Loading...
ओली–प्रचण्ड फोन वार्ता, भोलि भेट



एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच टेलिफोन संवाद भएको छ । दुई नेताबीच भोलि भेट गर्ने र एकता संयोजन समितिको बैठक बोलाउने सहमति बनेको छ ।
माओवादीको केन्द्रीय कार्यलयको बैठकमा प्रचण्डले ओलीसँग आज भएको टेलिफोन संवादवारे जानकारी दिएका हुन् । ‘वैठकमा अध्यक्ष प्रचण्डले ओलीजीसँग फोनमा कुराकानी भएको र भोलि भेट गर्ने तयारी भएको जानकारी दिनुभयो ।’ बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले भने, ‘उहाँहरुको भेटपछि एक–दुई दिनमा पार्टी एकता संयोजन समितिको वैठक बस्ने कुराकानी भएको प्रचण्डले बताउनुभयो ।’
ओली र प्रचण्डबीच गत शुक्रबार पनि भेटवार्ता भएको थियो । त्यस अगाडि पुस १२ गते एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालकोटमा भेट भएको थियो । दुई नेताको भेटमा एक–दुई दिनभित्र पार्टी एकता संयोजना समितिको वैठक बस्ने सहमति बनेको थियो । तर, त्यसपछि पनि बैठकको मिति तय हुन सकेको थिएन । जब कि यस अघि पनि पटक–पटक बैठक बस्ने भनिएपनि बस्न सकेको थिएन ।
शक्ति बाँडफाँडको विषय नेताहरुका लागि सवैभन्दा पेचिलो बनेको छ । यही कारण एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक पनि बस्न सकेको छैन । एमालले अध्यक्ष ओलीलाई नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ । माओवादीले ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनुपर्ने अडान राखेको छ ।
एमाले र माओवादीले असोज १७ गते चुनावी गठबन्धन घोषणा गर्दा चुनाव लगत्तै एकता प्रक्रिया अगाडि बढाउने बताएका थिए । तर, ती दुई पार्टीका शीर्ष नेताहरु सम्मिलित एकता संयोजन समितिको वैठक भने बस्न सकेको छैन । गत कार्तिक १५ मा बामदेव गौतमको निवासमा एकता संयोजन समितिको बैठकपछि अर्को बैठक बसेको छैन ।
आजको बैठकपछि प्रवत्ता पम्फा भुसालले एकताबारे आश्चर्यजनक नतिजा आउने बताइन् । ‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो । पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन । तपार्इंहरुले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ’ बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन् ।
माओवादी वैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको छ ।
यसबाहेक बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरु टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनिल मानन्धर रहेका छन् ।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । जसमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads