Loading...
केपी, प्रचण्ड र देउवालाइ माेदिकाे फाेन बधाइ

फाइल तस्वीर
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीनै शीर्ष नेतासँग बिहीबार फोन–संवाद गर्दै प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका थिए । मोदीले ‘अब नेपाल राजनीतिक स्थायित्वतर्फ अघि बढ्ने’ विश्वास पनि व्यक्त गरेका छन् ।
भारतले निर्वाचन सकिएको १० दिनपछि विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालको निर्वाचन सफल भएकामा बधाई दिएको थियो । त्यस अतिरिक्त यस मामिलामा कुनै प्रतिक्रिया नजनाएको उसले एकैपटक प्रधानमन्त्री तहबाट तीनै दलका शीर्ष नेतालाई फोन गरेर राजनीतिक संक्रमण अन्त्य भई नेपाल स्थायित्वतर्फ अघि बढ्ने विश्वासव्यक्त गरेको हो ।
‘प्रधानमन्त्री (मोदी) ले निर्वाचन सम्पन्न गराएकामा उहाँहरूलाई बधाई दिँदै नेपालको विकास र स्थायित्वका लागि भारतको साथ र सहयोग रहने बताए,’ भारतीय दूतावासकी प्रवक्ता रुवी जसप्रितले  भनिन्, ‘उहाँले निर्वाचनको सफलताले राजनीतिक स्थायित्व कायम हुनेमा पनि विश्वास र शुभकामना व्यक्त गर्नुभएको छ ।’
मोदीले निर्वाचनमा वामपन्थी गठबन्धनले सफलता पाएकामा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय ओली र दाहाललाई छुट्टाछुट्टै बधाई तथा शुभकामना दिएका थिए । ‘उनले निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जितले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गरे’ एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँ (मोदी) ले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताउनुभयो ।’ अाजकाे कान्तिपुरमा खवर छ ।
प्रत्युत्तरमा एमाले अध्यक्ष ओलीले पनि भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्दै सरकार गठनलगत्तै औपचारिक निमन्त्रणापत्र पठाइने बताएको ज्ञवालीले उल्लेख गरेका छन् । ओलीले मोदीलाई ‘भारत र चीन दुवै छिमेकीसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने’ बताएका थिए ।
यस्तै मोदीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पनि फोन गर्दै ‘दु:खको घडीमा पाएको सफलता’ का लागि बधाई दिएका थिए । ‘दु:खको घडीमा पनि जनताको माझमा गई निर्वाचन जितेर दललाई माथि उकास्ने काम गर्नुभएकामा खुसी व्यक्त गर्दछु,’ मोदीको शुभकामना उद्धृत गर्दै दाहालका स्वकीय सचिव जोखबहादुर महराले भने, ‘निर्वाचन सफल पार्नुभएकामा हामी खुसी छौं र नेपालको विकासमा भारतको सहकार्यर सद्भाव सधैं रहनेछ ।’
वाम गठबन्धनको विजयलाई दिल्लीले नरुचाएको भारतीय सञ्चारमाध्यममा टिप्पणी आइरहेका बेला मोदीले उच्च राजनीतिक स्तरमा सम्पर्क राख्न चाहेका हुन् । शीर्ष नेतात्रयसँग मोदीको टेलिफोन संवादले आगामी दिनमा भारतले नेपालका राजनीतिक नेताहरूसँग कुन तवरमा सम्बन्ध राख्न चाहन्छ भन्ने सन्देश मात्र दिएको छैन कि आगामी दिनमा दुईपक्षीय उच्चस्तरको भ्रमण आदानप्रदानमा तीव्रता आउने संकेतसमेत गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads