Loading...
पुसपछि बन्ने कुनै पनि सरकारमा कांग्रेसको नाम निसान भेटिदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस समाजवादको कुरा गर्न डराएको आरोप लगाएका छन् ।
शनिबार पोखराको रानिपौवामा आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको कांग्रेस पहिलेको जस्तो नरहेको बताए । उनले कांग्रेस सिद्धान्तमा एउटा र व्यवाहरमा अर्कै भएको आरोप लगाए ।
कांग्रेस पूर्ण रुपमा विग्रदै गएको भन्दै ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकार नै अन्तिम सरकार भएको दावी गरे । ‘शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार नै कांग्रेसको अन्तिम सरकार हुनेछ’, उनले भने, ‘पुसदेखि बन्ने कुनै पनि सरकारमा कांग्रेसको नाम निसान भेटिदैन ।’
ओलीले पछिल्लो समय कांग्रेसको राजनीतिक लाइन देखेर संस्थापक नेताहहरु पनि रुष्ट भएको बताए। ‘तपाइँहरुलाई थाहै छ, कृष्णप्रसाद भट्टराईले अन्तिम समयमा आएर कांग्रेस छाड्नुभो’, उनले भने, ‘विपी अहिलेसम्म जीवित भएको भए कांग्रेस छाडेर एमालेमा प्रवेश गर्नुहुन्थ्यो ।’
अध्यक्ष ओलीले वामपन्थीको सरकार बनेपछि कुनै पनि नेपाली भोकले नमर्ने बताए । ‘कोही नेपाली भोकै बस्न पर्दैन, कोही भोकले मर्दैन’, उनले भने, ‘किनभने अब देशमा वामपन्थीको अर्थात् जनताको सरकार बन्दै छ ।’
ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूले दुई पार्टीका बीचमा एकता गर्ने कुरा लहडमा गरेको नभई जिम्मेवारी पूर्वक गरेको बताए । ‘हामीले लहडले, चुनाव जित्ने मनासायले मात्रै एकताको कुरा गरेका होइनौँ’, उनले भने, ‘जिम्मेवारी बोधका साथ देश बनाउनका लागि एकताको कुरा गरेका हौँ ।’
उनले माओवादी र एमाले एउटै पार्टी भएको भन्दै चुनाव चिन्ह जे भए पनि त्यसैमा भोट हाल्न दुवै पार्टीका कार्यकर्तालाई आग्रह गरे ।
अध्यक्ष ओलीले वामपन्थीको सरकार बनेपछि वृद्धभत्ता बुझ्न कतै जानै नपर्ने दावी गरे। उनले भने, ‘पुसमा वामपन्थीको सरकार बन्छ, त्यसपछि पाँच÷पाँच हजार भत्ता जनताको घरदैलोमै आइपुग्छ ।’
पोखरा पर्यटकीय नगरी भएको र यहाँको प्रचुर सम्भावनालाई परिचालन गरेर समुन्नत पोखरा बनाउन सकिने बताए ।
काठमाडौं टुडे बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads