Loading...
पूर्णचन्द्र थापा प्रधानसेनापति हुने निश्चित

नेपाली सेनाको आगामी प्रधानसेनापति पूर्णचन्द्र थापा हुने निश्चित भएको छ। जंगी अड्डाको दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी (लेफटनेन्ट जनरल) बलदेवराज महतको अवकाशसँगै बलाध्यक्ष रथी थापा नेतृत्व ‘ट्रयाक’का एकल धावक बनेका हुन्।
महतले १६ कात्तिकदेखि ५८ वर्ष उमेर हदले अनिवार्य अवकाश पाएपछि तेस्रो मर्यादामा रहेका थापा दोस्रो मर्यादामा उक्लेका हुन् । सामान्य अवस्था र उमेर रहँदासम्म यो पदावधि थप्ने प्रचलनअनुरूप नै थापाको म्याद थप भएको थियो। महत र थापा दुवैको दोस्रोपटक म्याद थप भएको भए पनि महत उमेर हदले सेवानिवृत्त भएपछि थापा प्रधानसेनापति दौडमा एकल देखिएका हुन्।
जंगी अड्डाको मर्यादाक्रममा प्रधानसेनापति क्षत्रीको अवकाशपछि प्रधानसेनापति हुने लाइनमा थापा छन् भने थापाको स्थानमा युद्ध कार्य महानिर्देशक प्रमुख उपरथी हेमन्त कुँवरको नाम सिफारिस छ। कुँवरको ठाउँमा सहायक रथी झंकरबहादुर कडायत बढुवा हुनेछन्। यसबारे मन्त्रिपरिषद्ले निर्णय लिनेछ। ‘खाली भएको पदमा स्वतः प्रमोसन प्रक्रिया अघि बढेको छ। केही दिनमा सरकारले निर्णय लिनेछ,’ सैनिक प्रवक्ता नयनराज दाहालले भने। प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी वर्षको २४ भदौसम्म छ। थापाको म्याद थप भएको अवधि २०७५ असोज १५ सम्म रहेकाले पनि थापा निर्विकल्प भावी प्रधानसेनापति देखिएका हुन्।
पुष्पकमल दाहाल नेतृत्व सरकारकै पालामा रथी थापाको प्रधानसेनापति बन्ने बाटो स्पष्ट भएको थियो। उनको पदावधि ०७४ असोजमा सकिने थियो। तर, उमेर बाँकी रहेकाले दाहाल नेतृत्व सरकारले एकवर्षे पदावधि थप गरेर नै उनलाई भावी प्रधानसेनापतिका लागि अघि बढाएको थियो। उनीसँगै बलाधिकृत महतको पनि पदावधि थपिए पनि ५८ वर्ष उमेरका कारण उनी सेवानिवृत्त भएका हुन्। उमेर नपुगेका रथीको पदावधि थप गर्न सकिने व्यवस्था सैनिक ऐनमा रहेकाले नै यसरी म्याद थप हुने गर्छ।
कान्तिपुरबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads