Loading...
मिडियामा नेताको अनुहार

लेखक टि.एन. शर्मा


चुनावको माहोल छ । मिडियाले पनि चुनावी क्रियाकलापलाई बढीभन्दा बढी कभरेज गरेको पाइन्छ । यसरी चुनावी कार्यक्रमलाई प्राथमिकता दिँदा हाम्रा उम्मेदवारहरु एवम् राजनीतिक कार्यकर्ताहरुको अनुहार उनीहरुका वाणीमार्फत् मिडियामा देख्न पाइन्छ । यहाँ अनुहारभन्दा दृश्य र विम्ब दुबैलाई बुझ्नु पर्दछ । एकदिनमा औसत ३ वटासम्म कार्यक्रम भइरहेका छन् । विशेषतः कम्युनिष्ट पार्टीहरुको लोकबाम गठबन्धन र कांग्रेस एवम् राप्रपाको लोकतान्त्रिक गठबन्धनका कार्यक्रमको रिपोर्टिङ गर्ने पत्रकारहरुले लेख्ने समाचारहरु हेर्दा हाम्रा नेताको व्यक्तित्व एवम् अनुहार छर्लङ्गै देख्न पाइन्छ । श्रव्यदृश्यमार्फत् देखिने अनुहार र विचार थोरै मात्र देख्न पाइन्छ । धौलागिरिमै एउटा मात्र स्थानीय टेलिभिजन हुनाले पनि म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका उम्मेदवारका अनुहार हेर्न पाउनु मुस्किलै पर्छ । त्यसैले निर्वाचनमा पहिलो हुने प्रक्रिया जसलाई प्रत्यक्ष उम्मेदवार र समानुपातिक उम्मेदवार गरी हाम्रो यो क्षेत्रमा मात्रै झन्डै १०० जना उम्मेदवारको उपस्थिति देखिन्छ । ती मध्ये प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्ष तर्फका उम्मेदवार बढी सक्रिय भएको पाइन्छ । यी उम्मेदवारले बोल्ने विषयहरु पढ्दा र सुन्दा आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेका हुन् कि भन्ने बुझ्न गाह्रो छैन । 
जस्तो कि प्रतिनिधिसभा सदस्यले गर्ने काम भनेको राज्यका मुख्य चार वटा क्षेत्र मात्रै हुन् । नेपालको संविधानले मुद्रा, सुरक्षा, परराष्ट्र एवम् राष्ट्रिय गौरवका आयोजना तथा राष्ट्रिय शिक्षाका सम्बन्धमा नीति निर्माण गर्ने गरी किटान गरेको देखिन्छ । तर हाम्रा उम्मेदवारले स्थानीय सरकार र प्रदेश सरकारका सबै काम आफैं गर्ने गरी बोलिरहँदा विद्यमान ऐन कानुन र उनीहरुका आश्वासनमा आकाश पातालको फरक देखिन्छ । मतदाताको अपेक्षा पनि ऐन नियमका खिलाफमा छन् । समग्र राष्ट्रियताका नीति निर्माण गर्ने केन्द्रीय प्रतिनिधि सभाका सदस्यले सबै जिम्मेवारी आफैंले लिँदा प्रदेश र स्थानीय तहका सरकारको अधिकारमाथि अतिक्रमण गरेको ठहर्छ भन्ने बुझाई हाम्रा मतदाता समक्ष नभएको देखिन्छ । 
विकासका नारा एवम् सपनाका कुरा भन्दा पनि विपक्षी दललाई आलोचना गरेर समय खेर फाल्ने पुरानो प्रवृत्तिमा अझै परिवर्तन हुन सकेन । त्योभन्दा पनि उम्मेदवार–उम्मेदवारबीच आरोप प्रत्यारोप गरेको कुरा बाहिर आएको छ । शीर्ष नेतृत्वले नै एक अर्कालाई खुइल्याउन समय खर्चेको देखिन्छ । यसरी गाउँगाउँमा पुगेर जनतालाई जम्मा गरी गरिएका भाषणको सार हेर्दा यथार्थमा आधारित विश्लेषणभन्दा धेरै पर पुगेको प्रष्टै छ । सार्वजनिक कार्यक्रमको तुलनामा रेडियो तथा टेलिभिजनमा आउने संवादहरुको प्रभाव बढी देखिन्छ । म्याग्दीका रेडियोले गर्ने यस्ता संवाद माथिका क्रियाप्रतिक्रियाहरु सामाजिक सञ्जालमा छरपष्टै भएको देख्दा विद्युतीय प्रसारणको व्यापकता  र प्रभाव बलशाली देखिन्छ । प्रदेश नम्बर ‘क’का उम्मेदवार भीमप्रसाद गौचनले रोजगारी सृजना गर्ने दावीका साथ गरेको घोषणा तथ्याङ्कभन्दा पर पुगेको भन्दै टिप्पणी भयो । म्याग्दीमा सवालाख जनसंख्या भए पनि उनले २ लाख युवालाई सेना र पुलिसमा भर्ती गर्ने दावी गरेको विषय जब सामाजिक सञ्जालमा फैलियो, यसको आलोचना र वचावटका लागि थुप्रै शब्दहरु खर्चिए । यसरी नेताहरु तथ्याङ्कमा आधारित भएर बोल्नुभन्दा पनि बेहोसीमा बोल्ने क्रममा नै प्रतिस्पर्धा भएको देखिन्छ । 
गाउँका कुनाकाप्चामा गएर बोल्दा जति धेरै बोले पनि रिपोर्टिङ गर्दा रिपोर्टरले आफ्नो भाषाशैलीमा मिलाउने हुँदा छोटो र ‘मिठो’ हुन्छ । एउटा उम्मेदवारले पात्लेखेतमा भएको चुनावी कार्यक्रममा बोलेको भाषणलाई रिपोर्टिङ गर्दा बिमलाई कायापलट पार्ने दावी गरे भन्दै रिपोर्टरले पढ्दा हाँसो उठ्ने मिठो रिपोर्टिङ गरेको पनि देखियो । यसमा नेताको गल्ती भन्दा पनि रिपोर्टरले नेतामाथि गरेको अन्याय हो कि भन्ने लाग्छ । त्यसैगरी नेताका कुराप्रति अहिलेको नयाँ पुस्ताले त्यति रुचि देखाएको पाइँदैन । बरु नयाँ पुस्ता आफ्नै मोवाइलमा व्यस्त भइरहँदा पनि कतिपय नेताहरुले आफ्ना कुरालाई छोट्याउनका सट्टा लम्मेतान पारेर उपस्थित आफ्नै समर्थकलाई झिजो उठ्ने बनाएको पनि देखिन्छ । कुनै जमाना थियो, कुन नेताले कति लामो भाषण ग¥यो भन्ने । तर अहिले कसले कति छोटो समयमा कति योजना र सूचना सम्प्रेषण ग¥यो भन्ने मूल्याङ्कन गर्ने नयाँ पुस्ताका जजहरु उपस्थित छन् । 
अहिले श्रव्य र दृश्यप्रति नेता तथा दर्शकको आकर्षण बढेको देखिन्छ । धौलागिरि अञ्चलमा रहेको एउटै मात्र टिभीले चलाउने कार्यक्रममा आफ्नो अनुहार देखाउने र आफ्ना कुरा प्रष्ट राख्ने लालसा नेतामा हुनु स्वभाविकै हो । त्यतिमात्र होइन आफ्नो नेताले टिभीमा बोल्न थालेपछि टक लगाएर सुन्ने सुविधा कार्यकर्ताहरुले पनि  लिने नै भए । यसै सन्दर्भमा मिडियाले सन्तुलन मिलाउनु पर्ने उसको व्यावसायिक धर्मप्रति सचेत हुनैपर्छ । त्यसैले पनि मिडियाले सबै दलका उम्मेदवारलाई समेट्ने कोसिस गर्नु स्वभाविक छ । 
मंसिर ६ गते निर्वाचन आयुक्त ईश्वरी पौडेलको म्याग्दीमा आगमन भयो । निर्वाचन आयुक्तले ल्याउने केन्द्रीय सूचनासहित जिल्लाका सरोकारवालाहरुसँगको संवादका लागि कर्मचारी मिलनकेन्द्रतर्फ लागेका हामी केही सञ्चारकर्मीसँग दलका नेता तथा कार्यकर्ताका टिप्पणी, प्रशंसा एवम् जिज्ञासा साटासाट भए । यसै सन्दर्भमा क्या. मिनबहादुर कार्कीले टेलिभिजनका पत्रकार प्रकाश पौडेलसँग सन्तुलनका बारेमा जिज्ञासा राखे । क्याप्टेन कार्की नेपाली कांग्रेस म्याग्दीका सचिव भएकैले टेलिभिजनमा आउने धौलागिरि संवादमा आफ्नो नेताको उपस्थिति कम भएकोमा उनको जिज्ञासा हुनु स्वभाविकै थियो । किनकि म्याग्दी, बागलुङ, पर्वतका प्रतिनिधिसभा एवम् प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवारको संवाद आइसकेको थियो । म्याग्दीका प्रदेश ‘क’का उम्मेदवार भीमप्रसाद गौचन र विनोद केसी तथा प्रतिनिधिसभाका भूपेन्द्र थापाको अन्तरवार्ता आइसक्दा नेपाली कांग्रेसका खमविर गर्बुजा र अमलाल फगामीको अन्तरवार्ताको अपेक्षा हुनु अनौठो होइन । तर क्याप्टेन कार्की केही सूचनाबाट बञ्चित भएको भन्दै पत्रकार पौडेलले स्पष्टीकरण दिए । नेपाली कांग्रेसका खमविर गर्बुजा, जो पार्टी सभापति पनि हुन्, लाई अन्तरवार्ताका लागि बोलाउँदा नगएको उल्टै पत्रकार पौडेलले गुनासो गरे । नेपाली कांग्रेस निकट नेता तथा कार्यकर्तालाई आफ्नो उम्मेदवारको अन्तरवार्ताका लागि समय मिलाइदिन पौडेलले पटक पटक आग्रह गर्दा पनि आलटाल गरेको भन्दै आफ्नो हैरानी व्यक्त गरेपछि कार्कीले पनि आश्चर्य प्रकट गरे । भएको के रहेछ भने खमविर गर्बुजासँगको संवादका लागि अनुरोध हुँदा नेपाली कांग्रेसका केही टाँठाबाठा भनिने नेता कार्यकर्ताले गर्बुजालाई टेलिभिजन संवाद कार्यक्रममा पठाउनु भन्दा नपठाउनु राम्रो हुने भन्दै समानुपातिकतर्फका उम्मेदवारको नाम अन्तरवार्ताका लागि सिफारिस गरेको थाहा हुन आयो । यसरी मिडियामा उम्मेदवारको व्यक्तित्व र विचारलाई प्रसारण हुनबाट वञ्चित गर्ने प्रवृत्तिले हामी कहाँ छौं र हामीले के गर्न खोजेका छौं भन्ने प्रश्न उठेन भने यस्ता लामा कुरा गर्नुको कुनै तुक हुँदैन । कान्तिपुर दैनिकले म्याग्दीका राजनीतिज्ञको प्रवृत्तिगत विश्लेषण गर्दै समाचार प्रकाशित गर्दा गरेको टिप्पणी यहाँनेर मेल खान जान्छ । उनीहरुको आफ्नो छनोट भन्दा पनि मेकाइबेलियन राजनीतिले गरेको प्रयोग हो भन्ने मैले बुझें । लाहुरेहरु सामाजिक काम गरेर आफ्नो व्यक्तित्व निर्माण गर्दै गर्दा राजनीतिले उनीहरुलाई प्रयोग गर्छ र फाल्दिन्छ । पक्कै पनि लाहुरेहरु आर्थिक रुपमा सवल छन्, आफ्नो जिम्मेवारीप्रति सचेत छन्, समय खेर फाल्दैनन् र दुई चार पैसाको लोभ गर्दैनन् । यस्ता व्यक्तिहरुले सामाजिक कार्यमा हात हालिरहँदा त्यसको परिणाम सकारात्मक निस्कने हुँदा उनीहरुलाई महत्वकांक्षी बनाएर राजनीतिले आर्थिक रुपमा शोषण गरेको देखिन्छ । जसको परिणाम राजनीतिमा नयाँ पात्र र प्रवृत्ति देखा परिरहन्छन् र हराइरहन्छन् । त्यसैले सामाजिक काममा जुन निष्ठा र इमान्दारिता काम लाग्छ, राजनीतिको दाउपेचमा लाहुरेको पैसो, निष्ठा र सोझोपनको दाउ थाप्ने प्रवृत्ति चलिरहेको पाइन्छ । आगामी निर्वाचनमा अर्कै व्यक्तिको खोजी सामान्य कुरा होला । 
मिडियामा नेताको अनुहार शाब्दिक विम्ब र विचार मार्फत् देखिएको देख्ने र बुझ्ने तह पातलो छ । हाटहुटे प्रवृत्तिको प्रभाव चाँडै पर्ने र चाँडै हराउने गर्छ । विचार र एजेण्डाविना व्यक्तिको प्रयोग हुँदै जाँदा अनुहार फेरिए पनि प्रवृत्ति उस्तै वैश्यमुखी हुन्छ । कलियुगभन्दा पनि वैश्ययुगका रुपमा चिनिने अहिलेको समय आर्थिक नाफाघाटाको हो भन्न लाज मान्नु पर्दैैन । त्यसैले राजनीतिक स्थिरता र गुणवेत्तातन्त्रको भन्दा पनि आर्थिक लाभमा भुल्ने प्रवृत्तिको मिडिया अनुहार अमूर्त चित्र जस्तै छ । यस्तो मिडिया अनुहार हेर्नु र अमूर्त चित्र हेर्नु उस्तै हो । तर अमूर्त चित्रको जीवन लामो मात्रै होइन, यसको अर्थ अवोद्य भए पनि मूल्य भने ठूलै चुकाउनु पर्छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads