Loading...
प्रदेश ७ को राजधानी कहाँ बन्ला ? यस्ता छन् दलका कुरा

दिपायल । सबैजसो उम्मेदवार दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने मागलाई प्रमुख मुद्दा बनाएर मैदानमा आएका छन् । कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले त राजधानी बनाउन नसके जनप्रतिनिधि पदबाटै राजीनामा दिन्छु भन्दै मतदाता फकाइरहेका छन् ।
सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले दिपायललाई प्रदेशको राजधानी बनाएरै छाड्ने एजेन्डा अघि सारेका हुन् । आजको कान्तिपुरमा खबर छ–यति गर्न नसके प्रतिनिधिसभा र प्रदेशसभाबाटै राजीनामा दिने उद्घोषसमेत उम्मेदवारहरूले गरिरहेका छन् ।
आफ्नो जिल्लामा प्रदेशको राजधानी ल्याउने मुद्दाले डोटीका मतदातालाई आकर्षित गरिरहेको छ । दिपायल सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम हो । यहाँ सबैजसो सरकारी निकायका क्षेत्रीय कार्यालय छन् । कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले राजधानी बन्न दिपायलमा आवश्यक सबै भौतिक पूर्वाधार रहेको र प्रदेशसभा बैठक चलाउन मिल्ने सभागृहसमेत निर्माण भइरहेको बताए ।
‘यहाँ प्रदेशको राजधानी बनाउन आवश्यक सबै पूर्वाधार छन् । दिपायल ७ नं प्रदेशको सबभन्दा सेन्टरमा पर्छ । विकास क्षेत्र भइन्जेल सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम हुने, यही भूभाग प्रदेश बन्दा दिपायल किन प्रदेशको राजधानी नहुने ? अन्यत्र राजधानी बनाउने कुरामा मेरो सहमति रहन्न,’ उनले भने ।
प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार एमालेका वैकल्पिक केन्द्रीय कमिटी सदस्य प्रेम आलेमगरले समेत दिपायललाई राजधानी बनाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै नसके आफूले प्रतिनिधिसभा र जिल्लाबाट विजयी गठबन्धनका सदस्यले समेत प्रदेशसभाबाटै राजीनामा दिने बताए । ‘प्रदेशको सबभन्दा सेन्टर दिपायललाई राजधानी बनाउनुपर्छ भन्ने मेरो पहिलो एजेन्डा हो । सुदूरपश्चिमवासीले स्वीकारिसकेको दिपायललाई राजधानी बनाउन सकिनँ भने मैले प्रतिनिधिसभाबाट र गठबन्धनबाट प्रदेशसभामा जित्ने सदस्य सबैले राजीनामा दिन्छौं,’ आलेमगरले भने ।
उनले दिपायललाई राजधानी बनाउन कैलालीको खुटियादेखि दिपायलसम्म फास्ट ट्रयाक तीव्र गतिमा बनाउनुपर्ने बताए । खुटिया–दिपायल फास्ट ट्रयाक खोल्ने काम सुरु भइसकेको छ ।
उनले ‘जनता जागौं । प्रदेश नं ७ को राजधानी दिपायल बनाऔं’ नारासमेत अघि सारेका छन् । कांग्रेस उम्मेदवार बलायरले दिपायललाई नै प्रदेशको राजधानी बनाउन आफ्नो सरकारले तत्काललाई प्रदेशको काम हेर्ने जिम्मा यहाँका क्षेत्रीय प्रशासकलाई दिएको दाबी गरे । कांग्रेस र वाम गठबन्धनले मात्र होइन, यहाँका अरू दलका उम्मेदवारले समेत दिपायललाई प्रदेशको राजधानी बनाउने मुद्दा चर्काइरहेका छन् ।
डोटी प्रतिनिधिसभामा एक क्षेत्र मात्र रहेको जिल्ला हो । प्रतिनिधिसभामा कांग्रेसबाट बलायर, प्रदेशसभा ‘क’ मा भरतबहादुर खड्का र ‘ख’ मा योगेन्द्र शाही तथा वाम गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका आलेमगर, प्रदेशसभा ‘क’ मा एमालेकै चक्र मल्ल र ‘ख’ मा माओवादी केन्द्रका त्रिलोचन भट्ट उम्मेदवार छन् ।
जिल्लाको आर्थिक समृद्धिका लागि ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणलाई कांग्रेस र वाम गठबन्धनले दोस्रो ठूलो चुनावी मुद्दा बनाइरहेका छन् । बझाङ, डोटी र डडेलधुराको संगममा पर्ने आयोजना चर्चामा आएको ३० वर्षमा पनि निर्माण सुरु नहुँदा स्थानीयमा चिन्ता छ । चिनियाँ थ्री गर्जेजले पश्चिम सेती आयोजना निर्माण गर्न लाइसेन्स लिए पनि काम अघि बढाएको छैन । बलायर र आलेमगर दुवैले यो आयोजनालाई अघि बढाउन कुनै कसर बाँकी नराख्ने बताए । कांग्रेस र वाम गठबन्धनले आफ्नो पार्टीले जितेर सरकार बनाएको एक वर्षमै आयोजना निर्माणको काम सुरु गरेरै छाड्ने लिखित एजेन्डा अघि सारेका छन् ।
कांग्रेस र वाम गठबन्धन दुवैले अबको ५ वर्षमा जिल्लाका सबै बस्तीमा सडक पुर्‍याउने, तराईसित जोड्न फास्ट ट्रयाक बनाउने, भएका सडक स्तरोन्नति गर्ने र खेतीयोग्य जमिनमा सिँचाइ तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा जनतालाई पुर्‍याउने वाचा गरिरहेका छन् । जिल्लामा विभिन्न सडक बनाउन र नयाँ खोल्न झन्डै ४ अर्ब रुपैयाँ बजेट परेर बहुवर्षीय ठेक्का लागिसकेका छन् । कांग्रेस र एमालेका उम्मेदवारबीच यी आयोजनामा आ–आफ्नो सरकारले बजेट पारेको भन्दै श्रेय लिने होड छ । बलायरले यी आयोजनामा आफूले बजेट पारेको दाबी गरे भने आलेमगरले पनि विष्णु पौडेलको अर्थमन्त्रीकालमा सडक विस्तार गर्न आफूले बजेट पारेको दाबी गरे । जनतामाझ प्रचारमा जाँदासमेत दुवै उम्मेदवारले आ–आफूले बजेट पारेको भाषण दिन तँछाडमछाड गरिरहेका छन् ।
दुईबाट एक क्षेत्रमा खुम्चिएको डोटीको प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा कांग्रेस र वाम गठबन्धनबीच कडा टक्कर देखिन्छ । दोस्रो संविधानसभामा क्षेत्र नं १ बाट कांग्रेसका बलायर र २ बाट एमालेका आलेमगर विजयी भएका थिए । सिंगै जिल्ला एउटा क्षेत्र भएपछि पहिले जितेका बलायर र आलेमगर नै आमनेसामने छन् । दुवै जना अघिल्लो चुनावमा आ–आफ्नो
क्षेत्रमा ‘पपुलर’ थिए । यस पटक क्षेत्र खप्टिएकाले दुवैले एक–अर्काको क्षेत्रका मतदाता रिझाउन हम्मे परिरहेको छ ।
प्रतिनिधिसभा चुनाव ०४८, ०५१ र ०५६ मा जिल्लाका दुवै क्षेत्रमा र ०७० को चुनावमा एउटा क्षेत्र कांग्रेसले जितेको थियो । एमालेले ०६४ र ०७० मा मात्र एकरएक क्षेत्र जितेको थियो । माओवादीले ०६४ मा एक क्षेत्र जितेको थियो । ०१५ सालमा समेत कांग्रेसले जितेको यो जिल्लामा परम्परागत रूपमा लोकतान्त्रिक मत बढी छ । तर, यस पटक एमाले र माओवादीले गठबन्धन बनाएर चुनाव लडेकाले युवा वर्गमा ‘पपुलर’ मानिएका कांग्रेसका पूर्वविद्यार्थी नेता बलायरले कडा चुनौती महसुस गरिरहेका छन् । स्थानीय तहको चुनावमा एमाले र माओवादीले ल्याएको कुल मत कांग्रेसको भन्दा ८ हजार बढी छ । गठबन्धन मत र स्थानीय तहको बढी मतलाई आफ्नो जितको बलियो आधार मानेको छ वाम गठबन्धनले ।
‘गठबन्धन बनेपछि जनतामा उत्साह आएको छ । स्थानीय तहमा पनि हामीले बढी जितेका थियौं । यस पटक हामीले तीनै सिट जित्छौं,’ एमाले उम्मेदवार आलेमगरले भने ।
कांग्रेसले भने डोटी सधैं लोकतन्त्रवादीकै बाहुल्य जिल्ला भएको र वाम गठबन्धन बनाएर कम्युनिस्ट अधिनायकवाद लाद्न खाजेकाले जिल्लाका लोकतन्त्रवादी मतदाताले आफ्ना उम्मेदवारलाई जिताउने दाबी गरेको छ । ‘डोटीका जनता कम्युनिस्ट अधिनायकवाद लाद्न खोज्ने एमाले र माओवादीको पक्षमा छैनन् । गठबन्धनका कारण लोकतन्त्रमाथि खतरा बढेकाले यहाँका जनता कांग्रेसको पक्षमा उभिने माहोल बनेको छ । हामीले तीनवटै सिट जित्छौं,’ बलायरले भने ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads