Loading...
सैद्धान्तिक आधार तयार गर्दा मात्र पार्टी एकता सम्भव : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सैद्धान्तिक आधार के हुने भन्ने बहस चलिरहेका बेला एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले दुवै दलले अपनाउँदै आएका सिद्धान्त छाड्नुपर्ने प्रस्ताव गरेका छन् । एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद (जबज)’ र माओवादीले भन्दै आएको ‘माओवाद’ को सिद्धान्त तत्कालका लागि थाती राखेर नयाँ सैद्धान्तिक आधार तयार गर्दा मात्र पार्टी एकता सम्भव हुने उनको धारणा अाजकाे कान्तिपुर दैनिकमा खवर छ ।
‘माओवादीले जबज मान्नुपर्छ भन्ने अडानमा एमाले र एमालेले माओवाद स्वीकार्नुपर्छ भन्नेमा माओवादी रहेसम्म पार्टी एकता हुन सक्दैन,’ नेपाल अध्ययन केन्द्रद्वारा आइतबार राजधानीमा आयोजित ‘वामपन्थी एकताको आधार’ विषयक बहसमा माओवादी नेता श्रेष्ठले भने, ‘माओवाद र जबज दुवैलाई अहिले ड्रप गरेर जानुपर्छ।’ उनले दुवै दलले माक्र्सवाद–लेनिनवादको सिद्धान्त मानेकाले त्यसलाई मूल आधार मानेर नयाँ परिवेशअनुसार कसरी अघि बढ्ने भन्ने सैद्धान्तिक बाटो तय गर्नुपर्ने औंल्याए।
एमालेले अपनाउँदै आएको जबजको सिद्धान्तको मूल आशय लोकतान्त्रिक विधि र शान्तिपूर्ण तबरबाट राज्यसत्तामा पुग्नुपर्छ भन्ने हो। माओवादी सिद्धान्तको मूल आशय राज्यसत्तामा पुग्न बल पनि प्रयोग गर्नुपर्छ र आवश्यक पर्दा सशस्त्र आन्दोलनमा जानुपर्छ भन्ने हो।
नेता श्रेष्ठले ‘जनयुद्ध’ र ‘जनआन्दोलन’ ले नेपालमा गणतन्त्र र संघीयता ल्याएको भन्नेमा दुवै दल सहमत भएकाले यही विन्दुलाई एउटा आधार मानेर संविधानअनुसार बनेपछि समाजवादउन्मुख कार्यक्रम सञ्चालन गर्ने गरी पार्टी अघि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुसालले पनि ‘जबज’ र ‘माओवाद’ कै कारण एउटा उपलब्धिमा पुगिसकेकाले अब त्यसैलाई समातेर बस्न नहुने धारणा राखे। दुवैको जगमा प्राप्त उपलब्धिलाई अझै समृद्ध बनाउने नयाँ सैद्धान्तिक बाटो तय गर्नुपर्ने उनको तर्क छ। ‘एमाले र माओवादी सैद्धान्तिक रूपमा जहाँ पुगेका छन्, त्यहींबाट अघि बढ्ने हो,’ उपमहासचिव भुसालले भने ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads