Loading...
आक्रामक रुपमा गएको छ प्रचार : रिजाल

यही पुस २८ गतेदेखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीबजारमा आयोजना गरिएको “छैटौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशनम्बर ४ स्तरीय कृषि, औद्योगिक, व्यापार मेला–२०७४” को तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ । यसै सिलसिलामा महोत्सवको सफलताका लागि आवश्यक पर्ने तत्व प्रचारप्रसार पनि एक हो । यस सन्दर्भमा म्याग्दी उद्योग वाणिज्य संघका सचिव एवं महोत्सवको प्रचारप्रसार उपसमितिका संयोजक सुवर्ण रिजालसँग रुप्से दैनिकले गरेको कुराकानीको सम्पादित अंश ः


– म्याग्दी महोत्सवको लागि प्रचार शैली कसरी अपनाइएको छ ?
म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकमा म्याग्दी महोत्सव आयोजना गर्ने निर्णय भएसँगै प्रचारको थालनी भएको हो । उक्त बैठकमा उपसमितिको बारेमा पनि छलफल भयो र सबैले आ–आफ्नो क्षेत्रबाट प्रचारको थालनी गरियो । अहिले हाम्रो प्रचारको लागि सचिवालयबाट व्यानर बनाएर टाँग्ने काम भएको छ । गाडीहरुमा पनि प्रचार भैरहेको छ भने पर्वतको मालढुङ्गामा पनि प्रचारको बोर्ड टाँगिएको छ । उत्कृष्ट तबरले प्रचारप्रसार गर्ने हाम्रो उद्देश्य रहेको छ । प्रचारले नै महोत्सवलाई सफल बनाउने भएकाले हामीले धौलागिरी टेलिभिजनमा म्याग्दी महोत्सवको आकर्षक विज्ञापन बनाउन लगाएका छौं । 

– आधिकारीक मिडिया र कुनै फरक प्रचार शैली छन् कि ?
हामीले यस वर्षको म्याग्दी महोत्सवलाई सफल पार्नका लागि जिल्लाका सम्पूर्ण पत्रपत्रिका र धौलागिरीभित्रका विद्युतीय सञ्चारमाध्यम र म्याग्दीका अनलाइन सञ्चारमाध्यमलाई पनि सहयोगी मिडियाका रुपमा राखेका छौं । हाम्रा लागि सबै सहयोगी र आधिकारीक मिडिया हुन् त्यस्तो कुनै एउटालाई मात्र आधिकारीक मिडिया भन्ने हामीले तोकेका छैनौं । प्रदेशनम्बर ४ स्तरीय महोत्सव भएकाले हाम्रो पुरै प्रदेशमा प्रचार होस् भन्ने चाहना छ । प्रचार शैली कसरी अझै प्रभावकारी बनाउने भन्ने बारेमा हामी निकट भविष्यमै सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुसँग छलफल पनि गर्दैछौं । 

– पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै के कस्ता योजनाहरु रहेका छन् ?
म्याग्दी महोत्सवको प्रचारले नै आन्तरिक पर्यटन बढ्ने हो । हामीले आन्तरीक पर्यटन वृद्धिका लागि प्रयास गरिरहेका छौं । आन्तरिक पर्यटन वृद्धिका लागि कुनै कसर बाँकी नराखी हामी प्रचारलाई अघि बढाइरहेका छौं । मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य तथा महासचिव लगायतको सम्पूर्ण टिम नै यो प्रचारका लागि पनि त्यत्तिकै प्रयासरत हुनुहुन्छ जति पनि म्याग्दी उद्योग वाणिज्य संघसँग सम्बन्धित साथीहरु हुनुहुन्छ, सबैजना यस महोत्सव सफल पार्नका लागि प्रचारप्रसारमै जुट्नु भएको छ ।

– अन्त्यमा केही भन्नु छ कि ?
हाम्रो महोत्सवभन्दा पहिला बागलुङमा पनि महोत्सव आयोजना गरिएको छ । हामी उताको भन्दा पनि हाम्रै महोत्सवका लागि केन्द्रीत छौं । हाम्रो प्रचार पुस १ गतेबाट अझै आक्रामक तबरले जाँदैछ । हामीले पहिलो प्राथमिकता पत्रपत्रिकालाई दिएका छौं प्रचारका लागि । त्यस्तै पर्चा, पम्प्लेट, गाडीमा व्यानर टाँस्ने, गाडीमै अडियो विज्ञापन बजाउने । पत्रकारहरुसँग छलफल गर्ने पनि हामीले गर्दै छौं । र अन्त्यमा, म्याग्दी महोत्सवको बारेमा कुराकानी गर्ने मौका दिनुहुने रुप्सेका मित्रहरु अमृत, सूर्य, सन्दीपलाई विशेष धन्यवाद चाहन्छु ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads