Loading...
कांग्रेसलाई अवसर ?

प्रसङ्ग सुरु गरौं, एउटा रमाइलो बाजीबाट । म्याग्दीका दुई ठूला दल आबद्ध युवा नेताहरुले आगामी चुनावका बारेमा बाजी थापेका रहेछन् । अहिलेको निर्वाचनमा अग्र मोर्चामा बसेर आआफ्ना दलका प्रतिनिधिलाई जिताउन कम्मर कसेका ती युवा नेताहरु व्यावसायिक हिसाबले अत्यन्तै निकट पनि छन् । उनीहरुको व्यक्तिगत मामिला भए पनि यो एउटा रमाइलो मात्र होइन, चुनावी परिणामको यथार्थ चित्रण पनि हो भन्ने हामीलाई लागेको छ । औपचारिक रुपमा सबैले आफ्ना उम्मेदवारको पक्षमा भारी मत छ भन्ने दावी नगर्ने हो भने राजनीतिक धर्म नै रहँदैन । तर मान्छेका निजी जीवनभित्र पसेपछि उसले देखेको सत्य ओकल्दा त्यसको गोपनीयताको हक पनि सुरक्षित राखिदिनुपर्छ । यसरी दुई युवाहरु दैनिक चुनावी प्रचारको धपडीबाट सुस्ताएर सुटुक्क चिया खान बस्दा मोटामोटी दलीय प्रभावको आँकलन हुने नै भयो । एउटा दलले जित्ने र अर्को दलले हार्ने कुरा पनि घाम जस्तै छर्लङ्ग छ तर कति मतान्तरले हारजित हुन्छ भन्ने विषयमा भने मतैक्य हुन सकेन । जित्ने पक्षका युवाले आफ्नो उम्मेदवारले कम्तीमा ३ हजारको फरकले जित्ने आधार पस्कँदै स्थानीय तहको मत परिणामलाई प्रमाणका रुपमा पेश गरिरहँदा हार स्वीकारेको युवा नेताले त्यो मत अन्तरलाई घटाएर दुई हजारमा ल्याउने दावी गर्छन् । यसरी ३ हजारको मतले जित्ने कि २ हजारको भन्ने विषयमा बाजी ठोकेपछि अबको चुनावी परिणामका बारेमा धेरै माथपच्चिसी गर्नु परेन । 

लेखक : टि.एन. शर्मा


म्याग्दीको कुरा गरिरहँदा नेपालको भूगोलभित्र भइरहेका राजनीतिक गतिविधि र त्यसले निर्माण गरेको चुनावी माहोलको सरदर प्रभाव राष्ट्रिय रुपमा फैलिएको देखिन्छ । अहिले दुई वटा मोर्चामार्फत् चुनावी प्रतिस्पर्धा भइरहेको अवस्थामा यिनले जारी गरेका चुनावी प्रतिबद्धता पत्रमा पनि दलीय मनोविज्ञान प्रकट भएको छ । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र प्रकाशन गर्दा परम्परागत मूल्य र मान्यतालाई छोडेर फरक धार समातेको देखिन्छ । त्यसैगरी बाम गठबन्धनको साझा चुनावी घोषणापत्रमा पनि परम्परालाई त्यागेको प्रष्ट पढ्न पाइन्छ । अर्थात् हिजोका दिनमा बामपन्थी दलले बोल्ने प्रतिपक्षको भाषा आज नेपाली कांग्रेसले बोलिरहेको छ । यसरी सत्तामा बसेर पनि विपक्षीको आलोचना गर्नमा बढी समय खर्चेको कांग्रेसले हिजोको परम्परालाई भूलेको हो कि यो उसको परिवर्तित परिस्थितिले निर्माण गरेको प्रतिपक्षी मनोविज्ञान हो ? वैचारिक हिसाबले सबल र सशक्त युवा नेताले पनि आलोचनामा बढी समय खर्चिँदा कांग्रेसको यो लरतरो अवस्था उसका लागि पटक्कै सुहाउने विषय होइन । त्यसैगरी देशी विदेशी शक्तिका लागि आलोचनाका शब्द लेखेर पेज भर्ने बामपन्थीले आगामी योजना र सपना बढ्तै लेखेको देख्दा आगामी चुनावी परिणामप्रतिको उच्च मनोबल र आत्मविश्वास प्रकट भएको हो कि भन्ने लाग्छ ।
बाम गठबन्धन मार्फत् चुनाव लड्दा यिनीहरुले निकालेको हिसाबकिताबबाट के देखिन्छ भने आगामी दिनमा बाम गठबन्धनले प्रष्ट बहुमत ल्याउँछ र देश पाँच वर्षका लागि आफ्नो आर्थिक योजनामा हिडाउँछ भन्ने आत्मबल देखिन्छ । यो पाँच वर्ष राजनीतिक पार्टीका लागि कहालीलाग्दो र सबथोक होइन । किनकि पाँच वर्षमा नयाँ संरचना खडा गरी काम गर्दागर्दै समय गएको पत्तै नहुन सक्छ । त्यसैले नेपाली कांग्रेसले आफूलाई धैर्य बनाउँदै अर्को चुनावका लागि रणनीति बनाउन आवश्यक छ । यो अवधिमा प्रतिपक्षमा बस्ने कांग्रेसले प्रतिपक्षकाको धर्म कसरी निर्वाह गर्नुपर्छ भन्ने पाठ सिकाउने अवसर पाउनेछ । त्यतिमात्र होइन, नेपाली कांग्रेसले आफ्ना विशाल संरचनामार्फत् सत्तापक्षले गर्ने हर त्रुटीलाई कमजोरीका रुपमा स्थापित गर्ने सामथ्र्य पनि राख्छ । अर्कोतर्फ बामपन्थीको सत्ताले सामाजिक न्याय र उत्पादक शक्तिको सामथ्र्य प्रबद्र्धन गर्ने सवालमा प्रतिपक्षलाई राम्रैसँग सिकाउन सक्छ । राजनीतिमा एकले अर्कालाई रुपान्तरण गर्दै अगाडि बढ्दा देशले दिगो प्रणालीको विकास गर्ने अवसर पाउँछ । दिगो प्रणाली मार्फत् वितरण हुने सामाजिक न्याय र वितरणले आम जनताको भलो गर्दा राज्यप्रति जनताको भरोसा बढ्दै जान्छ । अहिले जनताले देशलाई माया गर्दागर्दै पनि सरकार तथा राज्य अन्यायी छ र यसले मेरो पक्षमा काम गर्दैन भन्ने गुनासो गरिरहेको अवस्था हो । जसको परिणाम युवाहरु देशको मायालाई मुटुमा बोकेर विदेशी मुलुकमा अवसर खोज्न हिँडिरहेका छन् । बामपन्थीले आफ्नो राजनीतिक कार्यक्रम अनुसार काम गर्न सकेन भने कांग्रेसले आफूलाई सापेक्षित हिसाबले सवल पार्टीका रुपमा प्रस्तुत गर्नेछ । 
हिजोका दिनमा नेपाली कांग्रेसले आम निर्वाचन मार्फत् २०१५ साल, २०४८ साल र २०५६ सालमा बहुमत प्राप्त गरेको थियो । पन्ध्र सालमा राजासँगको अन्तरविरोध र त्यसपछि अन्तरपार्टी अन्तरविरोधका कारण आफ्नो सरकार पाँच वर्षसम्म चलाउन सकेन । देशमा आवधिक निर्वाचन र निर्वाचन परिणाम अनुसार आवधिक सरकार चल्न सकेन भने अस्थिरता र अराजकताले शासन गर्नेछ ।  प्रतिपक्षमा रहेको कांग्रेसले आफूलाई निफन्ने अवसर पाउनेछ । विपीको आदर्श र निष्ठामा आस्था राख्ने धनराज गुरुङ जस्ता सक्कली कांग्रेसको आँसु पुछ्ने दिन पनि आउनेछ । त्यसपछि कांग्रेस आफैं वैचारिक र निष्ठाका हिसाबले जनताका मनमा स्थापित भए भने यसले आफ्नो सफलताको विराशतलाई पुनस्र्थापित गर्नेछ । अहिले पाखा लगाइएका पुराना, इमान्दार र निष्ठावान कांग्रेसी मित्रहरु फेरि कांग्रेसको झण्डा समाउन आउनेछन् । त्यसैले अहिलेको निर्वाचन कांग्रेस शुद्धीकरणका लागि सो पार्टीको अवसरका रुपमा उभिएको छ । वैचारिक कांग्रेसी मित्रहरुसँग कुरा गर्दा कुन तर्कका आधारमा कसलाई भोट मागौं ? भन्ने द्विविधा पालेर बसेको देखिन्छ । चौबिस क्यारेटका यस्ता कांग्रेसी कार्यकर्तालाई निस्क्रिय राखेर देशलाई कस्तो शासन र प्रणाली दिन खोजेको हो भन्ने विपी, गणेशमानका आदर्शले उठाउने प्रश्नको जवाफ नआएसम्म इमान्दार कांग्रेस कार्यकर्ताले बाजी राख्दा हार्ने मतान्तरमा नै हो । 
नेपाली कांग्रेसले अहिले आफूलाई लोकतन्त्रको हिमायती र दावेदारका रुपमा प्रस्तुत गरेको छ । राजनीतिमा पनि डिएनए परीक्षण हुने भए यसको छिनोफानो विज्ञानले लगाउँथ्यो तर  राजनीतिलाई ऐतिहासिक पुरुषहरुको नाममा विकृति र विसङ्गतिप्रति आँखा चिम्लिरहँदा देशले स्वीकारेका आदर्श पुरुषहरुप्रतिको अपमान मात्रै हुन्छ । वर्तमान संविधानलाई शिरोपर गरी सम्मान गर्ने राजनीतिक दलले लोकतान्त्रिक मूल्य मान्यतालाई मान्छन् भन्ने विश्वास गर्नुपर्छ । बरु कांग्रेसले चुनावी गठबन्धन गरेको राप्रपाले संविधानका केही अन्तरवस्तुमा असहमति प्रकट गरेको छ । कांग्रेसले उक्त राजनीतिक शक्तिलाई संविधानलाई अक्षरशः पालना गर्ने सवालमा मनाउँछ कि मनाउँदैन ? नेपाली कांग्रेसका पुराना विद्वान कार्यकर्ता पुरञ्जन आचार्यले लोकतन्त्र कांग्रेसको काखमा मात्र नभएको भन्दै जवाफ दिइसकेका छन् । बामपन्थीले अधिनायकवाद ल्याउँछ भन्ने त्रास सिर्जना गर्नु लोकतान्त्रिक शक्तिको राजनीतिक धर्म होइन । एउटै संविधानलाई मान्ने र एउटै चुनावी प्रक्रियाबाट छानिने पद्धतिमा साझा कार्यक्रम बनाउँदा अधिनायकवादको त्रास देखाउनु उचित हुँदैन । बरु हिजोका दिनमा जनताले अवसर दिँदा त्यसको उपयोग गर्न नसकेको कारण खुलाउँदै श्वेतपत्र जारी गरेर अबका दिनमा पाँच वर्षसम्मै शासन गर्ने आत्मविश्वास र प्रतिबद्धता प्रकट गर्नु उचित हुनेछ । बामपन्थीले पनि जित्नका लागि मात्र गठबन्धन गरेको हो भने यो बामशक्तिका लागि नेपाली जनताले प्रकट गरेको विश्वास अन्तिम हुनेछ किनकि अहिले देशमा बामपन्थीको जनमत बहुमतमा देखिन्छ । यसरी एक दुई सिट बामपन्थीले जित्दा दुई तिहाई जित्ने कांग्रेसको इतिहास नियाल्दा उसको शासन गर्ने व्यवस्थापकीय सीपको अभाव नै बामपन्थी मतको विस्तार हो त्यसैले कांग्रेसकै गल्ती दोहो¥याउने हो भने बामपन्थीका लागि यो ठूलो खतराको खेल हो । उसको सामाजिक न्यायका मुद्दालाई साकार पार्ने, रोजगार सिर्जना गर्ने, राष्ट्रिय पूँजीलाई अधिकतम उपयोग गर्दै बाह्य पूँजीलाई आकर्षण गर्ने काममा बामपन्थीले भनेजस्तो गर्न सकेनन् भने त्यो उसको राजनीतिक संकुचनका लागि काफी कारक बन्नेछ ।
यसरी अहिलेको निर्वाचन नेपालको शासन प्रणालीमा ऐतिहासिक प्रयोग मात्र होइन, दलका लागि काम गर्ने र प्रतिपक्षमा धैर्यताका साथ पर्खने खरो परीक्षा पनि हुनेछ । जनताले कसको क्षमता र कसको धैर्यता कति छ भन्ने जाँच्ने मौका पाउनेछन् । त्यसपछि अर्को वैकल्पिक राजनीतिको बारेमा तीव्र बहस सुरु हुनेछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads