Loading...
कर्मचारी खटनपटन आश्थाका आधारमा हो ?


३२ जिल्लामा पहिलो चरणमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारी तीब्र गतिमा अगाडि बढेको छ ।  स्वच्छ निर्वाचनका लागि सबैले प्रयास गर्ने भनिएको छ र यसमा सबैको साथ हुन जरुरी छ । निर्वाचनको तयारीको खातिर निर्वाचन आयोगले जुन रफ्तारमा चुनावको लागि तयारी गरेको छ त्यही रफ्तारमा अरु पनि काम हुन पर्ने जरुरी छ नै । निर्वाचनको मुखमा आएर हुने गरेका अवाञ्छित क्रियाकलाप अनि निर्वाचनलाई प्रभावित पार्नका लागि पर्दा भित्र र पर्दा बाहिरको चलखेल पनि अहिलेको अवस्थामा सबैले हेक्का राख्न पर्ने कुरा नै हो ।
पहिलो चरणको निर्वाचनका लागि बत्तिसै जिल्लामा मतदान अधिकृत लगायतका कर्मचारीहरु खटाउने काम भएको छ । निर्वाचन आचारसंहिता अनुरुप ट्रेड युनियनका पदाधिकारीहरुले बाहेक अरु कर्मचारीलाई प्राथमिकतामा राखी निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी तोक्नु पर्ने हो । तर यसका लागि जिल्ला निर्वाचन कार्यालयले कर्मचारीको सूची तयार गर्दा ध्यान नपु¥याएर हो कि के हो, टाँसिएका नाममा हेरफेर हुँदा विवाद आएको हो । त्यसैले कर्मचारीको नाम, पद, सेवा अवधि लगायत उसको वतन खुल्ने गरी रोष्टर बनाई सो अनुसार उसको कार्यक्षमताका आधारमा संवेदनशील क्षेत्रमा खटिने कर्मचारीको रोष्टर बनाएको भए सो अनुरुप भएका प्रक्रिया र परिणाममा कसैको बिमति हुने थिएन । तर यो तयारीलाई हल्का रुपमा लिई एउटा प्रक्रियाबाट अघि बढिसक पछि फेरि नाम परिवर्तन गर्दा त्यस भित्रका खेलका बारेमा शङ्का उब्जिने नै भए ।
निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न एउटा चुनौति थपिएको छ । सुरक्षाका दृष्टिकोणले चुनाव विरोधी गतिविधि हिंसात्मक बन्दै गइरहेको अवस्थामा राष्ट्रसेवक कर्मचारीलाई प्राथमिकतामा राखेर त्यसपछि संस्थान र शिक्षकहरुको खटनपटन गर्नु पर्ने प्रावधान हुँदाहुँदै देखिएका असावधानीले अबका दिनमा अर्को समस्या थप्यो भने त्यसको जिम्मेवारी को हुने ? त्यसैले आन्तरिक रुपमा तयारी गरेर गोलापोलाको प्रक्रियाबाट अन्तिम परिणाम निकालेको भए निर्वाचन प्रक्रियाप्रति कसैको शङ्का हुने थिएन । निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्ने सफा नियत छ भने त्यसको परिणाम र प्रक्रियामा पारदर्शी हुन सकिन्छ । अझै पनि सार्वजनिक रुपमा उठ्ने शङ्का र संशयलाई निवारण गर्दै निर्वाचन सम्पन्न गर्नका लागि सबै पक्षको अर्जुन–दृष्टि पार्नु अति आवश्यक छ । नाम राख्नुको कारण र हटाउनुको कारण आस्थागत आधारमा गरिएको हो भने कर्मचारीको आस्थाको मूल्याङ्कन गर्ने व्यक्तिको पनि या त कट्टर आस्था छ या त कसैको निर्देशनमा यस्तो भएको छ भन्ने आरोपलाई सम्बन्धित पक्षले सुने नसुने गर्नुभन्दा प्रष्ट पारी अनावश्यक शङ्कालाई निवारण गर्दा उपयुक्त हुनेछ ।
सम्पादकीय/रुप्से दैनिक ४ मंसीर

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads