Loading...
वाम गठबन्धनले चुनावमा दुई तिहाई भन्दा बढी मत ल्याउने गरि रणनीति तयार

दोलखा । वाम गठबन्धन दोलखामा दुई तिहाई भन्दा बढी मत ल्याउने कसरतमा जुटेको छ । वाम गठबन्धनले आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा दुई तिहाई भन्दा बढी मत ल्याउने गरि रणनीति बनाइरहेको हो । बाम गठबन्धनको गढ भनेर चिनिएको दोलखामा यस पटक एमाले–माओवादी केन्द्र गठबन्धनसहितका साझा उम्मेदवार बनाइएपछि यस्तो रणनीतिको कसरतमा नेताहरु जुटेका हुन् ।
वाम गठबन्धनले दोलखाका सबै सरोकारवाला पक्षलाई गोलबन्द गर्दै ८० प्रतिशत भन्दा बढि भोट खसाल्ने रणनीति बनाएको एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश २ का सांसद उम्मेदवार पशुपति चौलागाईले बताए । गठबन्धनले कांग्रेसका केही आधार इलाकालाई बढी केन्द्रित गरि चुनावी प्रचार अगाडि बढाउने र अन्य ठाउँमा आफनो बर्चस्व कायम राख्ने गरी चुनावी यात्रामा होमिएको छ ।
उसले कांग्रेस वाहेकका सबै शक्तिहरुलाई आफ्नो पक्षमा तान्दै दुई तिहाई भन्दा बढि मत प्राप्त गर्ने रणनीति अख्तियार गरेको हो । त्यसका लागि उम्मेदवारी दर्ता गराएका साना दलहरुसँग पार्टी एकता गर्ने र ती पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुलाई साथमा लिई आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने बाम गठबन्धनको योजना छ ।
नयाँ शक्ति पार्टी, नेपाल र संघिय समाजवादी फोरम नेपाल गठबन्धनमा सामेल छ भने ती दलबाट प्रतिनिधिसभा र समानुपातिकतर्फ उम्मेदवारी दिएकाहरुले गठबन्धनका उम्मेदवारहरुलाई समर्थन जनाएको घोषणा गरिसकेका छन् । निर्वाचनको अन्तिमसम्म जिल्लाका अन्य साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई पनि आफ्ना उम्मेदवारलाई समर्थन गर्न लगाउने संयुक्त वाम गठबन्धनले जनाएको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार पार्बत गुरुङले कांग्रेस बाहेकका साना दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुलाई गठबन्धनमा ल्याउने प्रयास जारी रहेको जानकारी दिए । चुनावको अन्तिम समयसम्म दोलखामा कांग्रेस एक्लै हुने र गठबन्धनको पक्षमा दुई तिहाई मत खस्ने गुरुङको दावी छ । वाम गठबन्धनले जिल्ला स्थित सबै पेशागत संघ संगठन र आफ्ना भातृ संस्थाहरुलाई चुनावको तयारीमा होमिईसकेको छ ।
दुवै पार्टीका युवा, विद्यार्थी संयुक्त भेलाले जिल्लाको ९४ वटै बुथहरुमा सुरक्षा कमाण्डरहरु खटाईसकेको छ । ती कमाण्डहरुको नेतृत्वमा एक बुथमा दुई सय युथ खटाउने उनीहरुको दावी छ । यसैगरी करिव १५ सय शिक्षक र ५ सय बुद्धिजिवी वाम गठबन्धनको चुनावी प्रचारमा सक्रिय छन् भने कर्मचारीहरुलाई त्यही अनुसार परिचालन गरिँदैछ । जिल्ला स्थित उद्योगी व्यवसायीहरुले पनि वाम गठबन्धनलाई विजयी गराउन सक्दो सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
शुक्रवार दुबै पार्टीका कर्मचारी संगठनको संयुक्त भेलाले एउटै संगठन बनाउने र निर्वाचनमा गठबन्धनको पक्षमा उभिने निर्णय गरेको छ ।
प्रदेशसभा १ नम्वर क्षेत्रका उम्मेदवार विशाल खड्काले गठबन्धनलाई जिताउन सिंगो जिल्लालाई एकढिक्का बन्दै गएको बताए । जिल्लामा ८० प्रतिशत भन्दा बढि मत गठबन्धनको पक्षमा खस्ने निश्चित भएको खड्काको भनाई छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads