको छ । बुधबार रातिसम्मको परिस्थिति हेर्दा तालमेलको सम्भावना छैन । तर, रातभरमा चमत्कार पनि हुन सक्छ ।’
कांग्रेससँगको तालमेलको छलफलका लागि राजेन्द्र महतोबाहेकका नेताहरू महन्थ ठाकुर, शरत्सिंह भण्डारी, अनिल झा, महेन्द्र यादव, राजकिशोर यादव बालुवाटार गएका थिए । महतोले पहिला सर्लाही– ४ बाट चुनाव लड्ने मनस्थिति बनाएका थिए ।
तर, त्यहाँ कांग्रेसका अमरेशलाई फिर्ता गर्न कांग्रेस तयार नभएपछि उनले विमलेन्द्र निधिको धनुषा– ३ मागेका थिए । त्यहाँ पनि निधिले नछोड्ने भएपछि महतोले ३ बाटै उम्मेदवारी दिने बताउँदै आएका छन् ।
राजपाले पर्सा ४ मा लक्ष्मणलाल कर्ण, महोत्तरीमा २ मा शरत्सिंह भण्डारी र ३ मा महन्थ ठाकुरलाई छोडिदिन आग्रह गरे पनि कांग्रेसले नमानेको आरोप मधेसकेन्द्रित दुई दलको छ ।
कांग्रेसले बुधबार मध्यरातसम्म प्रदेश नम्बर २ का २९ क्षेत्रमा उम्मेदवार टुंग्याएको छैन । नेता निधि धनुषा ३, रमेश रिजाल पर्सा ४ र फरमुल्लाह मन्सुरलाई बारा ३ बाट उम्मेदवार बनाउने निर्णय कांग्रेसले एक हप्ताअघि नै गरिसकेको छ ।
सिटौला नमानेपछि राप्रपासँग पनि सकस
झापा ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई टिकट दिएर कांग्रेसले तालमेल गर्न खोजेको थियो । तर, कृष्णप्रसाद सिटौलाले झापा ३ छोड्न नमानेपछि कांग्रेसले उनलाई ३ बाटै उम्मेदवार बनाएको छ । यसबाट राप्रपा असन्तुष्ट बनेको छ । सिटौला ३ बाट उठे पनि लिङ्देनलाई राप्रपाले ३ बाटै उम्मेदवार बनाउने भएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads