Loading...
नक्कली नोटको खतरा


केही दिनभित्र आधा दर्जनभन्दा बढी नक्कली नोटको कारोवार भएको पाइएको छ । केही वित्तीय संस्था र पसलहरुमा भेटिएका यस्ता नोटहरु गाउँबाट आउने सिधासादा व्यक्ति मार्फत् भित्रिएको आशङ्का गरिएको छ । चुनावको मुखमा नक्कली नोट भेटिनुले मतदातालाई प्रभाव पार्न शक्तिशाली गिरोहले यस्तो हर्कत गरेको भन्दै युवाहरुले सतर्कता अपनाउनु पर्नेमा जोड दिएको देखिन्छ । दुई वटा सहकारी, विकास बैंक, वाणिज्य बैंक, विद्यालय तथा किराना पसलमा भेटिएका यस्ता नक्कली नोटले सिधासादालाई तर्साएको छ । बेनीस्थित लोकदीप सहकारीमा पहिलो पटक नक्कली नोट भेटिएपछि क्रमशः अन्य वित्तीय संस्थामा पनि सतर्कता बढाइएको हो, जसको फलस्वरुप यति धेरै नोटहरु नक्कली देखिए । गरिमा विकास बैंकमा स्थानीय तहको निर्वाचनताका पनि नक्कली नोट भेटिएको खबर बाहिर आएको छ । अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मुखमा फेरि नक्कली नोटको कारोवार बढेको देखिनुले चुनावलक्षित यो तस्करी भएको अनुमान गर्न सकिन्छ । नक्कली नोट भेटिनु तर यसको कारोवार गर्ने गिरोह नभेटिनुले धेरै आशंका जन्माएको छ । चुनावमा धन, डन र गनको प्रयोग हुँदै आएको परिप्रेक्ष्यमा धनको सीमितताले गर्दा नक्कली नोटको प्रयोग गरी मतदाता लगायत डन र गनको खरिद बिक्री गर्न कमजोर राजनीतिक दल वाध्य भएको हुनुपर्छ । 
म्याग्दीका दुर्गम र विपन्न वस्तीमा पैसाको प्रयोग गरी मतदातालाई प्रभाव पार्ने विकृतिमा अझै कमी आएको छैन । त्यसैले गाउँगाउँमा पैसा बाँडेका हल्लासँगै बजारतिर ओर्लेका नक्कली नोटहरुले यस्ता हल्लालाई पुष्टि गरेको देखिन्छ । राज्य तहमा यस्ता विषयलाई गम्भीरतापूर्वक लिएर सन्दिग्ध व्यक्तिहरुमाथि छानविन सुरु गर्नुपर्ने हो तर पनि सुरक्षा निकायले यस्ता अखडामा आफ्नो पहुँच र उपस्थिति अझै देखाउन सकेको छैन । आगामी दिनमा गाउँमा बाँडिएका नक्कली नोट अन्ततः सदरमुकामका वित्तीय संस्थामै रिम्दैघुम्दै आउने निश्चित छ । म्याग्दीमै यस्ता नोटको उत्पादन सम्भव छैन । त्यसैले कि काठमाडौं, कि तराईका क्षेत्र वा भारततर्फबाट यस्ता नोट म्याग्दीमा भित्रिएको कुरामा सजिलै अनुमान गर्न सकिन्छ । नक्कली नोट छाप्ने गिरोह सामान्य समूह होइन । यो ठूला शक्तिकेन्द्रको छत्रछायामा हुर्किएको हुनाले यसको प्रयोजन आर्थिक लाभका लागि मात्र नभई राजनीतिक लाभाका लागि पनि भएको बुझ्नु पर्दछ । यसरी राजनीतिमा अपराध तथा तस्करीको प्रवेश भयो भने नेपाली राजनीतिलाई शुद्धीकरण गर्न त्यति सजिलो हुनेछैन ।
सात गतेपछिको मौन अवधिमा हुने हर्कत अझै गम्भीर खालका हुन्छन् । आजसम्म दलहरुले आफ्ना नीति, कार्यक्रम, सपना, गफ, आश्वासन जे जे बाँडे पनि त्यसपछि गुप्त रुपमा चल्ने धन, डन तथा गनको प्रयोग अझै डरलाग्दो हुने गर्दछ । त्यसैले सुरक्षा निकायले गाउँतिरका यस्ता आचारसंहिता विरोधी एवम् गैरकानुनी क्रियाकलापमाथि सुक्ष्म अध्ययन गरी कानुनी दायरामा ल्याउनु अति आवश्यक छ । नक्कली नोटको बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा निकै बहस एवम् आरोप प्रत्यारोप चलिरहेको छ । अरु राजनीतिक बहसभन्दा पनि यो गैरकानुनी एवम् अपराधिक क्रियाकलाप भएकोले सामजिक सञ्जालमा व्यक्त भएका यस्ता नक्कली नोटका कारोवारसँग सम्बन्धित अभिव्यक्तिबाट पनि कहाँ कसको संलग्नता छ भन्ने अनुमान सुरक्षा निकायले सजिलै लगाउन सक्दछ तर उसले अनुसन्धान गर्छ कि गर्दैन ?
सम्पादकीय रुप्से दैनिक 2074-8-7

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads