Loading...
‘महोत्सवमा स्थानीयलाई प्राथमिकता’ : कटुवाल

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ छैटौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला एवं ४ नंं. प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७४ आयोजना गरेको छ । यसै महोत्सवको बारेमा म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं लोकसाँस्कृतिक कार्यक्रम, उद्घोषण र राष्ट्रिय कलाकार व्यवस्थापन उपसमिति संयोजक बेलबहादुर कटुवालसँग रुप्से दैनिकले गरेको कुराकानीको सम्पादित अंश ः


महोत्सवमा आउने कलाकारको लिष्ट तयार भैसक्यो ?
म्याग्दी महोत्सवमा आउने करिब–करिब सबैजसो कलाकारहरुको बारेमा लिष्ट बनिसकेको छ । हामीले यसपटकको महोत्सवमा केन्द्रबाट करिब ३० जना कलाकार ल्याउने भएका छौं । त्यसको लागि तयारी पनि भैसकेको छ र कलाकारहरुले पनि बेनी आउने समय फिक्स पनि गरी सक्नुभएको छ । महोत्सवमा स्थानीय कलाकारको पनि प्रस्तुती रहने छ ।

कस्ता–कस्ता कलाकार आउदै छन् महोत्सवमा ?
यसपटक हामीले सबै क्षेत्रका कलाकारहरुलाई ल्याउने प्रयास गरेका छौं । नेपालका चर्चित सङ्गितकार दिपक शर्मा, सहिमा श्रेष्ठ महोत्सवको पहिलो दिन पुस २८ गते आउनुहुनेछ । २९ गते यसकुमार र नेपाल आइडलका टप ७ भित्रकी प्रमिला राई आउनुहुनेछ । त्यस्तै ३० गते बद्री पंगेनी, कुमार पुन, याम क्षेत्री आउनुहुनेछ । माघ १ गते भद्रगोलका जिग्री र पाँडे अनि लाली बुढाथोकी, २ गते प्रिति आले, प्रकाश सपुत आउने भएका छन् । ३ गते प्रमोद खरेल, ४ गते ऋतु कँडेल, उल्सन श्रेष्ठ, सम्भोज मल्ल, सरिता प्रजापति र एक खुट्टा भएकी कलाकार रोमा न्यौपाने पनि आउँदै छन् । ५ गते रामजी खाँड, पूर्णकला बि.सी. ६ गते भूमिका गिरी, खड्ग गर्बुजा, विष्णु खत्री र ७ गते कस्तुप पन्त, खड्ग गर्बुजा आउने तय भएको छ । त्यस्तै थानेश्वर गौतम, कृष्णा परियार, कृष्ण जिसी, म्याग्दी महोत्सवको उत्पादन मिना सिं, राजेन्द्र सापकोटा, सज्जन बोहोरा, राम गगन, अमित विश्वकर्मा, शान्ता परियार, जीवन कार्की, नकुल ढकाल, ध्रुव जिसी, मिलन बानियाँ, राजेन्द्र भूजेल, पदम विश्वकर्मासँग समन्वय भैसकेको छ र बाँकी स्थानीय कलाकारसँग पनि समन्वय जारी छ र उहाँहरुले पनि स्थान पाउनुहुनेछ । त्यस्तै हाँस्यकलाकार रवि कार्की, राजेन्द्र नेपाली (पोखरेली धुर्मुस), बाबुराम सुवेदी (तीरे), शिव बोहोरा, कर्ण लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।


स्टेजको व्यवस्थापन कसरी हुनेछ ?
उद्घोषणको सन्दर्भमा हामीले स्थानीय तहकै उद्घोषकहरुको प्रयोग गर्ने हो । विगतका महोत्सवहरुमा पनि हामीले स्थानीयलाई नै प्राथमिकता दिएका हौं र त्यो निरन्तरता अहिले पनि हुन्छ । अहिलेको महोत्सवका लागि हामीले सकभर एक दुई दिनका लागि बाहिरबाट पनि पेशेवर उद्घोषक ल्याउने बारेमा पनि सोचिरहेका छौं । त्यस्तै आफ्नो प्रस्तुतीका लागि राष्ट्रियस्तरका चर्चित कलाकारहरुलाई हामीले स्टेज दिने त छँदै छ त्यसपछि हामी स्थानीय कलाकारहरुलाई पनि विशेष प्राथमिकता दिँदै आएका हौ र यसपटक पनि त्यो निरन्तरता हुन्छ ।

अन्त्यमा केही भन्नु छ कि ?
प्रदेश नं. ४ स्तरीय महोत्सव भएकोले यो हामी म्याग्देलीहरु सबैले सफल बनाउनतर्फ सोच्नैपर्छ । म्याग्दी महोत्सव विशेष गरी सुरक्षा निकाय, जिल्ला समन्वय समिति, म्याग्दीका स्थानीय निकायहरु, राजनैतिक दल, संघसंस्था, कलाकार, खेलाडी, पत्रकार, सञ्चारकर्मी, आम नागरिकहरुको महोत्सव हो । यो महोत्सवको अगुवाई म्याग्दी उद्योग वाणिज्य संघले गरेको भएता पनि महोत्सव समग्रमा म्याग्देलीहरुकै हो त्यसैले यस महोत्सव सफल पार्नुपर्ने पनि हामीले नै हो । विगतमा जस्तै यहाँहरुको साथ र सहयोगमा सफल पारेका थियौं । यसपटक पनि यहाँहरुको साथ सहयोग र सकारात्मक सुझावको अपेक्षा राख्दै महोत्सवमा पाल्नु हुन हार्दिक अनुरोध गर्दछौं । साथै रुप्से दैनिक पत्रिकामा आफ्नो भनाइसहित महोत्सव तयारीको गतिविधि राख्ने अवसर दिनुभएकोमा रुप्से टिमलाई विशेष धन्यवाद दिन चाहन्छु ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads