Loading...
‘गुफाको डाँडो’, जहाँ हिमशिखर लहरै हाँसेका हुन्छन् (फोटो फिचर)


प्रताप बानियाँ 

केही अग्लो भाग । गाउँको शिरमा पर्ने चुच्चो आकारको डाँडो । अलिकतिसम्म परेको ठाउँ । डाँडाकाँडाले घेरिएको र लोभ्याउँदो दृश्य । चारैतिर आँखाको नजर घुमाएर मनोरम दृश्यावलोकन गर्न सकिने । आँखै अगाडि सेताम्मे हिमाल अनि बिहानको सूर्योदय र बेलुकापखको सूर्यास्त समेत देखिने । निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देख्न सकिने गुफाको डाँडोले पर्यटकहरुलाई पर्खिरहेको छ ।

पर्यटकीय आकर्षणको सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा पर्ने गुफाको डाँडो पर्यटकको पर्खाइमा रहेको छ । पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको कमी र आवश्यक पूर्वाधारको विकास नहुँदा पछाडि परेको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेको गुफाको डाँडो आवश्यक प्रचारप्रसार हुन नसक्दा र भौतिक पूर्वाधारहरुको विकास नहुँदा पछाडि परेको हो । पर्यटकीयस्थलको रुपमा चिनिए पनि गुफाको डाँडोमा विकासका पूर्वाधारले ठाउँ पाउन सकेको छैन । गुफाको डिलका नामले समेत चिनिएको यो डाँडो पर्यटकहरुका लागि निकै आकर्षकस्थल छ । तर पनि विकासका कारण पछिपरेको गुफाको डाँडो डाँडोमै सीमित बन्न पुगेको छ ।
पर्यटकीय र रमणीयस्थल रहे पनि पचारप्रसारको कमी, सहज यातायातको असुविधा र उपयुक्त पदमार्ग नहुँदा गुफाको डाँडो ओझेलमा परेको स्थानीय बासिन्दा बताउँछन् । नेपालमा बाइसे चौबिसे राज्यका पालामा गाजने गाउँमा १४ औँ शताब्दीताका तत्कालीन राजा दिलिप बम मल्ल (डिम्ब) ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको किम्बदन्ती रहेको छ । जगन्नाथ मन्दिरको छुट्टै महत्व र विशेषता भए पनि अहिलेसम्म गाजने गाउँ र गुफाको डाँडो विकासमा कसैको चासो पुगेको छैन् । गुफाको डाँडोमा तीनओटा हेलिकप्टर अट्न सक्ने हेलिप्याडहरु समेत रहेका छन् ।
म्याग्दी सदरमुकाम बेनीबजारबाट ३ घण्टाको पैदल दूरीमा रहेको गुफाको डाँडामा सवारीसाधनमार्फत डेढ घण्टामा सजिलै पुग्न सकिन्छ । समुन्द्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाईमा अवस्थित गुफाको डाँडाबाट माघ, फागनु र चैत महिनामा ढकमक्क फुलेको लालीगुराँसको दृश्य हेर्न पाइन्छ । वन जङ्गलको नजिकै रहेको गुफाको डाँडोमा जुनसुकै समयमा पनि पिकनिक जना सकिन्छ ।
लालीगुराँसको सुगन्ध सुँध्दै धौलागिरी, अन्नपूर्णलगायतका हिमालहरुलाई पृष्ठभूमिमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन सकिने गुफाको डिलबाट देखिने हिमाल र आकाशको दृश्य धर्तीसँग जोडिन लागेको क्षीतिज जस्तो देखिन्छ । प्रसिद्ध जगन्नाथ मन्दिरमा जाने भक्तजनहरु गुफाको डाँडोमा पुग्ने गरेका छन् । मन्दिरदेखि नजिकै रहेको डाँडोमा पुग्दा थकाई मेटिनुका साथै रमाइलो र आनन्दको अनुभूति गर्न पाइन्छ ।

दर्जन हिमालको मनोरम दृश्य

पर्यटकीय सम्भावना बोकेको गुफाको डाँडाबाट दर्जन हिमालहरु देख्न सकिन्छ । संसारकै सातौँ अग्लो धौलागिरी हिमालसहित अन्नपूर्ण पहिलो र दोस्रो, निलगिरी, माछापुर्च्छे, मानपाथी, गणेश, गुर्जालगायतका दर्जन बढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । धौलागिरी हिमालमा मात्रै विभिन्न ६ वटा चुचुराहरु रहेका छन् । गुफाको डिलबाट हिमालको दृश्यसँगै विभिन्न क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
हिमालको साथसाथै गुफाको डाँडोबाट म्याग्दी जिल्लाका साबिकका ४१ गाविसहरुमध्ये ३६ गाविसहरु देखिन्छ । उत्तरी म्याग्दीको कुइनेमङ्गलेको केही भागसँगै चिमखोला, दग्नाम, राखुहुँदै पश्चिमी क्षेत्रको रुम, ओखरबोट, ताकम लगायतका गाउँहरु गुफाको डिलबाट एकै नजरमा हेर्न भ्याइन्छ । यसैगरी छिमकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकासहित बाग्लुङ र अन्य जिल्लाको डाँडाकाँडाहरु पनि देखिन्छन् । यहाँबाट सदरमुकाम बेनी आसपासका क्षेत्र समेत देखिन्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads