Loading...
विवाहको बदलिँदो स्वरुप

agni
–डा. कृष्ण भट्टचन
विवाह, परिवार र नाता–सम्बन्धबीच एकअर्काको घाँटी जोडिएको छ । मानवशास्त्री क्याथलिन गोउगका अनुसार परिवार कहिले उत्पत्ति भयो यकिन थाहा नभए पनि यो १ देखि २० लाख वर्षको बीचमा भएको अनुमान छ । त्यसैले समाजशास्त्री तथा मानवशास्त्रीले विवाहलाई मानव समाजको अत्यन्त पुरानो संस्था र सामाजिक संरचनाको आधार स्तम्भहरुमध्ये एकको रुपमा व्याख्या गर्छन् । यौन सम्बन्ध भने परिवार र विवाहको उत्पत्ति हुनु अघिदेखि निरन्तर चलिरहेको छ ।
विवाह एक भए पनि यसभित्र अनेक छ र यो बाहिरका अनेकसँग जोडिएको छ । विवाहसँग परिवार, नातासम्बन्ध र यौनसम्बन्ध मात्र नभएर ईश्वर, धर्म, धर्म निरपेक्षता, माया, पिरती, बालबच्चा, सम्पत्ति, दाइजो वा दहेज, सम्बन्ध विच्छेद, अपराध, कानुन, मानव अधिकार, मूल्य, मान्यता, संस्कृति, राजनीति, धाक रवाफ, हिंसा, हत्या, डाहा, झगडा, द्वन्द्व, युद्ध, सुख, शान्ति, समृद्धि, महिलाको हैसियत, न्याय अन्याय, विगत, वर्तमान र भविष्यलगायत सबै जोडिएको छ । त्यसैले यो विषय जटिल छ र यसको सांगोपांगो कुरा गर्न यो लेखमा सम्भव छैन । यो छोटो टिप्पणीको उद्देश्य विवाहको बदलिंदो स्वरुप आजकल के कस्तो छ र यसलाई कसरी सजिलोसँग बुझ्ने भन्नेमा केन्द्रित छ ।
विवाहको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण बदलाव विवाहलाई पहिले प्रायजसो सन्तान जन्माउने वा वंश चलाउने (रिप्रडशक्सन) र यो पवित्र सम्बन्ध (स्याक्रामेन्ट) को सिद्धान्तको आधारमा चल्दै आएकोमा आजकल सुखानुभूति (प्लेजर) र करार (कन्ट्रयाक्ट) को सिद्धान्तका आधारमा व्यापकता पाउँदै जान थालेको छ । विवाह भनेकै सन्तान उत्पादनका लागि अर्थात् वंश धान्नका लागि हो र यो पवित्र हुन्छ भन्ने मान्यता विगतदेखि वर्तमानसम्म निरन्तरता पाउँदै आए पनि विगतमा जति बलियो थियो, त्यो अब रहेन । विवाहभित्र पनि बदलाव आएको छ र विवाहकै विकल्प खोज्नेमा पनि बदलाव आएको छ ।
पुरुष र महिलाबीच हुने विवाह भित्रको बदलाव
-   विवाह बच्चा जन्माउनका लागि गरिन्छ तर अचेल कतिपय विवाह बच्चा जन्माउनका लागि गरिंदैन । अचेल विवाहित महिला र पुरुष दुवैले सकभर बच्चा नजन्माउने, बच्चा चाहिए अर्काको बच्चा पाल्ने, आफैँले जन्माउनै परे पनि एउटा मात्र जन्माउने र त्यो पनि सकेसम्म ढिला जन्माउने प्रवृत्ति बढ्दो छ ।
-  सामाजिक विवाहको सट्टा वा सामाजिक विवाहको साथै कानुनी विवाह वा कानुनी विवाह मात्र गर्ने प्रचलन बढ्दो छ ।
-   बाबु आमा वा परिवारको अन्य सदस्य वा समाजको दबाबबाट परिवारका लागि वा समाजका लागि विवाह गर्नुको सट्टा आफैँले आफ्नै निर्णयको आधारमा प्रेम विवाह गर्ने वा विवाह नै नगर्ने प्रवृत्ति बढ्दो छ ।
-    प्रेम विवाह शारीरिक, मानसिक र आत्मिक (स्पिरिच्युअल) को सम्मिश्रण हुनुको सट्टा फास्टफुडजस्तै शारीरिक सन्तुष्टिको लोभतर्फ उन्मुख हुँदै गएको देखिन्छ ।
-    कतिपयलाई विवाहपूर्व यौन सम्बन्ध र विवाह ईतर सम्बन्ध असहज लाग्ने र भए पनि लुकाउने प्रवृत्ति रहेकोमा हिजोआज यी दुवैलाई सार्वजनिक रुपमै अँगाल्ने र खुलेर कुरा गर्नेको संंख्या बढ्दो छ ।
-    विवाहसँग जोडिएको रुढिवादी धार्मिक मूल्य मान्यताहरु भत्कदै र हराउँदै गएको देखिन्छ ।
-    जुनीजुनीको लागि विवाहको सट्टा यो जुनीको लागि तर जीवनमा एक जनासँग मात्रको सट्टा एक पटकमा एक जना तर जीवन अवधिमा एकभन्दा धेरैसँग विवाह गर्ने प्रवृत्ति बढेको देखिन्छ ।
-    बहुविवाहमध्ये एक जना पुरुषले धेरै महिलासँग विवाह गर्ने प्रवृत्तिमा कमी आएको छ । कानुनीरुपमा अमान्य भएकाले यस्तो भए पनि व्यवहारमा श्रीमती र श्रीमान सबैको राजीखुसीमा अझै पनि यस्तो बहुविवाह व्यवहारमा कानुनी झमेला नबेहोरीकनै प्रचलनमा देखिन्छ ।
-    श्रीमान् वा श्रीमतीले अर्कोसँग विवाह गर्न आजकल सम्बन्ध विच्छेद गरेर मात्र अर्को विवाह गर्ने चलन बढेको देखिन्छ ।
-    मागी विवाहभन्दा प्रेम विवाह र फेसबुकमा चिनजान बीच र साथै वैवाहिक संस्थाबाट डेटिङका माध्यमबाट विवाह गर्ने प्रचलन सुरु भएको देखिन्छ ।
-   प्रथाजन्य विवाहहरु खास गरी मामा–चेला र फुपू–चेला अर्थात सोल्टा–सोल्टिनीबीच हुने विवाह, छोपेर गरिने विवाह, दुलाहाको अनुपस्थितिमा घरको मूल खम्बासँग गरिने विवाह, बहुपति विवाहमा कमी आएको देखिन्छ । नेवार समुदायमा कुमारी भइसकेको देवीले विवाह गर्नु हुँदैन भन्ने जनमान्यता भएकोमा कुमारीको विवाह हुने गरेको पाइन्छ ।
-    महिलाले दाइजो वा दहेज चाहनेसँग विवाह नगर्ने, पुरुषले पनि दाइजो वा दहेज नखोज्ने अर्थात् दाइजो वा दहेज लेनदेन नगर्ने प्रवृत्ति बढेको देखिन्छ ।
-   हिन्दू धर्ममा आधारित समाजमा श्रीमानको मृत्युसँगै श्रीमान्को चितामा श्रीमती सति जाने प्रथा विगतको कथा भइसकेको, पछि पनि भावनात्मक र वैचारिक सति जाने क्रम रहेकोमा अब यसरी सति जाने क्रम पनि भंग हुंदै गएको देखिन्छ ।
-    पित्तृसत्तात्मक संरचनाअन्तर्गत विवाहपछि दुलही दुलाहाको घरमा जाने प्रचलन रहेकोमा आजकल नवविवाहित जोडी छुट्टै घरजम गरेर बस्ने प्रचलन पनि बढ्दो देखिन्छ ।
-    केटाको अनुहार, जिउडाल, शिक्षादीक्षा, बुद्धिबर्कत, ल्याकत जे जस्तो भए पनि धनी अर्थात् सम्पत्तिवाल हुनु पर्छ र महिलाको सम्पत्ति, शिक्षादीक्षा, बुद्धीबर्कत, ल्याकत जेजस्तो भए पनि सुन्दरी अर्थात् असाध्य राम्री हुनुपर्छ भन्ने मान्यता भत्केर जाँदै छ । केटा र केटीबीच अरु कुराभन्दा पनि मन मिल्नु पर्छ भन्ने प्रवृत्ति बढ्दो देखिन्छ ।
-   आदिवासी जनजातिको मामा–चेला फुपू–चेलामा हकअधिकार हुने भए पनि यस्तो विवाह घट्दो देखिन्छ ।
-    अन्तरजातीय विवाह बढ्दै गएको छ तर संसारमा जहींकहीं पनि अन्तरजातीय विवाह १० प्रतिशतभन्दा माथि गएको देखिँदैन ।
-    अन्तरजातीय विवाहमध्ये गैर दलित र दलित बीचको विवाहमा दलित दुलाहा वा दुलहीविरुद्ध हुने हिंसाका घटना बढ्दै गएको देखिन्छ ।
-    बढ्दो अन्तरजातीय विवाहका कारणले सानो जनसंख्या भएको आदिवासीहरु लोपोन्मुखतर्फ उन्मुख देखिन्छ ।
-  अन्तरजातीय विवाह गरेका कतिपयले आफ्ना छोराछोरीलाई सजातीय विवाह गर्न जोड दिएको पनि देखिन्छ ।
-   विवाह गर्ने उमेर बढेर गएको देखिन्छ ।
-    सुखानुभतिको सिद्धान्तका कारणले र सम्पत्तिमा महिलाको पकडका कारणले वैवाहिक सम्बन्धमा सम्बन्ध विच्छेदको घटनामा वृद्धि भइरहेको छ र यसले बालबालिकालाई विभिन्न तरिकाले असर पार्ने गरेको देखिन्छ ।
-    विवाहित जीवनमा पुरुषले कमाउने र घर बाहिरको मात्र काम गर्ने र महिलाले घर भित्रको काम मात्र गर्ने भन्ने परम्परागत असमान श्रम विभाजनको सट्टा श्रीमान र श्रीमती दुवैले दुवै क्षेत्रको काम मिलेर गर्ने प्रवृत्ति बढ्दो देखिन्छ ।
-   विवाहित महिलाले श्रीमान्को थरको सट्टा आफ्नै थर वा आफ्नो र श्रीमान् दुवैको थर राख्ने प्रचलन बढ्दो देखिन्छ ।
-    विवाहलाई करारको रुपमा लिने गरिएकाले सम्बन्ध विच्छेदको घटनामा वृद्धि भएको छ । अमेरिकाजस्तो पश्चिमी मुलुकमा बिसौं सताब्दीको अन्त्यसम्ममा सम्बन्ध विच्छेदको घटना ७० प्रतिशतसम्म पुग्ने भनेर समाज वैज्ञानिकहरुले भविष्यवाणी गरे पनि कहीँ पनि ५० प्रतिशत भने नाघेको पाइएको छैन ।
-    नेपालको हिन्दू समाजमा श्रीमान्को मृत्युपछि श्रीमती विधवा हुने प्रचलन छ भने कतिपय आदिवासी जनजातिको समाजमा विधवाको अवधारणा नै छैन । विधवाको समाजिक प्रचलन भएको समाजमा विधवाले सेतो लुगा मात्र लगाउनु पर्ने र रातो टीका लगायतका गरगहना लगाउन नपाउने प्रचलनको सट्टा रातो लुगा र टीका लगाउने अभियान एकल महिलाले सुरु गरेका छन् । साथै विधवाको पुनर्विवाहमा वृद्धि भएको देखिन्छ ।
-   जोसँग विवाह भएको छ ऊसँग विभिन्न कारणले सन्तुष्ट नभएपछि सम्बन्ध विच्छेद गरेर पुनर्विवाह गर्ने प्रचलन बढ्दो देखिन्छ । विवाहित जोडीमध्ये एउटाको इच्छाबेगर अर्कोले अर्कोसँग विवाह गर्न खोजेमा त्यस्तो विवाह गर्नबाट रोक्न सम्बन्ध विच्छेद पनि नगर्ने र सँगै पनि नबस्ने विवाहित जोडी पनि देखिएको छ ।
-    श्रीमतीले श्रीमान्विरुद्ध बलात्कारको अवधारणाले कानुनी मान्यता पाएको देखिन्छ । त्यसैले श्रीमती स्वीकृतिबेगर श्रीमान्ले यौन सम्बन्ध राख्न नपाउने प्रवृत्ति सुरु भएको देखिन्छ ।
-    विवाहित पुरुषले श्रीमतीबाट वा विवाहित महिला श्रीमान्बाट भावनात्मक वा यौन वा अन्य असन्तुष्टिका कारणले विवाहइतर ‘थप (एक्स्ट्रा) मायालु’ राख्ने प्रचलन पनि बढ्दो देखिन्छ ।
-    विवाह गर्दा पुरुषको उमेर महिलाको भन्दा धेरै हुनु पर्छ भन्ने मान्यता रहेको आजकल मन परेपछि बढी उमेरका महिलाले कम उमेरका पुरुषसँग विवाह गर्ने प्रचलन बढ्दो देखिन्छ ।
पहिला विवाहको बजार भाउ २० वर्ष कम हुँदा अकाशिने र २० पछि क्रमश खस्कँदै ३५÷४० वर्ष पछि शून्यमा झर्ने गरेकामा अब ३० वर्षसम्म अकाशिने र त्यसपछि बिस्तारै तल खस्किने गरेको देखिन्छ ।
-    हिजोआज श्रीमान् वैदेशिक रोजगारीमा जाने, श्रीमती नेपाल बस्ने, लामो समयसम्म श्रीमान् नेपाल नफर्कने, श्रीमान्ले कमाएको पैसा र घर लगायतको सम्पत्ति श्रीमतीलाई दिने गर्दा श्रीमतीले सम्पत्तिसमेत लगेर अर्कै केटासँग विवाह गरी पहिलेको श्रीमान्लाई घरको न घाटको बनाउने घटनामा वृद्धि भएको देखिन्छ ।
-   विवाहपछि संयुक्त परिवारमा बस्दा आर्थिक, सामाजिक, मानसिक, पेशागत लगायतका स्वतन्त्रतामा बाधा पर्ने भएकाले संयुक्त परिवार भत्कँदो र एकल परिवार बढ्दो देखिन्छ र यसको प्रत्यक्ष असर वृद्धवृद्धाहरुको हेरविचार गर्नेमा कमी आएको देखिन्छ ।
-    हिन्दु समाजमा प्रचलित भाउजू बेहोर्ने प्रथा घट्दो देखिन्छ । यस्तो प्रथा अफ्रिकाको सुडानमा पनि हुन्छ तर त्यहाँ यस्तो विवाहलाई ‘भुत विवाह’ भनिन्छ ।
-    सासु–ससुरा र छोरा–बुहारीबीच एकअर्कालाई हेप्नेभन्दा पनि एकअर्काप्रति सहज र मित्रवत् हुने प्रवृत्ति बढेको देखिन्छ ।
-    बावुआमाले छोराछोरीले बुढेसकालमा पाल्नै पर्छ भन्ने भावनामा कमी आएको देखिन्छ ।
-    श्रीमान् मरे श्रीमतीलाई अर्को विवाह गर्न हुँदैन भन्ने तर श्रीमती मरेको खण्डमा मरेकै दिनदेखि अर्को विवाहका लागि केटा खोज्ने र दिने प्रवृत्तिमा अझै बदलाव आउन थालेको देखिन्छ ।
-   विवाहित महिलाविरुद्ध शारीरिक, मानसिक लगायतका हिंसामा वृद्धि भइरहेको देखिन्छ ।
-    श्रीमतीले आत्मनिर्भर भई सरकारी, गैरसरकारी र निजी क्षेत्रमा काम गरी श्रीमान् र परिवारलाई सक्दो सहयोग गर्नेको संख्या बढेको देखिन्छ ।
-    बहुविवाहमध्ये बहुपति विवाह अर्थात् एक जना महिलाले एकभन्दा दाजुभाइ वा पुरुषसँग विवाह गर्ने प्रचलनलाई पहिले सहज र आजकल असहज रुपमा लिइएको र यस्तो विवाहमा कमी आए पनि पश्चिमी मान्छेहरुले अन्य संस्कृतिबाट विवाहका बारेमा सिक्नु पर्ने विषयहरुमा नेपालको बहुपत्नी विवाह पनि भएको कुरा कल्चरल सर्भाइभलले हुम्लामा भएको बहुपति विवाहको प्रथाको बारेमा बनाएको ३० मिनट लामो डकुमेन्ट्री र नेपालको हुम्लामा काम गरेका मानवशास्त्री किम्बर म्याकेले दिएको टेड टक् (हेर्नुहोस्https://www.youtube.com/watch?v=U6bYCi-1wF4) बाट प्रष्ट हुन्छ ।
विवाहको विकल्पमा आएको बदलाव
-    सुखानुभूतिको सिद्धान्तले समलिंगी विवाह, एकल विवाह (महिलाले आफूले आफैँसँग गर्ने विवाह) समेतले व्यापकता पाउन थालेको छ । पश्चिमा मुलुकमा एकल विवाहको शुरुआत भए पनि नेपालमा भने यस्तो विवाह देखिएको छैन ।
-   आवश्यक परेको बेलामा भावनात्मक सम्बन्ध नराखीकनै यौनसम्बन्ध राख्न सकिने ‘फाइदाको साथी’ (फ्रेन्ड्स विद बेनिफिट्स) नेपालमा पनि सुरु हुन थालेको देखिन्छ ।
-   विवाह र परिवार एकअर्काबीच गहिरो सम्बन्ध छ अर्थात् विवाह भएपछि परिवार बन्ने र परिवार बनाउन विवाह गर्नुपर्ने प्रचलन भएकोमा हिजोआज विवाह नगरिकन परिवार बनाउने र परिवार बनाउन विवाह नै आवश्यक नहुने अवस्था आएको छ । विवाह नगरिकन सँगै बस्ने (लिभिङ टुगेदर) यसको उदाहरण हो ।
-    समलिंगी अर्थात् महिला–महिलाबीच वा पुरुष–पुरुष बीचको विवाहको प्रचलन पनि सुरु भएको छ । यस्तो विवाहलाई समाजले स्वीकार गर्ने प्रवृत्ति बिस्तारै बढ्दो देखिन्छ ।
-    पश्चिमा समाजमा प्रचलनमा आएको सुगर ड्याडीजस्तो धनी तर उमेर ढल्केका पुरुषले उच्च शिक्षा हासिल गर्न चाहेका सुन्दरी महिलासँग वा धनी तर उमेर ढल्केका महिलाले पैसा कमाउन चाहेका सुन्दर पुरुषसँग सुगर ममी भएर विवाहइतर सम्बन्ध राख्ने प्रचलन नेपालमा देखिएको छैन ।
-  विवाहपूर्व वा विवाहित अवस्थामा पनि यौनकर्मीको सेवा लिने प्रचलन संसारकै पुरानो प्रचलन मध्येको एक हो । पहिले यसलाई वेश्यावृत्ति भनेर अपराधीकरण गर्ने गरकोमा आजकल अन्य पेसाको कामसरह लिने प्रवृत्ति बढ्दो देखिन्छ ।
-   विवाह भए पनि बच्चा पाउन असमर्थ वा श्रीमतीले बच्चा पाउन नचाहको अवस्थामा बच्चा जन्माउने आमा भाडामा लिने अर्थात् आफ्नो कोख अर्काको बच्चा जन्माउन भाडामा दिने प्रचलन बढेको देखिन्छ ।
मान्छे र रोबोटबीच विवाहको सम्भावना
-    आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै मान्छेजस्तै यौन खेलौनाको प्रयोग सुरु हुन थालेको छ तर नेपालमा सामान्य यौन खेलौनाको प्रचलन बढे पनि यस्तो मान्छेजस्तै यौन खेलौनाको प्रयोग भने सुरु भइसकेको देखिँदैन ।
-    रोबोट मानव महिला सोफियालाई हालै साउदी अरबको सरकारले विश्वमै पहिलो पटक नागरिकता दिएपछि भविष्यमा मान्छे पुरुषले रोबोट महिला र मान्छे महिलाले रोबोट पुरुषसँग विवाह गर्ने प्रचलन सुरु भई व्यापकता पाउने प्रस्टै देखिन्छ । पछि गएर रोबोट–रोबोटबीच विवाह सुरु हुने पनि पक्का देखिन्छ । जलवायु परिवर्तनले मान्छेको अस्तित्व लोप भइनै हाल्यो भने पनि रोबोटले विवाह गर्ने र वंश धान्नेजस्तो देखिन्छ ।

अन्त्यमा,
विवाहको सम्बन्धमा यो विवाह ठीक र त्यो बेठीक, यो विवाह राम्रो र त्यो नराम्रो भन्नुभन्दा पनि जुन व्यक्ति र समुदायका लागि देश, काल, परिस्थिति, परिवार र व्यक्तिअनुसार जुन प्रकारको विवाह उपयुक्त हुन्छ त्यस्तो विवाह गर्ने स्वतन्त्रता हुनु पर्छ ।
(नागरिक परिवारबाट साभार)

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads