Loading...
सबैलाई समान अधिकार नदिए आन्दोलन गर्ने क्षत्री अगुवाहरुको चेतावनी

- प्रताप बानियाँ   

क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा १२औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सुरु भएको छ । ‘राष्ट्रिय अखण्डता र जातिय सद्भावका निम्ती क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल नारासहित साधारणसभा र अधिवेशन सुरु गरिएको हो । 
अधिवेशनको उद्घाटन गर्दै क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. चन्द्रबहादुर थापाले देशका सबै नागरिकलाई राज्यले समान अवसर र अधिकार दिनुपर्ने माग गरेका छन् । उनले नेपालमा सबैभन्दा धेरै क्षत्रीहरु भए पनि राज्यले उपेक्षा गरेको आरोप लगाउँदै देशलाई जातिय द्वन्द्वमा धकेल्न खोजे आन्दोलन गर्ने चेतावनी दिए । उनले आरक्षण जातिय आधारमा नभई वर्गीय हिसाबले दिइनुपर्नेमा जोड दिएका थिए । 
क्षत्री समाज नेपालका संरक्षक एवं निवर्तमान अध्यक्ष प्राध्यापक डा. दिलबहादुर क्षत्रीले प्रतिशतको आधारमा आफ्नो अधिकारको माग गर्दा कोही पनि जातिवादी नहुने बताएका छन् । कार्यक्रममा क्षत्री समाज नेपालका सल्लाहकार समुन्द्र गोदार क्षत्री, क्षत्री समाज म्याग्दीका निवर्तमान अध्यक्ष क्या. मिनबहादुर कार्की र प्रदेशसभाका सांसद विनोद केसीले देश निर्माणमा क्षत्रीको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै राज्यले सबैलाई समान अधिकारी दिनुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा क्षत्री समाज म्याग्दीका सल्लाहकार रुद्रबहादुर केसी, क्षत्री समाज पर्वतका अध्यक्ष नरबहादुर कार्की, तनहुँका अध्यक्ष भरतबहादुर अधिकारी, कास्की उपाध्यक्ष दिलबहादुर अधिकारी, महिला समाज तनहुँका अध्यक्ष शारदा अधिकारी र म्याग्दीका अध्यक्ष भावना पौडेल क्षत्रीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्षत्री समाज म्याग्दीका अध्यक्ष अमृतदेवी बानियाँले संस्थागत, सचिव कृष्णबहादुर बानियाँले प्रगति र कोषाध्यक्ष लक्ष्मी केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष अमृतदेवी बानियाँको अध्यक्षता तथा स्वागत र सचिव कृष्ण बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । अहिले बन्दसत्र चलिरहेको छ भने त्यसबाट समाजको नयाँ कार्यसमिति चयन गरिने बताइएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads