Loading...
लैङ्गिक हिंसाविरुद्धको अभियान भकिम्लीबाट

प्रताप बानियाँ/रुप्से दैनिक
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान म्याग्दी जिल्लामा बिहीबारदेखि मनाउन सुरु भएको छ । हरेक वर्ष नोभेम्भर २५ देखि डिसेम्बर १० तारिखका दिनसम्म मनाइने यो अभियानको यसवर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौं, कोही नछुटौं’ भन्ने नारा तय गरिएको छ ।
नेपाली मिति अनुसार मंसिर १० गतेदेखि २५ गतेसम्म मनाउनुपर्ने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यसवर्ष भने मंसिरको १० गतेकै दिन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएको हुँदा केही पर सर्न गएको बताइएको छ । यसैक्रममा म्याग्दीमा बेनी नगरपालिकाको आयोजनामा बिहीबार बेनपा–३ भकिम्ली गाउँमा जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउन थालिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले म्याग्दी जिल्लामा कलिलै उमेरमा बिहे गर्ने प्रचलन बढेको हुँदा यसलाई रोक्नुपर्ने बताइन् । उनले प्रायः विद्यालय तथा कलेज अध्ययन गर्नेहरु पढ्ने उमेरमा लभ गर्ने, लभ गर्ने उमेरमा विवाह गर्ने, विवाह गर्ने उमेरमा बच्चा जन्माउने र बच्चा जन्माउने उमेरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको बताएकी छिन् ।
प्रनाउ खड्काले सानै उमेरमा विवाह गर्ने र सम्बन्धबिच्छेदले परिवार तथा समाजमा बेमेलको अवस्था सिर्जना गर्नुका साथै लैङ्गिक एवं महिला हिंसा बढिरहेको हुँदा यसलाई न्युनीकरण गर्नका लागि स्वयं समाज अगाडि बढ्नुपर्ने बताइन् । उनले बालविवाह रोक्नका लागि प्रहरीलाई खबर गर्न आग्रह गर्दै विद्यालय उमेर समूहका बालबालिकालाई मोबाइल र फेसबुक चलाउँदा ध्यान दिन सुझाव दिएकी छिन् । हिंसा न्युनीकरण गर्न परिवार, समाज र सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उनले छोरी, बुहारीलाई पनि छोरासरह समान कामका साथै अधिकार दिनुपर्नेमा जोड दिएकी थिइन् ।
बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले लैङ्गिक हिंसा न्युनीकरण गर्न व्यक्ति, परिवार र समाज लाग्नुपर्ने बताउँदै समाजमा कसैलाई पनि हिंसा गर्न नहुने बताइन् । उनले समाजमा घट्ने जुनसुकै प्रकारका हिंसा भए पनि त्यसको सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने भन्दै सरोकारवाला व्यक्ति, संघसंस्था र निकायले हिंसा न्युनीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन् । उनले फरक प्रसङ्गमा नगरपालिकामार्फत सबै वडामा सडकको स्तरोन्नति गरिने, धार्मिक र पर्यटकीय क्षेत्रको विकासका लागि प्रचारप्रसार तथा आवश्यक पहल गरिने समेत बताएकी छिन् ।
कार्यक्रममा प्रनाउ खड्काले हिंसा, घरेलु तथा लैङ्गिक हिंसा, हिंसाका प्रकार, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनी अधिकार, मान्यता, न्युनीकरणका उपायलगायतका विषयमा सहजीकरण गरेकी थिइन् । कार्यक्रमको अवसरमा नेपाल प्रहरीद्वारा निर्मित बालविवाह, छुवाछुत, हिंसालगायत विषय समेटिएको ‘चेतना’ नामक फिल्म समेत देखाइएको थियो । कार्यक्रम भकिम्ली स्वास्थ्यचौकीका सिनियर अनमी तारा बुढाथोकीको अध्यक्षता, वडा सदस्य रत्नबहादुर जिसीको स्वागत र महिला अधिकारकर्मी मनकुमारी विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, पिस नेपालका जिल्ला अध्यक्ष सिर्जना श्रेष्ठ र लायन्स क्लब अफ बेनी महारानीका सचिव हिरादेवी शर्मा, भकिम्लीका जनप्रतिनिधि, आमा समूह, जयन्ती माविका शिक्षक तथा विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको सहभागितामा चेतनामूलक कार्यक्रम हुने गरेका छन् । महिला हिंसाविरुद्धका कार्यक्रम भैरहे पनि हिंसाका घटना भने अझै रोकिएको छैन । महिला आफ्नै अभिभावक, श्रीमान र समाजबाट पीडित हुने गरेका घटनाहरु सार्वजनिक भैरहेका छन् । तर, पछिल्ला वर्षहरुमा हिंसा सहनुहुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि महिला हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेकाले सङख्या बढेको देखिएको महिला अधिकारकर्मीहरु बताउँछन्।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads