Loading...
दक्षिणको भर पर्दा भड्खालोमा लोकतान्त्रिक गठबन्धन

Image result
डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ स्थित असिग्राम मावि, रुवाखोला केन्द्रबाट मतदान गरेर फर्किंदै गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको तस्बिरले दुईवटा सन्देश दिन्थ्यो ।

पहिलो, उनी अब बूढेसकालमा प्रवेश गरिसकेका छन् । र, दोस्रो, २६ वर्षयताका नौ वटा चुनावमा मत खसालेको विद्यालय र त्यहाँसम्म पुग्ने बाटो अहिलेसम्म उस्ताको उस्तै छ ।
त्यसैले हुनुपर्छ, देउवाले देशभर घन्काएको कम्युनिस्टविरोधी नारा र समृद्धिको आश्वासन यसपालि मतदाताले पत्याएनन् ।
कांग्रेस देब्रे कि दाहिने ?
अहिलेको यक्ष प्रश्न हो यो । के कांग्रेस दक्षिणपन्थी पार्टी हो ? प्रजातान्त्रिक समाजवादको वकालत गर्ने कांग्रेस त ‘सेन्टर टु लेफ्ट’ अर्थात् वामपन्थतिरै झुकाव राख्ने पार्टी हुनुपर्ने हो ।
एमाले र माओवादीले चुनावी गठबन्धन गर्दैगर्दा देउवाको नेतृत्वमा मुलुकभरका कांग्रेसहरुले कम्युनिस्ट अधिनायकवाद आउँदै गरेको नारा लगाए । सिद्धान्ततः आफैं वामपन्थी रहेको दलले अर्को वाम गठबन्धनको अधिनायकवादको कुरा गर्नु आफैंमा हास्यास्पद थियो ।
दलाल पूँजीवादमा अभ्यस्त भइसकेका कांग्रेस नेताहरुले आफ्नो सिद्धान्त नै बिर्सिसकेको आभाष यसअघि पनि नहुने गरेको होइन ।
एमाले र माओवादी सम्मिलित सरकार आएमा रुन, हाँस्न पनि पाइँदैन भन्नेजस्तो हलुका टिप्पणी गरेर देउवाले आफैंलाई उपहासको पात्र बनाए
कम्युनिस्ट शब्द झुण्ड्याएका दुई दलहरुबीचको चुनावी तालमेललाई निरंकुशतन्त्रको पूर्वाभ्यासका रुपमा व्याख्या गर्दै गर्दा कांग्रेसजनहरुले छुटाए, ती दल प्रजातान्त्रीकरण भइसकेका छन् र अब नाममा मात्र कम्युनिस्ट शब्द बाँकी छ ।
तर, देउवाले न त एमाले र माओवादीहरु कम्युनिस्ट नरहेको बुझाउन सके, न कांग्रेस वामपन्थी रुझान बोकेको दल हुनुपर्ने हेक्का नै राखे ।
अझ, दुवै दललाई प्रजातान्त्रिक धारमा समाहित गर्न कांग्रेसले नेतृत्व लिएको र अब कम्युनिस्ट नै नरहेको बुझाउनुपर्ने कुरामा कांग्रेसका नेता/कार्यकर्ताको ध्यानै पुगेन ।
एमाले र माओवादीहरु तानाशाही कम्युनिस्ट पन्थमा रहँदै नरहेको  विषयलाई भण्डाफोर गर्नबाट चुके, देउवा । उल्टै, एमाले र माओवादी सम्मिलित सरकार आएमा रुन, हाँस्न पनि पाइँदैन भन्नेजस्तो हलुका टिप्पणी गरेर देउवाले आफैंलाई उपहासको पात्र बनाए ।
०६३ सालयता नै जनताले अन्तरिमकालसहित ६ पटक माओवादीलाई सत्तामा पाइसकेका छन् । तीमध्ये तीनपटक त कांग्रेस पनि सत्ता सहयात्री थियो । एमाले र माओवादीबीच चार पटकसम्म सत्ता गठबन्धन भएको थियो ।
त्यस क्रममा नआएको अधिनायकवाद भविश्यमा पनि आउला भनेर जनताले कसरी पत्याउने ? कांग्रेस नेताको कुरा जनताले पत्याएनन् ।
अझ, ज्योतिषिले आफूलाई ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताउँदै आफूलाई जनतामा विश्वास नै नभएको सन्देश दिए, देउवाले । कांग्रेस होइन, देउवाचाहिँ दक्षिणपन्थी देखिए ।
भारतीय कित्ताको पराजय !
चुनावको मुखैमा बूढीगण्डकी बहुउद्देश्यीय परियोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवा (गोजोपा) सँगको सम्झौतापत्र रद्द गर्नुको अर्थ के थियो ? सीधा जवाफ हुन्छ, आफूलाई चुनावको मुखमा भारतीय कित्तामा उभ्याउने ।
‘गेजुवासँग सम्झौता गर्दा पनि देउवाको पार्टी सरकारमा थियो र रद्द गर्दा उनी नै प्रधानमन्त्री थिए,’ अनौपचारिक कुराकानीमा एक चिनियाँ अधिकारी भन्छन्, ‘उनले आफूलाई भारतीय कित्तामा उभ्याएकै कारण यसपटकको निर्वाचनमा लज्जास्पद पराजय बेहोर्नुपरेको हो ।’
अर्थात्, नेपालमा भारतीय ‘लबी’ स्वतः अलोकपि्रय हुन्छ भन्ने कुरामा चिनियाँहरु जानकार छन् । यही कुरा नेपाली कांग्रेसको नेतृत्वले बुझेन ।
डेढ वर्षयता देउवाको बाह्य साँठगाँठको विश्लेषण गर्नु यहाँनेर सान्दर्भिक हुन सक्छ ।
०७३ सालमा १० दिने भ्रमणमा शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । १५ वैशाख ०७३ मा उनी स्वदेश फर्केलगत्तै तत्कालीन केपी ओली सरकार संकटमा पर्‍यो । तत्कालका लागि ओली सरकार अडिए पनि अर्को चार महिनामै फेरि धर्मरायो ।
र, त्यतिबेलाको विपक्षी दल कांग्रेससहितको गठबन्धनले २० साउन ०७३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायो । त्यतिबेलाकै सहमतिअनुसार देउवाले २३ जेठ ०७४ मा चौथोपटक सत्ताको बागडोर सम्हाले ।
त्यतिबेला देउवाले भारत भ्रमण गर्नुको उद्देश्य पत्नी आरजुको कम्मरको शल्यक्रिया थियो । तर, त्यही बाहानामा आरजुले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेटघाट मात्र होइन, बैंगलोर, गुजरातलगायत शक्तिपीठहरूको दर्शन गर्दै पीठाधीशहरुसँग पनि भेटेकी थिइन् ।
काञ्ची कामकोठी पीठका शंकराचार्य जयन्द्र सरस्वतीमार्फत् उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध कसिलो बनाइन् ।
अहिले कांग्रेसको लज्जाजनक हारमा पूर्णरुपमा भारतीय कित्ताको उभ्याइले पनि भूमिका निर्वाह गरेको विश्लेषण कांग्रेसजनहरुको छ
५ मंसिर ०७३ मा कैलाली धनगढीमा आयोजित धर्म सम्मेलनमा शंकराचार्यले त्यसबारे रहस्य खोले । त्यही समयदेखि हो, आरजुमा पनि प्रत्यक्षतर्फबाट निर्वाचित हुने महत्वाकांक्षा पलाएको ।
पत्नीले समातेको भारतीय डोरीमै झुण्डिन देउवाले पनि उपयुक्त ठाने । र, यसअघिको अमेरिकी-युरोपेली ‘लवी’ छाडेर भारतीय लगनगाँठोमा उनी कस्सिए । यसअघिसम्म देउवालाई भारतसँग भन्दा पश्चिमासँग निकट मानिन्थ्यो ।
२६ कात्तिक ०७३ मा दक्षिण-पश्चिमको तटीय शहर गोवामा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र हिन्दु धर्मगुरुहरुसँगै तिब्बती निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ सांगेसँग मञ्च साझेदारी गरेको देउवाको तस्वीरले तहल्का मच्चाएको थियो । आफू भारतीय ‘लवी’मा प्रवेश गरेको सन्देश दिँदै गर्दा देउवाले नेपालको एक चीन नीतिसमेत बिर्सिए ।
र, त्यही विन्दुमा उनले उत्तरी छिमेकी चीनलाई नराम्ररी चिढ्याए । कांग्रेस मन्त्रीहरुको असहमतिका बावजुद तत्कालीन प्रधानमन्त्री दाहालले चीनको वान बेल्ट वान रोड (ओबीओआर) परियोजनामा हस्ताक्षर गर्ने निर्णय लिएको कुरा कतै छिपेको छैन । दाहाल सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले काठमाडौं आएका चिनियाँ अधिकारीहरुलाई भेटसम्म नदिएर अपमानित गर्न पनि पछि परेका थिएनन् ।
तत्कालीन केपी ओली सरकारले चीनसँग गरेका सम्झौताहरु कार्यान्वयन र दुवै छिमेकीसँग व्यापार र पारवहनको सहजता हुने आशामा रहेका जनताको भावनाको कदर गर्न उपयुक्त ठानेनन्, देउवा र उनका अनुयायीहरुले ।
एमाले अध्यक्ष ओलीको सरकार ढालेर कांग्रेस-माओवादी गठबन्धन तयार पार्दै गर्दा उनले पार्टीलाई पूर्णरुपमा भारतीय कित्तामा धकेलिदिए । नेपालमा भारतीय कित्ता बिक्दैन भन्ने बुझ्न स्थानीय तहमा भएको लज्जास्पद पराजय पनि काफी भएन उनका लागि ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखैमा बूढीगण्डकी आयोजना निर्माण सम्झौता रद्द गरेर आफू सोही कित्तामा रहेको जनाउ देउवाले दिएका थिए । अहिले कांग्रेसको लज्जाजनक हारमा पूर्णरुपमा भारतीय कित्ताको उभ्याइले पनि भूमिका निर्वाह गरेको विश्लेषण कांग्रेसजनहरुको छ ।
अराजनीतिक शैली, कमजोर प्रस्तुती
कैलाली-५ मा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेकी डा. आरजु राणा स-साना कोणसभा र घरैमा भेटघाटमा सीमित थिइन् । त्यसबाहेकको उनको उपस्थिति स्थानीय होटेल डिभोटीमा हुन्थ्यो, जहाँ व्यवसायी, जिल्लाका उच्च पदस्थ कर्मचारीलगायत भेला गराएर मत माग्ने गर्थिन् । थारु समुदायका भलमन्साहरु पनि सोही होटेलमा आरजुसँग भेटघाट गरिरहेका थिए ।
अर्थात्, उनी निर्वाचन क्षेत्रमा उम्मेदवारका रुपमा नभई प्रधानमन्त्रीकी पत्नीका रुपमा प्रस्तुत भइरहेकी थिइन् । ‘म नै राज्य हुँ’ भन्ने सिद्धान्त उनले चुनाव प्रचार-प्रसारमा पनि प्रयोग गरिरहेको महशुस हुन्थ्यो । मतदाता भने उनी घरआँगनमा नझुल्किएमा गुनासो गरिरहेका थिए ।
आफू सानो घेरामा रमाइरहेको र मतदातामाझ अन्तक्रिर्या कम भएको महशुस उनलाई पटक्कै देखिँदैनथ्यो । त्यसभन्दा ठूलो गल्ती त उनले असन्तुष्ट रहेका पुराना नेता पुष्करनाथ ओझालाई आफैं भेटेर कुरा नगर्नु थियो । टिकट लिएर जानासाथ उनको पहिलो कर्तव्य नै ओझालाई भेट्नु हुन्थ्यो । किनभने, ओझाजस्तै नेताहरुले कांग्रेसको संगठन बचाइदिएका कारण आरजुले त्यस क्षेत्रमा चुनाव लड्ने आँट गरेकी थिइन् । तर, यसको उल्टो आरजूले ओझालाई चुनावपछि पार्टीले कारवाही गर्ने बताइन् ।
प्रधानमन्त्री देउवाले कणर्ाली पुलदेखि पश्चिमका खोलानालामा २२ वटा पुल निर्माण गरेको तथा पूर्व-पश्चिम राजमार्गको चिसापानी-अत्तरिया खण्ड निर्माणमा अग्रसरता लिएको विषयलाई कांग्रेसका तीन नेताले आफ्नो चुनावी एजेन्डा बनाएका थिए । उनीहरु थिए- डा. आरजु, रमेश लेखक र एनपी साउद ।
ती पुल र राजमार्ग खण्ड निर्माण गरेको विषयलाई भँजाएर देउवाले ०४८ सालयता लगातार डडेलधुरा, कञ्चनपुर र कैलालीमा चुनाव जित्दै आएका छन् । त्यो बाहेक मतदाता खुशी पार्ने नयाँ एजेन्डा अगाडि सार्न कैलाली र कञ्चनपुरका कांग्रेस नेताहरु असफल भएको झल्को मिल्छ यसबाट ।
जस्तो- कांग्रेसको पकड मानिएको कञ्चनपुरको चाँदनी-दोधारा क्षेत्रमा देउवाका विश्वासपात्र रमेश लेखकले जम्मा डेढ सय मत बढी ल्याए । त्यहाँ २५ सयदेखि तीन हजार मत बढी आउने अपेक्षा कांग्रेसको थियो । यसअघि ०५१ सालमा एमालेका उर्वादत्त पन्तले पाँच सय ५० मत ल्याउँदा कांग्रेसले करिब पाँच हजार मत ल्याएको थियो, चाँदनी-दोधारामा ।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले स्वतः कञ्चनपुर-२ मा चुनाव जित्ने आँकलन पनि विफल देखियो । अव्यवस्थित बसोबासी र सुकुम्बासीको मत आकषिर्त गर्न उनी असफल रहे । शिविरहरुको करिब २२ हजार मतमध्ये अधिकांश एमालेका नरबहादुर धामीका पक्षमा गएको देखियो । ०७० सालमा साउदले सुकुम्बासीलाई हातमा लिन सकेकैले जितेका थिए ।
बझाङको कुरा बेग्लै छ । एमालेभित्र अन्तर्घातको सम्भावना धेरै देखिन्थ्यो, टिकट वितरणमा असन्तुष्टिका कारण । तर, भइदियो उल्टो, कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहविरुद्ध अन्तर्घात भयो । र, एमाले उम्मेदवार सात हजार सात सय दुई मतको अन्तरले जिते । कांग्रेसको सबै मत उनको पक्षमा आएको भए एमाले उम्मेदवारसँग उनको कडा प्रतिस्पर्धा हुन सक्ने आँकलन थियो ।
मोरङमा कांग्रेसले आशा गरेको क्षेत्र थियो, डा. शेखर कोइराला उम्मेदवार बनेको निर्वाचन क्षेत्र नम्बर ६ । तर, उनी ६७५ मतान्तरमा पराजित भए, एमालेका सादगी नेता लालबाबु पण्डितसँग । तत्कालीन लोकतान्त्रिक फोरमको पकड क्षेत्र मानिएको बूढीगंगा गाउँपालिकाको मत उनले कमै प्राप्त गरे ।
स्थानीय कांग्रेस नेताहरुको बुझाइमा डा. कोइरालाले यसअघि चुनाव जितेकै क्षेत्रको पनि मत बिगि्रयो । उनको पक्षमा खस्ने आशा गरिएको करिब पाँच हजार मत पण्डितले पाएको आँकलन उनीहरुको छ ।
अमृत अर्यालको पकड रहेको मानिएका विराटनगर-१२ र उनको घर भएको इलाका डा. शेखरको क्षेत्रमा परे, जहाँ डा. शेखरसँग असन्तुष्ट जमात ठूलो थियो । रमेशजंग रायामाझीलाई डा. शेखरको ठाउँमा टिकट दिएको भए पाँच हजार मतले उनी विजयी हुने स्थानीय कांग्रेस नेताहरुको आकलन छ ।
सोही कारण डा. शेखरलाई मोरङ-२ बाट चुनाव लड्न आग्रह पनि गरेका थिए, स्थानीय नेता/कार्यकर्ताले । उनले नमानेकाले पराजय बेहोरे ।
अर्का नेता महेश आचार्यले चुनाव जित्ने विश्वास जिल्लाका कांगे्रेसजनमा थिएन । किनभने, निर्वाचन क्षेत्रमा नटेक्ने, कार्यकर्तालाई नभेट्नेलगायत गुनासा थिए, आचार्यसँग । प्रदेशतर्फको सिटमा सम्धीलाई टिकट दिलाउँदा उनीप्रतिको आक्रोश अझ फराकिलो बन्यो ।
बरु, विवादित व्यक्ति नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले मोरङ ३ मा ४० हजार मत कटाए । र, १९ सय मतले हारे एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकालसँग हारे । तर, मोरङ ३ पनि कांग्रेसले पहिले जितेको क्षेत्र थियो, त्यो पनि गुम्यो ।
नाम मात्रको गठबन्धन, युवा नेता पाखा
खासमा, कांग्रेसले आफ्नो नेतृत्वमा घोषणा गरेको लोकतान्त्रिक गठबन्धन नाम मात्रको थियो । त्यसमा सहभागी राप्रपाले झापामा कृष्णप्रसाद सिटौलालाई हरायो र अर्को क्षेत्रमा एमाले अध्यक्ष ओलीलाई जितायो ।
राप्रपा अध्यक्ष कमल थापालाई भने कांग्रेसका मतदाताले पछ्याए । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले उनलाई मात्रै जिताउन कांग्रेसको साथ लियो । अन्यत्र कांग्रेसविरुद्धमै उम्मेदवार उठायो ।
राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग कांग्रेसको तालमेल पनि बेअर्थको बन्यो । राजपा अध्यक्ष महन्थ ठाकुरलाई कांग्रेसले सघाउँदै गर्दा धनुषामा सोही पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो कांग्रेस नेता विमलेन्द्र निधिका लागि महंगो सावित भए । राजपासँग गठबन्धनका कारण कांग्रेसलाई लाभ पुगेको कतै देखिएन ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन कांग्रेसको भूमिका रह्यो । उक्त पार्टीले सघाएकाले कांग्रेसका उम्मेदवारले जितेको देखिएन ।
खासमा, कांग्रेसले आफ्नो नेतृत्वमा घोषणा गरेको लोकतान्त्रिक गठबन्धन नाम मात्रको थियो । त्यसमा सहभागी राप्रपाले झापामा कृष्णप्रसाद सिटौलालाई हरायो र अर्को क्षेत्रमा एमाले अध्यक्ष ओलीलाई जितायो
खासमा, गठबन्धनमा सहभागी दलहरुले आ-आफ्नो फाइदाका लागि कांग्रेसलाई उपयोग गरे । देउवाले पार्टीलाई उपयोग हुन दिए ।
अन्य दलसँग नाम मात्रको गठबन्धन गर्दै गर्दा कांग्रेसले आफ्ना युवा नेताहरुलाई जिम्मेवारी दिन उपयुक्त ठानेन । सुरेन्द्र पाण्डे, गुरुराज घिमिरे, बद्री पाण्डे, धनराज गुरुङ, विनोद कायस्थलगायत युवा नेताले प्रतिनिधि र प्रदेश सभा दुवैतिर टिकट पाएनन् । टिकट पाएर जित्ने भाग्यमानी युवा गगन थापा मात्र देखिए ।
‘सबै परिणाम आइसकोस् अनि कांग्रेसको नेतृत्वबारे मुख खोलौंला,’ पछाडि पारिएका एक युवा नेता भन्छन्, ‘परिणाम आइसकेपछि बैठक र समीक्षा होला अनि नेतृत्वको असक्षमताबारे प्रश्न उठाउनेछौं ।’
उनको भनाइमा गाउँ-गाउँमा कांग्रेसको संगठन रक्षा गरेर बसेका धेरै नेता/कार्यकर्तालाई टिकट र जिम्मेवारी वितरणमा छुटाइयो । कांग्रेसका अर्का युवा नेता भन्छन्, ‘यसको सुक्ष्म अध्ययन गर्दैछौं, परिणाम आइसकेपछि नेतृत्वको नालायकीपनका दृष्टान्त सार्वजनिक गर्नेछौं ।’
एक कांग्रेस समर्थकले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘यसपटकका उम्मेदवारहरुले कांग्रेसकै डीएनए चिनेनन् र कांग्रेसकै भोट पाएनन् ।’ अर्थात्, मुलुककै पुरानो पार्टी कांग्रेसका रुपमा निर्वाचनमा प्रकट हुन सकेन । र, नैतिक धरातल नै गुम्ने गरी पराजयको सामना गर्न पुग्यो ।
onlinekhabar

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads