Loading...
यू–१९ एशिया कपः नेपाल सेमिफाइनलमा

नेपाल एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
नेपाल यो प्रतियोगितामा सेमिफाइनल पुगेको पहिलो पटक हो । समूह ए मा बंगलादेश तीन खेलबाट ६ अंक जोडेर समूह बिजेता बनेको छ । तीन खेलबाट चार अंक जोडेको नेपाल समूह उपविजेता बनेको छ ।
मंगलबार भएको अर्को खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा सहज बनेको हो ।
भारत यसअघिका तीन वटै संस्करणको विजेता हो । पहिलो संस्करणमा पाकिस्तानसँग संयुक्त विजेता बनेको भारतले अघिल्ला दुई संस्करणमा विजयी हात पारेको थियो ।
आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा अर्को टेस्ट मान्यता प्राप्त भारतलाई १९ रनले हराएको थियो ।
मंगलबारको खेलमा १३ रनको अन्तरमा १० विकेट लिएपछि नेपालले पहिला ब्याटिङ गरेको मलेसियालाई ४५ रनमा समेटेको थियो । नेपालका स्पिनर सन्दीप लामिछानेले ४.३ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिए। यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले २ ओभरमा एक मेडन राखेर १ रन खर्चिदै २ विकेट लिए ।
नेपालले ४६ रनको झिनो लक्ष्य ५.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । प्रारम्भिक ब्याट्सम्यान अनिलकुमार शाह २६ रनमा अविजित रहे । कप्तान ऐरीले ३ बलमा २ छक्काको सहयोगमा १२ रन बनाएर पेबिलियन फर्किए ।
मंगलबारको खेलमा बंगलादेशले भारतले दिएको १८८ रनको लक्ष्य २८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान पिनाक घोस ८१ रनमा अविजित रहे । मध्यक्रमका मोहमद ताबहिद रिद्धी ४८ रनमा अविजित रहे । मोहमद नाइम शेख ३८ र कप्तान मोहम्मद शेफ हसन १६ रनमा आउट भए ।
पहिलो विकेटका लागि ८२ रनको साझेदारी गर्दै बंगलादेशले जितको आधार बलियो बनाएको थियो । बर्षाका कारण ५० ओभरको खेललाई ३२ ओभरमा छोट्याइएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads