Loading...
रेमिट्यान्स घट्यो, के असर पर्छ अर्थतन्त्रमा

नेपाली अर्थतन्त्रको प्रमुख हिस्साका रुपमा लिइएको विप्रेषण आप्रवाह (रेमिट्यान्स आय) घट्दो गतिमा रहँदा नेपाली उपभोग्य बजारमा गम्भीर असर पर्ने देखिएको छ ।
विप्रेषण ठूलो हिस्सा उपभोग्य बजारमा जाने भएकाले विप्रेषण आय घट्दा दीर्घकालीन रुपमा समस्या देखिने भएको हो ।  
 चालू आर्थिक वर्षको पहिलो चौमासिकमा रेमिट्यान्स आय अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ दशमलव ४ प्रतिशत घटेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा दुई खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ८ प्रतिशतले बढेको थियो । 
विदेश जाने घटे !
खासगरी काम गर्नका लागि विदेश जाने नेपालीको संख्या घट्दै गएपछि रेमिट्यान्स आयमा गिरावट आउन थालेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नेपालबाट कामका लागि विदेश जानेको संख्या १ प्रतिशतले घटेको छ । पछिल्ला वर्षहरुमा कमाउन विदेशिनेको संख्या घट्दै जाँदा रेमिट्यान्स पनि विस्तारै ओह्रालो लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउँछन् । 
तर, वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा ठूलो कमी नआए पनि अधिकांश नेपालीहरुले काम गर्न जाने खाडी मुलुकहरुको अर्थतन्त्र केही कमजोर बन्दा रेमिट्यान्समा समस्या देखा परेको वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले बताए । 
बाहिरी मुलुकमा पाइने रोजगारीमा भर पर्दा खाडीमा देखिएको समस्याका कारण पनि नेपालको अर्थतन्त्रमा धक्का लाग्छ ।
तेल निर्यात गर्ने र अधिकांश नेपाली कामदारहरुको गन्तव्य खाडी मुलुकहरुमा देखिएको आन्तरिक समस्यामा कारण रेमिट्यान्स घटेको विश्लेषकहरु बताउँछन् । 
के पर्छ असर ?
रेमिट्यान्समा कमी आउने क्रम निरन्तर नरोकिए यसले अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने विज्ञहरुको अनुमान छ ।
आर्थिक विश्लेषक तिलक रावलका अनुसार रेमिट्यान्समा आएको कमीले चालू खाता घाटामा रहने र विदेशी बिनिमय सञ्चितीमा समेत असर पर्ने देखिन्छ । 
रेमिट्यान्स बढी भित्रिने समय दसैँ, तिहारलगायत तथा जाडो मौसममा पछिल्ला वर्षहरुमा देखिएको घट्दो क्रमले रेमिट्यान्समा आधारित उपभोक्ताहरुको क्रय क्षमतामा ठूलो असर पर्ने अर्थ विश्लेषक रावल बताउँछन् ।  
नेपाली अर्थतन्त्र अब रेमिट्यान्समा भर पर्नै नहुने उनको तर्क छ ।  ‘संघीय नेपालका हरेक संरचना र स्थानीय तहको स्रोत साधनको बढ्दो उपभोग गर्दै नेपालमै रोजगारीका अवसर सृजना गर्नुपर्छ,’ रावल भन्छन्, ‘बाहिरी मुलुकमा पाइने रोजगारीमा भर पर्दा खाडीमा देखिएको समस्याका कारण पनि नेपालको अर्थतन्त्रमा धक्का लाग्छ, यसले त्यसमा आधार उपभोक्ताको क्रय क्षमता घटाउँछ ।’ 
रेमिट्यान्स घट्दा व्यापार घाटा भने कम
 
चालू आर्थिक वर्षको पहिलो चौमासिकको अवस्था हेर्दा व्यापार घाटा ११ प्रतिशतले बढेको देखिन्छ ।  निर्यातको तुलनामा आयात वृद्धिदर उच्च भएपछि चालू आवको पहिलो चार महिनामै नेपालले तीन खर्ब सात अर्ब ९६ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ दशमलव १ प्रतिशतले बढी हुन आउँछ ।
समीक्षा अवधिमा निर्यात ७ दशमलव ५ प्रतिशतले घटेर २६ अर्ब ३५ करोड पुगेको छ भने आयात १० दशमलव ८ प्रतिशतले बढेर तीन खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
अर्थविद् रावलका अनुसार पछिल्ला वर्षहरुमा ह्वात्तै उकालो लागेको व्यापार घाटा कम गर्न भने रेमिट्यान्स आयातको कमीले सघाउ पुर्याउँछ । 
‘रेमिट्यान्समा धेरै भर परेको नेपाली अर्थबजारमा रेमिट्यान्स नै घटेपछि उपभोग्य सामानको माग घट्छ जसका कारण आयात समेत घट्नेछ ।’ उनी भन्छन्, ‘यसको अर्थ नेपालीहरुको क्रय क्षमतामा कमी आउनेछ र आयात पनि कम गर्नुपर्नेछ । तर निर्यात बढाउन नसके यसलाई सकारात्मक मान्न सकिदैन ।’  
रेमिट्यान्स घट्दा नेपालीहरुको क्रय क्षमता पनि घटेको छ तर नेपालको निर्यात व्यापार बढाउन नसके दीर्घकालीन रुपमा असर देखिने रावलको तर्क छ । 
चार महिनाको तथ्यांकले रेमिट्यान्स घटाएको देखाउँदैमा आत्तिहाल्नुपर्ने अवस्था नभए पनि सचेत हुनुपर्ने रावलको भनाइ छ ।
रेमिट्यान्स घट्नु मुलुकको अर्थतन्त्रका लागि यो चिन्ताजनक विषय विषय भए पनि रेमिट्यान्समा भर पर्ने अवस्थाको सृजना गर्दै जाने हो भने ठूलो समस्या नहुने उनको भनाइ छ । 
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको भारी गिरावटसँगै तेल निर्यातक खाडी मुलुकबाट नेपाली श्रमिकको मागमा कमी आएको आउँदा नेपाली कामदारको माग घटेको सरोकारवालाहरु बताउँछन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads