Loading...
दृष्टिविहिन दम्पति परिवारलाई जीवन धान्न मुस्किल

- प्रताप बानियाँ/रुप्से दैनिक
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम घरभई हाल पर्वतको जलजला–४ लामाखेत बस्दै आएका दृष्टिविहिन दम्पतीलाई जीवन धान्न धौधौ भएको छ । लामाखेतको धौलागिरि सेलर मिलको एउटा कोठा भाडामा लिएर बस्दै आएका उनीहरुलाई खानलाउन समस्या भएको हो । 
परिवारका मुख्य अभिभावकद्वय श्रीमान्, श्रीमती नै दृष्टिविहिन भएपछि छोराछोरीको लालनपालन र शिक्षादिक्षा तथा खानापानका लागि छाक टार्न उनीहरुलाई समस्या भएको छ । दम्पती दुवैले आँखा नदेख्ने हुँदा दैनिक गुजारा गरेर बिहान बेलुकाको छाक टार्न समस्या हुँदा मागेर खानुपरेको दृष्टिविहिन दम्पतीले गुनासो गरेका छन् । 
चार बहिनी छोरी र एक नाबालक छोरा रहेका उनीहरुको परिवारमा आफ्नो र छोराछोरीको खानपान, शिक्षादिक्षा, लत्ताकपडा लगायतको अभाव भएको छ । दुवै दम्पतीले गीत गाएर ज्यान पाल्ने गरेपनि उनीहरुलाई दैनिक गुजारा गर्न समस्या भएको दृष्टिविहिन सुस्मिता विकले बताएकी छिन् । विभिन्न संघसंस्थाले सहयोगको आशा देखाएको भए पनि सहयोग नगरेको उनले दुःख पोखिन् ।
यसैबीच सहयोगको याचना गरेपछि सोमबार बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ । सहकारीका सञ्चालक, कर्मचारीसहितको एक टोली दृष्टिविहिन दम्पती बस्ने घरमै पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेका छन् । 
सहकारीले १० पाथी चामल, २ पोका चियापत्ती, ६ पोका भूजा, ३ लिटर तेल, ३÷३ केजी चिनी, दाल र नुन, १ दर्जन बिस्कुट, १ पोका मस्यौरा, १ सेट ड्रम, २ थान बल्याङ्केट र नगद एक हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ । उक्त सामाग्री सहकारीका अध्यक्ष ज्योती लामिछाने, उपाध्यक्ष विष्णु गौतम, सहसचिव अम्बिका श्रेष्ठ र प्रवन्धक गिता शर्माले हस्तान्तरण गरेका थिए । 
दृष्टिविहिन विकलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष ज्योती लामिछानेले विगतमा पनि खाद्यान्न सहयोग गरिएको बताइन् । उनले दृष्टिविहिन दम्पतीको स्वास्थ्योपचारका लागि समेत सहयोग गरिएको बताउँदै उनीहरुलाई अझै सहयोगको आवश्यकता रहेको बताइन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads