Loading...
‘म्याग्दी महोत्सव घाटामा जाँदैन’


यही २०७४ पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दी सदरमुकाम बेनीबजारमा म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेलाको आयोजना हुँदैछ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा हुने म्याग्दी महोत्सवमा म्याग्दी उद्योग वाणिज्य संघले एक करोड बराबरको आम्दानी खर्च हुने अनुमान गरेको छ । यही महोत्सवको सन्दर्भमा म्याग्दी उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा म्याग्दी महोत्सवका आर्थिक संयोजक अमित बानियाँसँग रुप्से दैनिकले गरेको कुराकानीको सम्पादित अंश ः

म्याग्दी महोत्सवको अनुमानित आम्दानी खर्चको अवस्था के कस्तो छ ?
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा हुने म्याग्दी महोत्सवमा हाम्रो पहिलाको लक्ष्य भनेको ८५ लाख बराबरको आर्थिक कारोबार हुने थियो भने तर पछिल्लो समयमा हामी १ करोडको आर्थिक कारोबार गर्ने योजनामा छौं । महोत्सव आयोजनाको समयमा करिब ७५ लाख खर्च हुने हामीले अनुमान गरेका छौं । अब हामीले महोत्सव सम्पन्न गरी सक्दा २५ लाख बचत गर्ने योजना रहेको छ ।

स्टल बिक्रीबाट के कति आम्दानी र खर्च हुने अनुमान छ ?
म्याग्दी महोत्सवको सबै स्टलहरु निर्माणको काम रमाइलो मेलाले गरिदिने सहमति भएको छ । रमाइलो मेलाले हामीलाई स्टल निर्माण गरी दिनुका साथै एकलाख ७५ हजार रुपैयाँ नगद दिएको छ । स्टल निर्माणका लागि हाम्रो आर्थिक लगानी हुँदैन सबै रमाइलो मेलाले गरिदिन्छ । हामीले स्टल बिक्रीबाट १५ लाख रुपैयाँ आम्दानीको लक्ष्य हो र त्यसमा हामी सफल पनि हुन्छौं । किनकी हामीले यसपटक स्टलको भाडा रकम अग्रिम नै उठाइसक्यौं । सबैले पेश्की दिनुभएको छ र बाँकी रकम २५ गते भूक्तानी हुन्छ अनि स्टल बाँडफाँड हुन्छ । त्यसैले यसपटक हामी स्टल निर्माण तथा बिक्रीबाट १५ लाख रुपैयाँ भन्दाबडी आम्दानी गर्दैछौं ।

प्रायोजकबाट कति रकम सङ्कलन हुँदैछ यसपटक ?
म्याग्दी महोत्सव सफल पार्नका लागि सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुभएको छ । महोत्सवका लागि प्रायोजक तथा सहप्रायोजकहरुको पनि राम्रो उपस्थिति रहेको छ । म्याग्दी महोत्सव २०७४ का लागि आईएमई ग्रुप र म्याग्दी प्रवासी नेपाली संघ मोनाबाट तीनतीन लाख रुपैैयाँ सहयोग प्राप्त भएको छ । रघुगंगा, अन्नपूर्ण, धौलागिरी, मंगला गाउँपालिकाबाट दुईदुई लाख र मालिका गाउँपालिकाबाट एकलाख ५० हजार रुपैयाँ प्राप्त हुने भएको छ । त्यस्तै बेनी नगरपालिकाबाट ५ लाख रुपैयाँको अपेक्षा गरिएको छ । कृषि आधुनिकरण परियोजनाबाट १ लाख ५० हजार, गोर्खा ब्रुअरी, गरिमा विकास बैंक, प्रभु बैंक लिमिटेडबाट एकएक लाख, रम्बा जनरल फुड्सबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त भएको छ । यसपटक सबैजसो ठूला फर्महरुबाट उहाँहरु आफैले प्रतिबद्धता जनाएको रकम भएकाले कुनै पनि संस्थाहरुबाट बाँकी बक्यौता रहने छैन भन्ने हाम्रो अनुमान हो ।

अहिलेसम्म कति रकम उठ्यो र कति खर्च भैसक्यो ?
अहिलेसम्म ४० लाखभन्दा बडी बोल रकम सहयोग भएको छ भने केही सहयोगदाताहरुले केही रकम बैंक खातामा जम्मा गरिदिनुभएको छ । हामीले साउण्ड सिस्टम, खानेपानी, बिजुली, भिडियो (महोत्सव छायाङ्कन गर्नका लागि), सरसफाई लगायतका शीर्षकमा अलिकति पेश्की दिइसकेका छौं । अहिलेको महोत्सवमा मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थालाई महोत्सवको आधिकारीक वित्तीय संस्था बनाई आर्थिक कारोबार सोही संस्थामार्फत गर्ने र हामीलाई तत्काल आवश्यक पर्ने रकम पनि सोही संघसंस्थाले म्याग्दी महोत्सव आयोजकलाई सापट दिने छन् । टिकट बिक्रीबाट ३५ लाख आम्दानी गर्ने हाम्रो लक्ष्य रहेको छ यसपटकको महोत्सवमा ।

अन्त्यमा केही भन्नु छ कि ?
म्याग्दी जिल्लाको गौरब हो म्याग्दी महोत्सव । यो महोत्सव सफल पार्नु हामी सबैको दायित्व हो । म यस महोत्सवको आर्थिक संयोजक भएको नाताले भन्नुपर्दा आर्थिक रुपमा हामी मुनाफामा हुने गरी नै महोत्सव सञ्चालन हुन्छ । म्याग्दीमा व्यापार बढ्छ नै । आवश्यक सामाग्रीहरु सुपथ मुल्यमा महोत्सवको अवसरमा सर्वसाधारणहरुले किन्न पाउनुहुनेछ भने स्थानीय उत्पादनलाई बजारीकरण गर्न पनि महोत्सवले सहयोग गर्नेछ । महोत्सवको बारेमा कुरा गर्ने मौका दिनु भएकोमा रुप्से सम्पूर्ण टिम र अमृत भाइलाई धन्यवाद दिन चाहन्छु ।

,

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads