Loading...
प्रचण्ड–ओली भेटमा सकस





 राजनीतिक गतिरोधको अन्त्य, नयाँ सरकार गठन, पार्टी एकताको विषयमा प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बुधवार पनि अन्यौलमा परेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलवार हुने भनिएको बहुप्रतिक्षित भेटवार्ता हुन सकेन । 
माओवादी केन्द्रका नेताहरुले एमालेसँग बुधवार छलफलको तयारी भएको बताएपनि ओलीको सचिवालयले भने बुधवार प्रचण्डसंग भेटवार्ता तय भइनसकेको बताए । 
‘बुधवार प्रचण्डसँग भेटवार्ताको कुनै कार्यक्रम छैन, अध्यक्षज्यू अन्य काममा व्यस्त हुनुहुन्छ’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले लोकान्तरसँग भने ।
केही दिन निर्वाचन क्षेत्रमा बसेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलवार अबेर काठमाडौं आएका थिए । काठमाडौं गएपछि ओलीसँग पार्टी एकता लगायतको बिषयमा छलफल गर्ने प्रचण्डले चितवनमा बताएका थिए । 
चुनावको नजिता सार्वजनिक भएपछि प्रचण्ड र ओलीबीच एक पटक मात्र औपचारिक भेटवार्ता भएको छ । वामपन्थी गठबन्धनको तर्फबाट संयुक्त पत्रकार सम्मेलन आयोजना भएको दिनदेखि उनीहरुबीच औपचारिक संवाद भएको छैन । उनीहरुबीच टेलिफोनमा अनौपचारिक छलफल भएपनि भेटवार्ता भने हुन सकेको छैन । 
ओली निकटस्थ एमालेका एक नेताका अनुसार दुई दलबीच सरकार गठन र पार्टी एकताबारे अनौपचारिक सहमति भएपछि मात्र औपचारिक भेटवार्ता हुने छ । ‘उपलव्धि बिनाको भेटवार्ताले झन अन्यौलता पैदा हुन्छ र वाम एकताका विरोधीलाई खेल्ने मौका मिल्छ । केही उपलव्धि घोषणा गर्नेगरी भेटवार्ता हुन्छ’ एमालेका ती नेताले लोकान्तरसँग भने । 
नयाँ सरकार गठन अगावै पार्टी एकता हुनुपर्ने माओवादीको प्रस्ताव छ भने एमालेले सरकार गठनपछि मात्र पार्टी एकता हुनुपर्ने बताउँदै आएको छ । एमालेका नेताहरु प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन भने माओवादीले पद बाँडफाँट गर्नुपर्ने अडान राख्दै आएको छ । 
१७ असोजमा चुनावका लागि वामपन्थी तालमेल घोषणा र २१ कात्तिकमा संयुक्त चुनावी घोषणा पत्र जारी गर्दा दुई दलका नेताहरुले चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए । चुनाव सम्पन्न भएको एक महिना वितिसक्दा समेत दुई दलबीचको एकता कार्यदलको समेत बैठक बस्न सकेको छैन । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads