Loading...
उद्यमीले अब चिन्ता लिनुपर्दैन : कर्माचार्य

म्याग्दी उद्योग वाणिज्य संघको १०औं अधिवेशनबाट २०७४ कार्तिक ११ गते अध्यक्षमा चयन हुनुभएका उत्तमकुमार कर्माचार्यसँग म्याग्दी उद्योग वाणिज्य संघको आगामी योजनाको बारेमा रुप्से दैनिकले गरेको कुराकानीको सम्पादीत अंश ः

– नयाँ नेतृत्वका साथ आउनुभयो, के छ तीनवर्षे कार्यकालको योजना ? 
मेरो नेतृत्वमा कार्तिक ११ गते चयन भएको यो कार्यकाल चुनौतीपूर्ण पनि छ र सहज पनि छ । जीवनबहादुर विश्वकर्माको नेतृत्वमा रहेको र त्यसभन्दा पहिलाका म्याग्दी उद्योग वाणिज्य संघको अघिल्ला कार्यकाल स्थानीय निकाय नभएको अवस्था थियो र त्यसबखत स्थानीय तहको काम पनि म्याग्दी उद्योग वाणिज्य संघका नेतृत्वमा रहेका साथीहरुले स्थानीय तहको काम पनि गर्नुपरेको थियो । अहिले त्यो अवस्था छैन स्थानीय तह स्थापना भैसकेकाले अब गाह्रो छैन हामीलाई । सामाजिक कार्यप्रति जनप्रतिनिधि नै खट्ने भएकाले अब उद्योगी व्यापारीको हितमै काम गर्न पाइन्छ । म्याग्दीमा ठूला उद्योग नभएको र साना उद्योगलाई पनि अनिश्चित लोर्डसेडिङको कारणले भएको समस्यालाई न्युनीकरणका लागि पहल हुनेछ । नेपाली विदेशी तथा उद्योगी अनि व्यापारीहरुका साथै सबै राजनैतिक दलले भन्ने गरेको म्याग्दी जिल्ला सौन्दर्यको खानी हो र सौन्दर्यको कारण पर्यटन व्यवसाय फस्टाउने खालको छ । यसका लागि बजेट कम छ । हामीसँग पर्यटनका लागि बजेट विनियोजन हुनै सकेको छैन । म्याग्दीका होटलहरुले पनि डाइरेक्सन गर्नुपर्छ र पर्यटन बोर्डसँग समन्वय गरेर यसलाई प्रोत्साहन गर्ने काम पनि थाल्नुपर्ने जिम्मेवारी हामीसँग छ । गतवर्ष पैदल ट्रे्ल सेन्चुरी पदमार्गको विकास गरेको छ । त्यस सेञ्चुरी पदमार्गबाट ७ दिनमा हिमालको काखमा पुगेर फर्कने खालको छ । त्यस सेञ्चुरी पदमार्गको हामीले टान र पर्यटन बोर्ड र नेपाल म्याप हाउससँग मिलेर नक्साङ्कन गर्ने काम पनि भएको छ । त्यस्तै उत्तरी म्याग्दीको घोरेपानी जाने बाटो र बेनी नगरपालिका नजिकै पर्ने टोड्के जाने बाटोलाई पहल गर्नुपर्नेछ । टोड्के क्षेत्र विकास कोषसँग पनि समन्वय गरी टोड्केको विकास गर्नका लागि ३५ लाख रुपैयाँ बजेट पर्यटन बोर्डबाट विनियोजन भएको थियो । उक्त रकमबाट टोड्के जाने बाटो खन्ने काम भएको थियो । पर्यटकलाई लक्षित गरी पैदल हिँड्ने बाटो विस्तार भएको थियो । व्यवसायीहरुको प्रवद्र्धनका लागि हाम्रो समय खर्चिनुपर्ने हो । खासमा व्यवसायीलाई पर्न गएको समस्या भनेको न्युन बिजिकरणले पर्न गएको समस्याप्रति हामी सचेत छौं । न्युन बिजिकरणको समस्या समाधान गर्न नेपाल उद्योग वािणज्य महासंघसँग हातेमालो गर्दै नेपाल सरकारसँग अनुरोध गर्नेछौं हामी । आफ्नो हिसाब चुस्त राख्नका लागि व्यवसायीहरुलाई तालिमको व्यवस्था गरिनेछ ।

– तपाईंको कार्यकालमा उद्योग वाणिज्य संघमा के हुने छ नया“ काम ?
उद्योग वाणिज्य संघ भनेको उद्योगी व्यापारीको साझा संस्था हो र यससँग सबै व्यवसायीको लागि काम गर्ने नै योजना हुन्छ । नगरपालिका क्षेत्रभित्र औद्योगिक क्षेत्र तयार गर्नका लागि नगरपालिकालाई आग्रह गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा कम्तिमा पनि नगरभित्रका पोल्टी र फर्निचरहरुलाई औद्योगिक क्षेत्रभित्र राख्ने सोचका साथ अघि बढिँदैछ । म्याग्दी जिल्लाभित्र धेरै तालिम आयोजना भए तर, व्यवसायिक भएनन् । तालिम आयोजना भए त त्यसपछि त्यो तालिम बेकाम भयो प्रयोगमा आउन सकेन । अब हामीले अल्लो र ढाकामा फोकस गर्ने ३ वर्षे कार्यकालमा भन्ने योजना बनाएका छौं । यदि कहिँकतै ढाका तथा अल्लोको कपडा उत्पादन गरेका र त्यसले बजार नपाएको भए पनि हामीले त्यसलाई बजारसम्म पु¥याइदिनेछौं ।

– “एक जिल्ला एक उत्पादन” कत्तिको फलदायी भैरहेको छ र अब बिस्तारमा कसरी लाग्ने ?
म्याग्दी जिल्लाका लागि टिम्मुर थियो एक जिल्ला एक उत्पादनको रुपमा । त्यो कार्यक्रम २०६८–२०७३ सम्मका लागि थियो अहिले यो फेजआउट भैसक्यो । तैपनि उक्त ५ वर्षे कार्यक्रममा म्याग्दी जिल्लाभित्र २२ हजार ९ सय ५९ थान टिम्मुरका विरुवाहरु वितरण भएका छन् । दग्नाममा नर्सरीको व्यवस्था गरेका छौं ५ वर्षका लािग उक्त नर्सरीले आवश्यकता अनुसार विरुवा उत्पादन गर्छ र अझै पनि केही वर्ष हामी टिम्मुरका विरुवाहरु उपलब्ध गराउनेछौं ।

– म्याग्दीको स्थानीय उत्पादनलाई बजारीकरणका लागि के कस्तो भूमिका हुनेछ ?
धेरै अध्ययन र प्रयास गर्दा पनि हामीसँग अहिले म्याग्दीको ठ्याक्कै यही हो उत्पादन भन्ने केही छैन । तर पनि रुमको स्लेट र जिल्लाका उत्तरी भेकमा रहेको खरी ढुङ्गा नै हो र यो भारतसम्म पुगेको छ । रुमको स्लेटलाई बजार क्षेत्रमा टायलको रुपमा प्रयोग हुँदै आएको छ । त्यस्तै बेगखोलातिर ढुङ्गा कटिङ उद्योग पनि सुरु भएको छ । जिल्लाको उत्पादनका रुपमा बरु ९ सयदेखि एकहजार टिम्मुरका बोटबाट घतान, बराङ्जातिर टिम्मुर उत्पादन भएको छ । अहिले टिम्मुरको बजार समस्या छैन । प्रतिकिलो एक हजार ८ सय रुपैयाँमा बिक्री भैरहेको छ टिम्मुर । हामीले बनाएको सोच नै के हो भने यदी कसैले लघु तथा घरेलु उद्योगबाट उत्पादीत ढाका, अल्लो लगायतका उत्पादनहरु बजारीकरण गर्न समस्या भएको भए पनि उद्योग वाणिज्य संघले बजारसम्म लैजाने व्यवस्था गर्छ । उत्पादीत सामाग्रीहरु त्यसै थन्किनपर्दैन हामी त्यसलाई बजारसम्म पु¥याउँछौ ढुक्क भए हुन्छ साना तथा घरेलु उद्योगीहरु ।

– संघीय संरचनाले व्यापारमा केही प्रभाव पारेको छ, यसको समाधान कसरी खोज्ने ?
होटल व्यवसायीहरुमा एउटा डर थियो जुन बजार क्षेत्रका होटल व्यवसाय घट्ने कल्पना । तर अहिलेसम्म कुनै समस्या छैन । सिजन र अफसिजनमा पनि कुनै समस्या छैन । आधुनिक सुविधासम्पन्न होटलहरुमा कुनै पनि समस्या छैन । यदि सेवा राम्रो दिएमा खासै समस्या छैन त्यो अहिलेसम्म देखिएकै छ । अन्य फेन्सी र खुद्रा व्यापार बजारमा देखिने मात्रामा कम भएको देखिए पनि खासमा व्यापार उस्तै नै छ । गाउँमा बजारकै व्यापारीले लगेर छोड्ने काम भएपछि बजारमा किन्ने कम भयो भन्नु त्यत्ति अत्युक्ति नहोला । त्यसैले व्यापारमा कमी आएको छैन । होटल व्यवसायमा बाह्य पर्यटकमा कमी आए पनि आन्तरीक पर्यटकको बढोत्तरीले गर्दा समस्या देखिएको छैन ।

– अन्त्यमा केही भन्नु छ कि ?
म्याग्दी जिल्लामा पनि नेपालको संविधान–२०७२ ले व्यवस्था गरे अनुरुप ६ वटा स्थानीय तह निर्माण भैसकेका छन् र त्यहाँ स्थानीय जनप्रतिनिधि पनि चयन भैसकेको अवस्था छ । पहिला सम्पूर्ण म्याग्दीका व्यवसायीलाई हामी आफै हेर्ने गरेका थियौं अब ६ वटा स्थानीय तहले त्यस ठाउँका व्यवसायीहरुको हकहितको लागि र स्थानीय तहले बनाउने नीति नियममा सोही स्थानीय तहका व्यवसायीको सहभागिता हुनुपर्छ भन्ने हिसाबले सम्बन्धित स्थानीय तहकै व्यवसायीको संयोजकत्वमा एउटा समिति गठन हुनेछ । त्यस समितिलाई म्याग्दी उद्योग वािणज्य संघले निर्देशित गर्नेछ । उद्योगी व्यापारी, लघु उद्योग लगायतका अन्य कामहरु गर्नका लागि पनि सम्पूर्ण व्यवसायीलाई यसै सञ्चारमाध्यममार्फत यो संघ यहाँहरुकै हकहित र व्यवसाय प्रवद्र्धनका लागि हामी सबैको सहयोगले सञ्चालन भएको हुँदा यहाँहरुलाई पर्न गएको समस्या वा कुनै अप्ठ्याराहरु भए हामीलाई जानकारी गराउन अनुरोध गर्दछु । साथै म्याग्दी उद्योग वाणिज्य संघका बारेमा आफ्ना धारणा राख्ने मौका दिने तपाइको लोकप्रिय सञ्चारमाध्यम कुरा गर्ने वातावरण मिलाइदिने अमृत, प्रताप, विकल लगायतलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट धन्यवाद दिन चाहन्छु । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads