Loading...
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका साक्षर घोषणा


प्रताप बानियाँ  
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका शुक्रबार एक समारोहबीच साक्षर गाउँपालिकाका रुपमा घोषणा भएको छ । गाउँपालिकाको ७ ओटै वडाका १५ देखि ६० वर्ष उमेर समूहका सबै व्यक्तिले अक्षर चिनेर पढ्न र लेख्न सक्ने भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।  
गाउँपालिकाको कुल ९६ दशमलव ५७ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला शिक्षा कार्यालयको संयोजन, धौलागिरि गाउँपालिकाको आयोजना र गुड नेबर्स इन्टरनेशनल, संगम तथा कदम म्याग्दीको सहयोगमा साक्षर घोषणा कार्यक्रम गरिएको छ । 
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले आगामी दिनमा साक्षर घोषणा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले नेपाल सरकारको नीतिअनुसार साक्षर घोषणा कार्यक्रम अघि बढाइएको बताउँदै जिल्लाका ४५ ओटै वडा साक्षर घोषणा भएकाले आगामी माघ ८ गते म्याग्दी जिल्लालाई नै साक्षर जिल्ला घोषणा गरिने जानकारी दिए । 
गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेलले साक्षर घोषणालाई पूर्णरुपमा कार्यान्वयन गर्न सबै जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताए । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ ओटा वडा रहेको म्याग्दीमा शुक्रबार धौलागिरि गाउँपालिकाको ५ मल्कबाङ र ७ नम्बर वडा ताकमलाई साक्षर घोषणा गरिपछि जिल्लाका सबै वडाहरु साक्षर वडाका रुपमा घोषणा भएका छन् । 
आगामी माघ ८ गते म्याग्दी जिल्लालाई नेपालको ३९औं साक्षर जिल्लाका रुपमा घोषणा गर्ने तयारीलाई समेत तिब्रता दिइएको जनाइएको छ । कुल ९६ दशमलव २७ प्रतिशत जनसङ्ख्या साक्षर भएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क रहेको छ । 
कार्यक्रममा स्रोतव्यक्ति गिरीप्रसाद छन्त्यालले गाउँपालिकाको साक्षरता प्रगति विवरण प्रस्तुत गरेका थिएभने गुड नेबर्स इन्टरनेशनलका जिल्ला संयोजक टुपेन्द्र बस्नेत, संगम म्याग्दीका अध्यक्ष दीपक पौडेल, धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, मल्बाङका प्रतिनिधि अमर छन्त्याल र ताकमका वडा अध्यक्ष कलानिधि सुवेदीले मन्तव्य राखेका थिए । 
सोही अवसरमा गाउँपालिका घोषणा कार्यक्रममा सहयोग गर्ने संघसंस्था र विद्यालयलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद शर्माको स्वागत र हेम मावि सिबाङका शिक्षक नेत्र सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads