Loading...
केन्द्रदेखि जिल्लासम्म प्रभावशाली थिए बालकृष्ण

काठमाडाैं । सर्वोच्चले जन्मकैदको फैसला सुनाएपछि पनि सभासदकै रुपमा संविधानसभामा समेत देखिने बालकृष्ण ढुंगेल सात वर्षसम्म पक्राउ परेका थिएनन् । ०६४ मा यहाँको निर्वाचन क्षेत्र २ बाट संविधानसभामा निर्वाचित भएपछि उनको लोकप्रियता र राजनीतिक प्रभाव झनै बढेको थियो । अाजको कान्तिपुरमा खबर छ-राजधानीमै पक्राउ पर्न नसकेका ढुंगेल जिल्लामा पुष्पकमल दाहाल, बाबुराम जस्ता केन्द्रीय नेतासँग हेलिकप्टर चढेरै आइपुग्थे । ११ हजार ६९ मत ल्याएर त्यतिखेर निर्वाचित भएका ढुंगेललाई बढिजसो एमालेका नेताहरुले पक्राउ गर्न दबाब दिँदै सार्वजनिक कार्यक्रममा विरोध गर्थे । तर, बेलाबेलामा मात्र चर्चा हुने ढुंगेल पक्राउ गर्ने विषय केही समययता ओझेलमा थियो ।
जब वाम गठबन्धनका लागि जिल्ला संयोजन समिति गठन भयो । त्यसमा माओवादी केन्द्रका तर्फबाट ढुंगेल सदस्य भए । त्यही समितिको पहिलो बैठकमा एक अर्कालाई राजनीतिक शत्रु मान्ने एमालेका यज्ञराज सुनुवार र माओवादीका बालकृष्ण ढुंगेलसँगै उभिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो । सोही तस्बिर पछि ढुंगेल पक्राउको विषयले चर्चा पायो । सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीका आईजीपीविरुद्ध नै मानहानिको रिट दायर गरे । जसको परिणाम स्वरुप प्रहरीलाई नैतिक दबाब पर्‍यो । अन्तत: उनी पक्राउ परे ।
गाउँमै भेटिन्थे ढुंगेल
प्रहरीले फरार सूचीमा राखे पनि प्राय: ढुंगेल राजधानीमा मात्र नभएर गाउँमै भेटिने गर्थे । केही महिनाअघि उनलाई रामेछापमा सार्वजनिक कार्यक्रममा सम्मान गरिएको थियो । गत वैशाखमा लिखु गाउँपालिकामा पर्ने गाम्नाङनटारस्थित एक स्थानीयको घरमा उनी मकै भटमास खाँदै गरेको भेटिएका थिए ।
भेटघाटको क्रममा उनले आफू कुनै पनि स्थितिमा प्रतिक्रियावादी सत्ताको इशारामा अदालतले गरेको फैसला नमान्ने बताएका थिए । ‘म जस्तोसुकै परिस्थिति आइपरोस्, तर आत्मसमर्पण गर्न चाहन्न ।’ उनले भनेका थिए, ‘मृत्यु प्राकृतिक रुपमै अवश्यम्भावी छ । मेरो ज्यान जाओस् तर म जेल जान्न ।’ एक थोपा थुक मुखमा रहेसम्म थुकेर भए पनि प्रतिरोध गर्ने तर आत्मसमर्पण नगर्ने उनले बताएका थिए ।
उनी सभासद् हुँदाताका गाउँगाउँमा उनले चलाएको ‘एक घर एक लिच्चि, एक घर एक अनार’ अभियान अझै जारी छ । माटो र भूगोल सुहाउँदो कृषिबाटै रोजगारी सिर्जना गरी विकास गर्न सकिन्छ भन्ने अभियानका अभियन्ता ढुंगेल सञ्चारमाध्यममा सुनिए जति आलोचित आफ्नो क्षेत्रमा थिएनन् । गाउँमा उनको लोकप्रियता देख्दा अन्य दलका नेताहरु समेत छक्क पर्थे ।
पार्टीको राजनीतिक कार्यक्रममा प्रत्यक्ष नदेखिए पनि प्राय: उनको सल्लाहबमोजिम हुने गर्थ्यो । ढुंगेलको विरोध र आलोचना गर्नेहरु समेत उनलाई भेटेर कुराकानी गरेपछि आलोचना कम गर्थे । कतिपय त उनका प्रशसंक बन्थे । भाषण गर्दा समेत कविता, गीत र कथाको माध्यमबाट सामान्य नागरिकलाई समेत लयबद्ध तरिकाले मन्त्रमुग्ध पार्ने उनको क्षमता थियो ।
पक्राउको विरोध
ढुंगेललाई पक्राउ गरिएको विषयलाई लिएर जिल्ला तहका माओवादी नेताहरुले विरोध गरेका छन् । दुई वर्षअघिमात्र गठित ‘अदालत पीडित संघ’का केन्द्रीय अध्यक्ष तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य बाबुराम गौतमले ढुंगेललाई देउवा सरकारले पक्राउ गर्नु निन्दनीय रहेको बताए ।
‘हामी तत्काल ढुंगेलको रिहाईको माग गर्छौँ’ गौतमले भने, ‘सिंगो जिल्ला पार्टीले यसको घोर भर्त्र्सना गरेका छौं । कांग्रेसको यस्तो हर्कतले ठूलो क्षति पुग्ने निश्चित छ ।’ अदालत पीडित संघले बेलाबेलामा ढुंगेल पक्राउ गर्न नहुने भन्दै विरोध र जुलुस गर्ने गरेको थियो ।
खबर डबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads