Loading...
१५ वर्षपछि नेपालले बल्ल बंगलादेशलाई हरायो

नेपाली यू–१९ क्रिकेट टोलीले बंगलादेश यू–१९ माथि १५ वर्षपछि पहिलो विजय हात पारेको छ । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटको तयारीका क्रममा तीन खेलको शृंखला खेल्न बंगलादेश गएको नेपाली यू–१९ टोलीले आइतबार ६ विकेटको ऐतिहासिक जित हात पारेको हो ।









नेपालले सन् २००२ मा न्युजिल्यान्डमा भएको आईसीसी यू–१९ विश्वकपको प्लेट सेमिफाइनलमा बंगलादेशलाई २३ रनले पराजित गरेको थियो । त्यसयता नेपालले यू–१९ मा टेस्ट खेल्ने राष्ट्रहरू पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र जिम्बावेलाई पराजित गरिसकेको छ । बंगलादेशमाथि भने अर्को जित हात पार्न सकेको थिएन ।
सिक्ने ठूलो अनुभव भएको र अझ लामो बाटो तय गर्न बाँकी रहेको नेपालका प्रशिक्षक विनोद दासले बताए । ‘सही दिशामा हाम्रो टिमको स्तर उन्नति भइरहेको छ । हामीले लामो समयदेखि संरक्षण गरिरहेका खेलाडीहरूले अन्ततस् सुधारको संकेत दिएका छन्,’ उनले भने, ‘र युवा खेलाडीले स्थापित खेलाडीको स्थान लिन राम्रो प्रदर्शन देखाइरहेका छन् ।’ उनले आफुले टिममाथिको विश्वास कायमै राख्दै अगाडि बढ्ने जनाए ।
दासले बंगलादेशको भ्रमण एसिया कपको राम्रो तयारी भएकाले बंगलादेशमा खेल्न व्यवस्था मिलाइदिएकोमा एसियाली क्रिकेट परिषद् (आईसीसी) र बंगलादेश क्रिकेट बोर्डलाई धन्यवाद दिए । नेपाली यू–१९ टोली ढाकाबाट मंगलबार काठमाडौं फर्किएर बुधबार एसीसी यू–१९ कपका लागि मलेसिया जानेछ । एसिया कपमा नेपालले बंगलादेशसँगैं प्रतियोगिताको पहिलो खेल खेल्नेछ । नेपालको समूहमा भारत र मलेसिया पनि रहेका छन् ।
साभारस्थित बीकेएसपी मैदानमा आइतबार टस जितेको बंगलादेश यू–१९ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय २५ रन बनायो । घरेलु टोलीबाट अमिनुल इस्लामले ८० रन बनाए । ८७ बल खेलेका उनले ८ चौका प्रहार गरे । नेपालबाट साहब आलमले ९ ओभरमा ४५ रन खर्चेर ३, अनिल शाहले २ र कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
ओपनर आसिफ शेखले ९० रनको सानदार इनिङ्स खेलेपछि नेपालले ४६.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । ८८ बल खेलेका म्यान अफ द म्याच आसिफले ९ चौका र ३ छक्का प्रहार गरे । उनीसँगैं आएका अर्का ओपनर जितेन्द्रसिंह ठकुरीले ४५ रन बनाए । शृंखलामा पहिलो खेल खेलिरहेका जितेन्द्रले १ सय ९ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । यी दुईले पहिलो विकेटमा ३२ ओभरमा १ सय ३९ रन जोडी नेपालको विजयको आधार तयार पारे ।
आसिफ आउट भएको ४ रनपछि जितेन्द्र पनि आउट भए । अनिल १५ र रोहितकुमार पौडेल २५ रनमा आउट भए । दीपेन्द्र २७ र भीम सार्की १३ रनमा नटआउट रहे ।
कान्तिपुरबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads