Loading...
चितवनमा रोचक भिडन्तः यसो भन्छन् प्रचण्ड र पाण्डे

चितवन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्थामन्त्री थिए । एउटै मन्त्रिमण्डलमा रहेर काम गरेका प्रचण्ड र पाण्डे अहिलेको निर्वाचनमा आमनेसामने छन् । प्रतिनिधिसभा सदस्यका लागि दाहाल र पाण्डेबीचको प्रतिस्पर्धा चर्चामा छ । संविधानसभा निर्वाचनमा रोल्पा, काठमाडौं, सिरहाबाट उठेका प्रचण्ड यसटक गृहजिल्ला चितवनको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवार हुन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उनले प्रचार अभियान तीव्र पारेका छन् । उम्मेदवारी दर्ताका लागि आउँदा उनी चार दिन चितवन बसे । अाजको अन्नपूर्णमा खबर छ-प्रचण्डले पहिलो चरणमा शिवनगर, जगतपुर, देवनगर र माडीको कार्यक्रममा पुगे। चुनावी प्रचारका क्रममा उनले जिल्ला नेतासँग चुनावी माहोल नजिकबाट बुझेका छन् ।
प्रचण्डलाई वन तथा भूसंरक्षणमन्त्री पाण्डेले चुनावी मैदानमा चुनौती दिएका छन् । राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष पाण्डे लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । उनले पनि मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयत्न थालिसकेका छन् । प्रचण्डलाई जिताउन एमाले र पाण्डेलाई जिताउन कांग्रेस कार्यकर्ता लागिपरेका छन् । निर्वाचन प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग बढी देखिएको छ । प्रचण्डका लागि सबैभन्दा बढी चुनौती कांग्रेस कार्यकर्ता देखिएका छन् ।
यसअघि कांग्रेससँग गठबन्धनको मत पाएर प्रचण्डपुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन् । मेयरमा जितेपछि वाम गठबन्धन गरेको भन्दै कांग्रेस कार्यकर्ता माओवादीसँग रुष्ट छन् । सोही क्षेत्रअन्तर्गत पर्ने माडीको बाँदरमुढे घटनाका कारण पनि माओवादीले आलोचनाको सामना गर्नुपरेको छ ।
सशस्त्र द्वन्द्वकालमा माओवादीले सार्वजनिक बसमा बम प्रहार गर्दा ३९ जनाको ज्यान गएको थियो। उनले माडी पुगेर द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भन्दै माफीसमेत मागे । आफूले निर्वाचन जिते विकासको लहर ल्याउने प्रतिबद्धता उनको थियो । माडीमा सुरुङ मार्ग र आकाशे पुलमध्ये एउटा बनाएर चितवन राष्ट्रिय निकुञ्जमा आवतजावत गर्न सहज बनाउने आश्वासन पनि बाँडे । ‘जित्न सकिने जिल्लाबाट निर्वाचन लड्न अनुरोध आएको थियो’, उनले भने, ‘यहाँका जनताको समस्या सम्बोधनका लागि नेतृत्व लिन चितवन आएको हुँ ।’
पाण्डेले पनि चुनावी कार्यक्रमलाई तीव्र पारेका छन् । आफूले धोका नदिने भन्दै उनी कांग्रेस कार्यकर्ता लिएर चुनावी मैदानमा छन् । ‘म यो भूमि र यहाँका जनतासँग भिजेको छु’, उनले भने, ‘मलाई सबैले चिनेका छन्, विकास र जनताको माया नै मेरो जितको आधार हो ।’ क्षेत्र नम्बर ३ मा एक लाख २५ हजार आठ सय २३ मतदाता छन् । प्रचण्ड र पाण्डेसहित १४ जना उम्मेदवार छन् । यीमध्ये ६ जना स्वतन्त्र उम्मेदवार हुन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads