Loading...
चुनावमा ४७ सय उम्मेदवार मैदानमा

काठमाडाैं । आगामी २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ४५ जिल्लामा उम्मेदवारी मनोनयन उत्साहजनक देखिएको छ । प्रदेश र प्रतिनिधिसभाको ३८४ सिटका लागि ४७ सय आठजनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार प्रतिनिधिसभाका लागि १७ सय ४२ र प्रदेश सभातर्फ २९ सय ६६ ले उम्मेदवारी दिएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-प्रतिनिधिसभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी महिला उम्मेदवारको संख्या ३३४ रहेको छ ।
बिजुक्छे उम्मेदवार बनेनन्
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिएनन् । ०४८ देखि नै भक्तपुर १ बाट निर्वाचित हँुदै आएका उनले यसपटक प्रेम सुवाललाई उम्मेदवार बनाएका छन् । उनी लगातार पाँचौँपटक सांसद बनेका थिए ।
महन्थ ठाकुरविरुद्ध बागी
महोत्तरी ३ बाट उम्मेदवार बनेका राजपा अध्यक्ष महन्थ ठाकुरविरुद्ध पार्टीकै निवर्तमान सांसद चन्द्रेश्वर झाले उम्मेवारी दिएका छन् । समानुपातिक निर्वाचनमा प्रणालीमा १ नम्बर सूचीमा रहेका उनी प्रत्यक्षमा लड्न आएका हुन् । सर्लाहीबाट निर्वाचन लड्दै आएका ठाकुर कांग्रेसको आग्रहमा महोत्तरी पुगेका हुन् । दोस्रो संविधानसभा निर्वाचनमा स्वतन्त्र निर्वाचित झा केही महिनाअघि मात्रै राजपा प्रवेश गरेका थिए ।
उपेन्द्रविरुद्ध पनि बागी
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवार दिएका छन् । राजपा र फोरमबीच प्रदेश २ मा तालमेल भएको छ । तर, पार्टीले सल्लाह नगरी उम्मेदवार छनोट गरेको भन्दै ठाकुरले बागी उम्मेदवारी दिएका हुन् ।
जितेन्द्र सोनल र सुमन प्रदेशमा
राजपामा महासचिवद्वय जितेन्द्र सोनल बारा ४ (ख) र मनीष सुमन सप्तरी २ (ख) बाट प्रदेश सभा उम्मेदवार बनेका छन् । राजपाले मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्ताव गरेर सोनल र सुुमनलाई प्रदेशमा उठाएको हो ।
फोरम उपाध्यक्ष राउत प्रदेशमा
संघीय समाजवादी फोरमका नेता उपाध्यक्ष लालबाबु राउत पर्सा १ (ख) प्रदेश सभाबाट उम्मेदवार भएका छन् । यस्तै, कोषाध्यक्ष विजय यादवले सिरहा २ (क) बाट उम्मेदवारी दिएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads