Loading...
प्रदेशका राजधानी चाँडै तोकिने : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताएका छन् । गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताए ।
‘अबको सरकार कांग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो’, उनले भने । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग प्रहार गरेका छन् । ओलीजी अझै चुनाव सर्छ भनिरहनु भएको होला भन्दै देउवाले व्यङ्ग प्रहार गरेका हुन् ।
‘मैले भर्खर भोट हालें, एमाले अध्यक्ष ओलीले पनि भोट हाल्नु भयो होला’ डडेलधुरामा मतदान गरेपछि देउवाले भने, ‘भोट हालेपछि पनि ओलीजी देउवाले चुनाव सार्दैछन् भनिरहनु भएको होला ।’
निर्वाचन सफलतापूर्वक भएको भन्दै निर्वाचनपछि पनि कांग्रेसकै सरकार बन्ने दावी गरे । ‘कांग्रेसकै बहुमत आउँछ र म नै प्रधानमन्त्री बन्छु’, देउवाले भने, ‘कांग्रेसको बहुमत आउनेमा कुनै शंका छैन ।’
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले रुवाखोला मतदान केन्द्रमा मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले त्यो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन् । मतदानपछि प्रधानमन्त्री देउवा काठमाण्डु फर्किएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads