Loading...
महोत्वसले स्थानिय उत्पादनको बजारीकरण गर्नेछ : गौतम

म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतम सँग कुराकानी गर्दै । तस्बीर : सन्दीप शर्मा

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस २८ गतेदेखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीबजारमा आयोजना हुने म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला–२०७४ को विषयमा म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमसँग म्याग्दी महोत्सवको तयारीका बारेमा रुप्से दैनिकले कुराकानीको सम्पादित अंश ः
– छैटौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको तयारी कस्तो भैरहेको छ ?
म्याग्दी उद्योग वाणिज्य संघको २०७४–०७७ को कार्यकालको पहिलो अग्निपरीक्षाका रुपमा रहेको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला–२०७४ आफैमा एउटा ठूलो उत्सव हो । २०७४ कार्तिक २० गते म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षतामा बसेको संघको दोस्रो पूर्ण वैठकले म्याग्दी महोत्सव गर्ने निर्णय एक मतका साथ गरिएको हो । गत कार्तिक ११ गतेको दशौं अधिवेशनले एउटा गतिशिल नेतृत्व चयन गरेको छ जसका कारण म्याग्दी महोत्सव आफैमा एउटा ऐतिहासिक हुने विश्वास हामीमा पलाएको छ । विगतका महोत्सवहरुका अनुभव, जुझारु टिमवर्क र दृढ विश्वासका कारण महोत्सव उत्कृष्ट हुनेछ । हामीले महोत्सवका लागि खुल्ला लोकदोहोरीगीत प्रतियोगिता, खुल्ला सामूहिक लोकनृत्य प्रतियोगिता, पहिलोपटक रत्यौली गीत प्रतियोगिता, रमाइलो मेला, ¥याफ्टिङ, लठो तान्ने, अन्धनिशान, छेलो आदि कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भैसकेको छ । यसका लागि हामीले लोकदोहोरीगीत प्रतियोगिताका लागि नेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीसँग समन्वय भएको छ । हाम्रो उद्देश्य नै स्थानीय लोक संस्कृतिको जगेर्ना गर्ने भएकाले त्यसतर्फ ध्यान दिएका छौं । 
म्याग्दी उद्योग वाणिज्य संघले रमाइलो मेलाका लागि मंसिर ८ गते रमाइलो मेलासँग सम्झौता गरिसकेको छ । रमाइलो मेलाले २०० वटा स्टल निर्माण गरिदिने र उक्त स्टलमा एउटा टेबल र २ वटा कुर्सी उपलब्ध हुनेछ । रमाइलो मेलाले आयोजकलाई १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने छ । महोत्सवका लागि स्टल बुक गर्नेहरु आउन थालिसकेको र अहिलेसम्म १० वटाभन्दा बढी स्टलहरु बुक भैसकेको छ । सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमका लागि बाद्यवादन टोलीसँग सम्झौता भैसकेको छ । हामीले महोत्सवका लागि द्विपक्षीय सम्झौता गर्नुपर्ने प्रायः सबैसँग सम्झौता गरेका छौं । प्रायोजक तथा सह–प्रायोजकका लागि प्रस्तावना पेश गर्ने काम तीव्र गतिमा अगाडि बढिरहेको छ । महोत्सवलाई प्रभावकारी बनाउनका लागि विभिन्न ३७ वटा उप–समितिहरु गठन गरी ती उप–समितिले आ–आफ्नो काम थालेका छन् । गत म्याग्दी महोत्सवमा जस्तै यसवर्ष पनि ¥याफ्टीङका लागि ५० हजार रुपैयाँमा सम्झौता भैसकेको छ ।
– ४ नं. प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७४ नै किन भनियो ?
नेपालमा संघीयतासहितको २०७२ सालमा जारी भएको संविधानले नेपाललाई विभिन्न ७ वटा प्रदेशमा विभाजन गरेको छ । हामीले विगतका वर्षहरुमा सञ्चालन भएका महोत्सवहरुलाई पश्चिमाञ्चल क्षेत्रीय महोत्सव भनेका थियौं । तर, अब मुलुकको संघीय संरचना अनुसार चल्नकै लागि यसलाई ४ नम्बर प्रदेशस्तरीय महोत्सवका रुपमा सञ्चालन गर्न लागिएको हो ।
– महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
म्याग्दी उद्योग वाणिज्य संघ उद्योगी व्यापारीहरुको साझा संस्था हो । यो संस्था उद्योगी तथा व्यापारीहरुको हकहितको पक्षमा काम गर्ने उद्देश्यले गठन भएको हो । स्थानीय उत्पादनलाई ४ नम्बर प्रदेशभित्र मात्र होइन नेपालभर र विदेशमा पनि निर्यात गर्नका लागि एउटा कोषेढुङ्गा सावित होस् म्याग्दी महोत्सव भन्ने पनि हो । साथै मुलुक संघीय संरचनामा गैसकेको हुँदा त्यसैतर्फ केन्द्रीत हुनु पनि हाम्रो ध्येय रहेको छ । म्याग्दी जिल्लामा रहेका ६ वटा स्थानीय तहका आ–आफ्ना उत्पादनहरुलाई स्थानीय तहको सिफारिससहित आएको खण्डमा निःशुल्क स्टलको व्यवस्था म्याग्दी उद्योग वाणिज्य संघले गर्नेछ । लघु तथा घरेलु उत्पादनका स्टल पनि निःशुल्क नै हुनेछन् । स्थानीय उत्पादनको प्रवद्र्धन, कृषि उद्यमको प्रचार, कलाको संरक्षण, उद्योग व्यापारको विकास र विस्तारका साथै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारीकरण गर्नका लागि पनि यो पहलकदमी हुने हाम्रो उद्देश्य हो । साथसाथै हामी यो कुरा पनि क्लियर गर्न चाहन्छौं कि, महोत्सव स्टलमा २०० स्टलमध्ये १५ वटा स्टल होटल व्यवसायका रहने छन्भने अन्य सबै उद्योग व्यापारका रहने छन् ।
– महोत्सवको अवधिमा सुरक्षाको प्रबन्ध कसरी मिलाइने छ ?
म्याग्दी महोत्सव पूर्णरुपमा सुरक्षित हुने कुराको हामी सबैलाई विश्वास दिलाउन चाहन्छौं । सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयसँग आवश्यक समन्वय भैरहेको छ । त्यसमाथी हाम्रो सुरक्षासम्बन्धी स्वयंसेवकहरु पनि परिचालन गर्नेछौं । यसका साथै पर्वत जिल्लामा रहेको चण्डीका गणसँग समन्वय गरेर थप सशस्त्र प्रहरीको पनि केही फोर्स त्यस अवधिका लागि पठाउन आग्रह गर्ने हाम्रो योजना रहेको छ । महोत्सवस्थल यसपटक सिसी क्यामेराको निगरानीमा हुनेछ । सबै स्टलको बीमा हुन्छ । आन्तरिक राजश्व कार्यालयको परामर्शसहित अस्थायी कर अनुमति लिएर महोत्वस नै दर्ता गरेर आयोजना गर्न लागिएकाले पनि यो पूर्णरुपमा सुरक्षित छ भन्नुपर्छ । विगतका वर्षहरुमा जस्तै यसवर्ष महोत्वसमा करिब ६ करोडको कारोबार हुने अनुमान गरिएको छ ।
– महोत्सवमा कुनकुन खेलकुद प्रतियोगिताहरु आयोजना गरिँदैछ ?
राष्ट्रिय खेलको मान्यता पाएको भलिबल प्रतियोगिता मुख्य आकर्षण हो, यस वर्षको महोत्सवमा खेलकुदतर्फ । हामीले धौलागिरी क्षेत्रभित्रका स्थानीय तहस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिरहेका छौं । यसवर्ष पुरुष भलिबलतर्फ पहिलो पुरस्कार ७७ हजार ७ सय ७७ पहिलो र ४४ हजार ४ सय ४४ दोस्रो पुरस्कार राखेका छौं । त्यस्तै महिला भलिबलतर्फ पहिलो ४४ हजार ४ सय ४४ र दोस्रो २२ हजार २ सय २२ रुपैयाँको पुरस्कार राखेका छौं । खेलकुद प्रतियोगिता आयोजनाका लागि जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरिएको छ । यसैगरी बास्केटबल प्रतियोगितामा पहिलो पुरस्कार ३३ हजार ३ सय ३३ र दोस्रो २२ हजार २ सय २२ रहेको छ । अन्य खेलकुदमा छेलो फ्याँल्ने, लठो तान्ने, अन्धनिशानलगायत रहेका छन् ।
– कला क्षेत्रलाई कुन तबरले समावेश गरिँदैछ ?
कला क्षेत्रको कुरा गर्दा म्याग्दी महोत्सवको मुख्य आकर्षण भनेको लोकदोहोरी नै हो, र यसपटकको महोत्सवमा रत्यौली गीत प्रतियोगिता, सामूहिक लोकनृत्यलाई पनि समावेश गरेका छौं । यसपटक स्थानीय ठेट लोक संस्कृतिका कुराहरुलाई पनि महत्वका साथ समेटिने कुरामा म्याग्दी महोत्सवको मूल आयोजक प्रतिबद्ध छ ।
– सञ्चार क्षेत्रसँग कसरी समन्वय गर्ने योजना बनाउनुभएको छ ?
हामीले सञ्चारमाध्यमलाई नै पहिलो प्राथमिकताको क्षेत्रका रुपमा लिएका छौं । त्यसैले त हामीले शुरुमै जिल्लाका क्रियाशिल पत्रकारहरुसँग समन्वय गर्दै पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव आयोजनाको बारेमा यसअघि नै जानकारी गराइसकेका छौं । आगामी दिनमा सबै सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको अपनत्व हुनेगरी म्याग्दी उद्योग वाणिज्य संघले आफ्ना कार्यक्रमहरु अगाडि बढाउने छ ।
– उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको भावी योजनाहरु के–के छन् ?
म्याग्दी उद्योग वाणिज्य संघको आगामी तीनवर्षे कार्यकालका लागि तीनवर्षे कार्ययोजना बनाएर प्रत्येक गाउँपालिकाहरुमा इकाई गठन गर्ने, आफ्नो समस्या आफै हल गर्ने उद्देश्यले विभिन्न क्षेत्रका व्यवसायीहरुलाई समेटेर बस्तुगत संघ गठन गर्ने, जिल्लामा रहेका घरेलु तथा साना उद्योगहरुको संरक्षण तथा प्रवद्र्धन गरी उत्पादनमुखी बनाउने, आन्तरिक एवं बाह्य पर्यटकहरु भिœयाउनका लागि उपयुक्त वातावरण सिर्जना गर्ने जिल्लाका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको प्रचारप्रसार गर्ने योजनाहरु रहेका छन् । यसैगरी व्यवसायीहरुका समस्या पहिचान गरी उनीहरुको समस्या समाधानका लागि तालिम, गोष्ठी तथा कर शिक्षासम्बन्धी अभिमुखीकरण गराउने र विशेष गरी विगतमा उद्योग वाणिज्य संघले जनप्रतिनिधि नहुँदा कैयौं विकासे कामहरु गरेको जगजाहेर नै छ । तर, आगामी दिनमा जनप्रतिनिधिहरुसँग आवश्यक समन्वय गरी व्यवसायीप्रति केन्द्रीत भएर उनीहरुको हकहितका कार्यलाई मुख्य प्राथमिकतामा राखी काम गर्ने योजना रहेको छ । 
– अन्त्यमा केही भन्नु छ कि ?
म्याग्दी उद्योग वाणिज्य संघ र म्याग्दी महोत्सवको बारेमा कुराकानी गर्ने मौका दिनु भएकोमा रुप्से दैनिक र रुप्सेबाट यहाँ कुराकानीका लागि आउनुभएका अमृत बास्कुने, सूर्य तिवारी, सन्दीप रिजाल, बिकल कडेललगायतका सम्पूर्ण युनिटलाई धन्यवाद दिन चाहन्छु । महोत्वसलाई सबैले चासोका साथ हेर्नुभएको छ । त्यसैले यसपटकको महोत्सवमा हामीहरुले सोचेको भन्दापनि उत्साह धेरै दिनुभएको छ । त्यसकारण महोत्सवलाई सफल पार्नका लागि सहयोग गर्ने तथा म्याग्दी उद्योग वाणिज्य संघलाई मायाँ गर्ने सबैलाई धन्यवाद । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads