Loading...
बुढेसकालको मायामा मोहनविक्रम

दाह्री–कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके । पातलो शरीरका उनको अनुहार चाउरीले ढाकेको छ । झिमरुक गाउँपालिका–५ ओखरकोट प्यूठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन् । उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ ।

भोट माग्न उनी प्यूठानका गाउँघर डुल्दैछन् । मसालको संसदीय मोर्चा (राष्ट्रिय जनमोर्चा) की उपाध्यक्ष रहेकी उनकी पत्नी त्यहाँ बाम गठबन्धनका तर्फबाट उम्मेदवार छिन् । बितेका निर्वाचनमा पनि उनी भूमीगत रूपमा राष्ट्रिय जनमोर्चाको चुनावी प्रचारप्रसारमा सामेल हुन्थे । जिल्लाका निश्चित ठाउँमा मात्र पुगेर उनले मतदातासँग भोट माग्ने गरेका थिए । तर, यसपालि भने उनको सक्रियता बढेको छ । सधैँ अर्धभूमिगत भइरहने सिंहको यसपालिको सक्रियतालाई प्रतिस्पर्धीले ‘पत्नी मोहको’ आरोप लगाएका छन् । पत्नी उम्मेदवार भएकै कारण उनको क्रियाशीलता बढी देखिएको विपक्षीहरूले उनीमाथि आरोप लगाउँछन् । सिंहले आफू ६५ वर्षको हुँदा ०५८ सालमा २८ वर्षीया पौडेलसँग पछिल्लो गरेका थिए ।

यसपालिको निर्वाचनमा सिंहले जिल्लाका करिब दर्जनजति पार्टी प्रशिक्षण सम्पन्न गरिसकेका छन् । पत्नी पौडेलसँगै भने उनी हिँडेका छैनन् । सिंहले चुनाव जित्न विशेष रणनीतिक योजना बनाएर वाम मतदातालाई ऊर्जाका साथ प्रशिक्षण दिँदै आएका छन् । सातादेखि चुनावमा सक्रिय सिंहले जिल्लाका मच्छी, चुँजा, बाहाने, खलंगा, विजुवार, बरौला, चकचके, भिंगृ, ठूलावेसीलगायत स्थानमा पुगेर वाम मतदातालाई ऊर्जा थप्ने काम गरिरहेका छन् ।

अझै केही दिन उनी जिल्लामै बसेर कार्यकर्तालाई प्रक्षिक्षण दिने कार्यक्रम रहेको बुझिएको छ । ‘एक भोटले पनि उम्मेदवारमा हारजित हुन सक्छ’, शुक्रबार प्यूठान नगरपालिकास्तरीय चुनावी प्रशिक्षणका क्रममा जुम्रीमा सिंहले भने, ‘वाम गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताउने गरी लाग्नुस् । पार्टीभित्र कसैले पनि अन्तर्घात नगर्नुहोला ।’

सबैलाई मतदान गर्न आग्रह गर्दै हिँड्ने सिंह भने आफूले भोट हाल्दैनन् । गत स्थानीय तह निर्वाचनमा समेत उनले भोट हालेनन् । आफूले भोट नहाल्ने तर अरूलाई हाल्न आग्रह गर्दै हिँड्ने उनको शैलीलाई कतिपयले मन पराएका छैनन् । सिंहलाई विगतका निर्वाचनमा भन्दा यसपालि धेरै संघर्ष गर्नुपर्ने देखिन्छ । प्रत्यक्षतर्फ एक सिट नजितेमा मसालको चुनावी मोर्चा राजमो राष्ट्रिय पार्टी बन्न सक्दैन । विगतका निर्वाचनमा बाग्लुङ र प्यूठानमा उम्मेदवार उठाए पनि यसपालि प्यूठानमा मात्र उनकी पत्नी उम्मेदवार बनेकी हुन् ।

सिंगो पार्टी र पत्नीलाई विजयी गराउन उनी निकै दौडधुप गरेर गाउँगाउँ पुगेका छन् । पत्नी मोहकै कारण उनी संसदीय निर्वाचनमा चुनावी मोर्चा राजमोलाई लचिलो बनाउँदै लगेको धेरैले टिप्पणी गर्न थालेका छन् । ०५६ सालको निर्वाचनमा कपिलवस्तु र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट पराजय भोगेकी पौडेल ०७० सालको निर्वाचनमा प्यूठानबाट समानुपातिक सांसद भइन् ।

जिल्लामा एमालेको बलियो क्षेत्र मानिए पनि राजमोका केन्द्रीय उपाध्यक्ष पौडेललाई एमालेसहित माओवादी केन्द्रले सघाएका छन् । महामन्त्री सिंहकै सक्रियतामा प्यूठान राजमोको भागमा परेको चर्चा सुनिन्छ । वाम गठबन्धनकी साझा उम्मेदवार पौडेल भने मोहन विक्रमको पत्नी नभएर पार्टीको योगदानका हिसाबले टिकट पाएको बताउँछिन् । उनले विपक्षीलाई घरपरिवारसँग आफूलाई नजोड्नसमेत आग्रह गरेकी छन् । राजमोको केन्द्रीय उपाध्यक्ष पौडेलले विद्यार्थी जीवनदेखि नै पार्टीमा सक्रिय हुँदै आएकी हुन् । ०४१ सालदेखि उनको राजनीति यात्रा आरम्भ भएको हो । ०४५ सालमा साढे तीन महिना उनले जनआन्दोलनका क्रममा बन्दी जीवन बिताउनुपरेको थियो ।

महामन्त्री सिंहको नेतृत्वमा ०१० सालमा जिल्लामा कम्युनिस्ट पार्टीको जन्म भएको हो । ०१५ सालको संसदीय निर्वाचनमा सिंह आफैं उम्मेदवार बनेका थिए । त्यसयता मुलुकमा भएका कुनै पनि संसदीय निर्वाचनमा उनी उम्मेदवार बनेनन् । अर्धभूमिगत शैलीकै रूपमा उनले आफ्नो भूमिका निर्वाह गरिरहे । अझै पनि उनी आमसभामा सहभागी हुँदैनन् । कार्यकर्तालाई सभा हल र कोठामै राखेर उनले पार्टी प्रशिक्षण दिने गरेका छन् ।

चुनावलगत्तै मुलुकमा एक मात्र कम्युनिस्ट पार्टी हुने सिंहले बताएका छन्। पार्टी एकीकरणको विषयमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल भइरहेको उनले बताए । ‘लामो समयपछि कम्युनिस्ट एक भएका छन्’, उनले भने, ‘बुढेसकालमा सबै कम्युनिस्ट मिलेको देख्न पाउँदा खुसी लागेको छ । यसलाई जीवित राख्न हरदम पहल गर्नेछौं ।’

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने गरी वाम गठबन्धनलाई विजयी गराउन उनले आममतदातालाई आग्रहसमेत गरे । वाम गठबन्धनका पौडेलसँग लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डा. गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा प्रतिस्पर्धीका हिसाबले पौडेल ३८ हजार मतले अगाडि छिन् । वाम गठबन्धनले ६४ हजार तीन सय ३५ र लोकतान्त्रिक गठबन्धनले २६ हजार २ सय ८२ मत ल्याएका छन् । जिल्लाभर कुल एक लाख ३८ हजार ६ सय ४१ जना मतदाता छन् । अन्नपूर्ण पोस्टबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads