Loading...
प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?

काठमाडौं  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको छ । व्यापक छलफलमा भएका सहमतिका आधारले एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको नेताहरूले बताएका छन् । दुई दलका अध्यक्षबीच भएका भेटमा प्राविधिक कुरामा भएका सहमतिलाई अाज (आइतबार) बस्ने पार्टी एकता संयोजन समितिले मस्यौदा तयार पारेपछि एकता प्रक्रिया तीव्र गतिमा बढ्ने छ ।
अाजकाे जनता पोष्टमा खबर छ-एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकले एकता संयोजन समितिको बैठक राखेर देखिएका अड्चन समाधान गर्न सहमति भएपछि निर्णायक विन्दूमा पुगेको स्राेतकाे दावी छ । ‘अध्यक्षहरूको छलफलले एकता प्रक्रिया अन्तिम विन्दूमा पुगेको छ । दुई पार्टीको विचार र संगठन व्यवस्थापनका लागि कार्यदल बनाएर त्यसले सहमति जुटाउने समझदारी भएकाे एमाले नेता विष्णु पौडेलले बताए ।
यसअघिका अधिकांश बैठक तथा छलफलले एकताका लागि सिद्धान्त, सांगठनिक संरचना, पदीय व्यवस्थापनलगायतका विषयमा ठोस सहमति जुटाउन नसकेका दुवै पक्ष पछिल्ला केही दिनयता एकताका विभिन्न आधारमा नजीक देखिएका छन् । तर, एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषय अहिलेसम्म टुंगो लागेको छैन ।
‘नेतृत्व कस्तो र कति संख्याको बनाउने, गाउँ–नगर, प्रदेश कमिटीहरूको समायोजन कसरी गर्ने र सरकार गठनमा कसरी कार्यविभाजन गर्ने भन्ने प्रश्नमा कार्यदलले सहमति जुटाउँछ,’ पौडेलले भने ।
ओली र प्रचण्डलाई पार्टीको नेतृत्वमा शीर्ष नेतृत्व कायम गर्ने वा  एमालेको हालको पदाधिकारीलाई यथावत राखेर माओवादीबाट केही शीर्षनेताहरू थप्ने भन्ने विकल्पमा पनि नेताहरू परामर्शमा छन् । एमालेको वर्तमान केन्द्रीय कमिटीको संख्यालाई ६० प्रतिशत आधार बनाएर माओवादीबाट ४० प्रतिशत थपेर महाधिवेशन आयोजक कमिटी बनाउने भन्ने विकल्पमा पनि छलफल भइरहेको नेताहरूले बताए । आइतबार एकता संयोजन समितिको बैठकले यस विषयमा निर्णय लिनेछ ।
ओलीसँगकोे छलफलबाट पार्टी एकताको ठोस एजेन्डालाई अन्तिमरूप दिनेगरी आवश्यक तयारी गरिएको माओवादी अध्यक्ष प्रचण्डले बताए । शनिबार ओलीसँगको भेटपछि संवाददातालाई दिएको छोटो प्रतिक्रियामा प्रचण्डले भने,‘संयोजन समितिको बैठक बस्ने सहमति भएको हो । बैठकका एजेण्डा र लिने निर्णयबारे छलफल भएको छ ।’
आइतबार बस्ने एकता संयोजन समितिको बैठकमा प्र्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक प्रतिवेदन बुझाउनेछ । कार्यदलले राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने र जसमा २९ एमाले र १४ माओवादी केन्द्रले पाउने समझदारी भइसकेको छ । माओबादीले प्रदेश ६ र७ मा गरी २ मुख्य मन्त्री र अरू ४ वटा प्रदेशमा सभामुख मागे पनि मुख्यमन्त्री र सभामुखबारे भने सहमति आइतबारै जुट्ने बताइएको छ ।

ओली–प्रचण्डका १७ भेट 
-१७ असोज, राष्ट्रियसभा गृहमा बाम एकता तथा पार्टी एकता गर्ने घोषणा
-८ कात्र्तिक, बालकोटमा चुनावी कमाण्डर तोक्नेबारे
-९ कत्र्तिक,  बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गर्दै चुनाव समयमै गर्न दबाब
-११ कात्र्तिक, बालकोटमा गठबन्धनलाई जिताउन संयुक्त वक्तव्य
-२९ कात्र्तिक, गोरखामा नारायणकाजी श्रेष्ठको चुनावी सभामा
-३० कात्र्तिक, चितवनमा भरतपुर प्रचण्डको चुनावी सभामा
-२ मंसिर, झापामा दमकको ओलीको चुनावी सभामा
-३ मंसिर, झापा बिर्तामोडमा प्रचण्डपुत्र प्रकाशको निधनपछि
-४ मंसिर,  लाजिम्पाटमा प्रचण्ड पुत्रशोकमा रहँदा देउवासँगै
-२९ मंसिर, बालकोटमा राष्ट्रियसभा गठनबारे
-२ पुस, बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गर्दै देउवाको राजिनामा माग
-१२ पुस, बालकोटमा राष्ट्रिय सभा गठन अध्यादेशबारे
-२३ पुस, बालकोटमा एकता संयोजन समितिको बैठक बस्ने तय
-२४ पुस, बालकोटमा कार्यदल गठन
-२६ पुस, बालकोटमा कार्यदललार्ई निर्देशन
-५ माघ, बालकोटमा कार्यदलको प्रतिवेदनमाथि छलफल
-६ माघ, बालकोटमा एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads