Loading...
विद्यार्थीलाई पुस्तकालय बरदान सावित

Image result for Library विद्यालयमा स्थापना गरिएको पुस्तकालय विद्यार्थीको शैक्षिक गतिविधिमा बरदान सावित भएको शुक्रबार म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । विद्यालयले उपलब्ध गराएको पुस्तकमा सीमित विद्यार्थीलाई पुस्तकालयको स्थापना भएपछि विभिन्न किसिमका पुस्तकको पहुँचले अध्ययनप्रतिको रुचि बढ्नुका साथै शैक्षिक गुणस्तर बढेको उनीहरुले बताए । 
रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङमार्फत चारवर्ष अगाडि विद्यालयमा स्थापना भएको पुस्तकालयको चारवर्षे समीक्षा कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर घिमिरे, जिल्ला शिक्षा कार्यालयका इन्जिनियर श्रीकृष्ण खनालले पुस्तकालयको महत्वका बारेमा बताएका थिए ।
कार्यक्रममा विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले नियमित पुस्तकालयको प्रयोग गर्ने विद्यार्थी पढाइमा समेत अब्बल रहेको बताए । म्याग्दी जिल्लाका ९९ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरी विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिसहित साक्षर समाज बनाउने अभियानमा सहयोगी भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए । 
अर्जुन मावि स्रोतकेन्द्रका स्रोतव्यक्ति दुर्गाराम सुवेदीले सामुदायिक विद्यालयमा स्थापना भएका पुस्तकालयको  नियमित प्रयोगले वार्षिक परीक्षामा समेत उत्तीर्ण प्रतिशतमा सुधार आएको बताए । समीक्षा तथा अभिभावक भेलाका प्रमुख अतिथि बेनपा–२ का वडा अध्यक्ष हिराबहादुर थापाले विपन्न परिवारका बालबालिकालाई घरमा पढ्ने वातावरण नहुँदा नियमित पुस्तकालयको प्रयोगले शैक्षिक गतिविधिमा सघाउ पुगेको बताए । उनले पुस्तकालय बिनाको विद्यालयको कल्पना समेत गर्न नसकिने बताउँदै आगामी दिनमा पुस्तकालयलाई नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिए । 
सोही अवसरमा एक वर्षसम्म सबैभन्दा धेरै पुस्तक पढ्ने कक्षा ४ का विनसा बुढाथोकी र कक्षा ५ का विरना कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका रिचा कार्की, प्रगति आमा समूहका अध्यक्ष तिलकुमारी कार्कीलगायत अभिभावक र स्थानीयवासीको सहभागिता रहेको थियो । बिव्यस अध्यक्ष नारायण कार्कीको अध्यक्षता, प्रधानध्यापक प्रेमबहादुर कार्कीको स्वागत तथा प्रगति प्रतिवेदन र पुस्तकालय शिक्षक यामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय प्रगति आमा समूहले स्वागत तथा सम्मान गरेको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads