Loading...
२४ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण

२४ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण : नियुक्त भएको तीन महिना बिते पनि दुई दर्जन मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन् । उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती दिएका हुन् ।
उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापासहित सात मन्त्री र १४ राज्यमन्त्रीले आफ्नो मन्त्रिपरिषदको निर्णय र भ्रष्टाचार निवारण ऐन अवज्ञा गर्दै विवरण बुझाउन आनाकानी गरेको समाचार अन्नपूर्ण पोस्टमा छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको थियो । तर, ६४ मन्त्रीमध्ये २४ जनाले विवरण बुझाउन आलटाल गरेका छन् ।
साढे ३ करोड
सरकारले अनमिनको साढे ३ करोड रुपैयाँ अझै नतिरेको समाचार राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ । नेपालको शान्ति प्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अनमिन कार्यालय बसेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको साढे ३ करोड रुपैयाँ भाडा सरकारले अझै नतिरेको पाइएको छ ।
अनमिन कार्यालय फिर्ता हुनु ३ वर्षअघि देखि नतिरिएको भागा विदाइ भएको ८ वर्षसम्म पनि निकासा भएको छैन । मुलुकमा शान्ति प्रक्रिया र हतियार व्यवस्थापन भएपछि अनमिन फर्किएको ८ वर्ष भयो । अनमिन कार्यालयको भाडा सरकारले तिर्ने निर्णय भएको थियो ।
केन्द्रको नाममा आम्दानी हुनुपर्ने ३ करोड ३८ लाख रुपैयाँ लामो समयसम्म निकासा नगर्दा महालेखा परीक्षकको कार्यालयले भने सो रकम केन्द्रको नाममा बेरुजु देखाउँदै आएको छ ।
प्रदेशसभामा १३ दल
राजधानी दैनिकमै प्रदेशसभामा १३ दलको प्रतिनिधित्व हुने समाचारलाई पहिलो प्राथमिकता दिएर छापेको छ । निर्वाचन आयोगले ७७ जिल्लाका २२० निर्वाचन क्षेत्रमा सम्पन्न प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँटफाँट गर्दै १३ दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने गरी सिट टुंगो लगाएको हो ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम नेपाल, विवेकशील साझा पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल संघीय समाजवादी पार्टी को प्रदेशसभामा प्रतिनिधित्व हुने समाचारमा उल्लेख छ ।
यसैगरी निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक मतका आधारमा दलहरुको सिट संख्या तोकेसँगै दलहरुलाई उम्मेदवारको नामावली पठाउन पत्राचार गर्ने समाचार पनि छ ।
आयोगले दलहरुले निर्वाचनअघि समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगमा बुझाएको बन्दसूचीको क्रमअनुसार हुने गरी सात दिनको समय दिएर उम्मेदवारको नाम पठाउन दलहरुलाई पत्र पठाउने तयारी गरेको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई उद्धृत गर्दै समाचार लेखिएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले यसै समाचारलार्इ  संघमा कमजोर दल प्रदेशमा बलियो शीर्षकमा समाचार छापेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट जितेर ठूलो दल बनेको एमाले सातवटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सीमित भएको छ । प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा प्रदेशतर्फ एमालेभन्दा ३ सिटले मात्रै पछि परेको छ ।
एमालेले प्रदेशसभामा ७२ सिट पाएको छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा कांग्रेस ३ गुणा बढी सिट जित्न सफल भएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads