Loading...
नजिकबाट जनभावना बुझ्न् पाए : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक निर्वाचन लडेजस्तो अनुभूति भएको बताएका छन् । उनले नयाँ सरकार संविधानको भावना अनुरुप अघि बढ्नेसमेत प्रष्ट पारे ।
पत्रकार महासंघ चितवनले जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजना गरेको शुभकामना कार्यक्रममा प्रचण्डले वामपन्थीहरु नै बढी लोकतान्त्रिक भएको पुष्ट्याइ विगतका घटनाक्रमले गरेको प्रष्ट पारे ।
कांग्रेससहित केही शक्तिले वामपन्थीले जिते मुलुकमा अधिनायकवाद ल्याउने र निरंकुशता जन्मने बताइरहेका बेला प्रचण्डले सबै मिलेर जारी भएको लोकतान्त्रिक संविधान अनुसार नै नयाँ सरकार अघि बढ्ने बताए ।
राजनीतिक स्थायित्व र देश विकासका लागि वामपन्थी शक्तिहरुले ल्याएको एजेण्डालाई नेपाली जनताले अनुमोदन गरेको उनको दावी छ । ‘जनताले स्थिरता, सुशासन र भष्टाचारमुक्त शासन व्यवस्थाको अपेक्षा गरेको छन्’ प्रचण्डले भने, ‘हाम्रा यिनै एजेण्डालाई जनताले उत्साहजनक ढंगले रेस्पोन्स गर्नुभएको छ । जनअपेक्षा अनुसार आफूहरुलाई खरो उतार्ने छौं ।’
वाम गठवन्धनको उत्साहजनक जीतलाई विश्व समुदायले ध्यानपूर्वक हेरेको भन्दै अध्यक्ष प्रचण्डले वामपन्थीले जित्दा अधिनायकवाद आउँछ भनेर गरिएको प्रचारलाई अन्र्तराष्ट्रिय समुदायले पनि नपत्याउने बताए ।
माओवादी अध्यक्ष प्रचण्डले जीवनमा पहिलोपटक निर्वाचन लडेजस्तो अनुभूति भएको समेत बताए । ‘पहिलोपटक रोल्पामा चुनाव लड्दा एकपटक मात्रै गएँ, काठमाण्डुमा पनि खासै चुनावमा हिँडिनँ । सिरहाको चुनाव प्रचारप्रसारमा पनि खासै जुटिनँ । तर, यसपटक भने चुनावमा हुने सबैखाले तीतामिठा अनुभव गर्न पाएँ, जनतासँग नजिकबाट जनभावना बुझेजस्तो भयो ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads