Loading...
अबको भावी प्रधानमन्त्री को ओली कि प्रचण्ड ?

एमाले माओवादीले चुनावका लागि जुन लयमा तालमेल गरेका थिए त्यसअनुसार पार्टी एकता प्रक्रिया अघि बढ्न नसकेपछि भावी प्रधानमन्त्री को होला भन्ने प्रश्न उब्जिन थालेको छ । वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने घोषणा गरे पनि पार्टी एकतामा आएको समस्याका कारण प्रचण्ड आफै प्रधानमन्त्री बन्ने हुन् कि भन्ने आशंका जन्मेको छ । 
वाम एकता हुन नदिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेको सार्वजनिक भैसकेको छ । अहिले पनि एमाले बाहेक कांग्रेस, माओवादी, राजपा, संघीय समाजवादी फोरमलाई एक ठाउँमा उभ्याएर प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रस्ताव र प्रयास भइरहेका छन् । 
निर्वाचन आयोगले राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाको समानुपातिक सांसद छनौट गर्न अस्वीकार गरेको विषयलाई समेत एमालेबाहेकको सरकार बनाउने खेलका रुपमा कतिपयले अथ्र्याएका छन् । कांग्रेसले प्रचण्डलाई पाँच वर्ष सरकारको नेतृत्व गर्न औपचारिक प्रस्ताव नै राखेको छ । तर, सार्वजनिक कार्यक्रममा भने दाहालले अहिले सरकार निर्माणको वाम गठबन्धनको विकल्प सोच्न नसकिने पटकपटक बताउँदै आउनुभएको छ । बुधबार मात्रै दाहालले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा आफू कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न इच्छुक नरहेको बताउनुभएको छ । 
तथापी राजनीति संभावनाको खेल भएकाले राष्ट्रियसभा गठनका कारण नयाँ सरकार निर्माणमा भइरहेको ढिलाइ र एमाले माओवादीको एकता प्रयासमा सोचेअनुसार प्रगति नहुनुले घुमाइ फिराइ दाहाल प्रधानमन्त्री नै प्रधानमन्त्री बन्ने संभावना नकार्न सकिँदैन । यसका लागि माओवादीले एमालेसँग गरेको चुनावी गठबन्धन र पार्टी एकताको प्रयासलाई पूर्णत छाड्नुपर्ने हुन्छ । सरकार बनाउनका लागि चाहिने सामान्य बहुमत एकसय ३८ एमालेबाहेकका दल मिल्दा सजिलै पुग्ने देखिन्छ । कांग्रेस ६३, माओवादी ५३, राजपा १७, संघीय समाजवादी फोरम १६ सहित एक सय ४९ जना सांसद पुग्छन् । 
माओवादीले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बताइरहे पनि एमालेले माओवादीलाई बाहिर राखेर संघीय फोरमसँग मिलेर नयाँ सरकार बनाउने विकल्पबारे भित्रभित्रै छलफल भइरहेको चर्चा पनि राजनीतिक वृतमा सुनिन थालेको छ । एमाले र उपेन्द्र यादव नेतृत्वको फोरम मिल्दा केन्द्रमा मात्र नभई सातवटै प्र्रदेशसमा एकलौटी सरकार बनाउने अवस्था छ । केन्द्रमा एमालेको एक सय २१ सिट छ भने फोरमको १६ सिट छ । दुईवटा पार्टी मिल्दा एक सय ३७ पुग्छ । सामान्य बहुमतका लागि चाहिने एक सिट नयाँ शक्तिका बाबुराम भट्टराई, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र स्वतन्त्र सांसद छक्कबहादुर लामामध्ये एकलाई आफ्नो कित्तामा ल्याउन कठिन देखिन्न ।
उपेन्द्र यादव एमाले अध्यक्ष ओलीसहित अरु शीर्ष नेतासँग निरन्तर संवादमा रहनुभएको स्रोतको भनाइ छ । यादव आफैले पनि एमालेसँगको सत्ता समीकरणबारे अहिलेसम्म केही बोल्नुभएको छैन । अंक गणितीय हिसाबले फोरमसँग मिलेर एमालेले केन्द्रसहित सातवटै प्रदेशका सरकार बनाउन सक्ने भए पनि त्यस विकल्पतर्फ जानै नहुने मत एमालेभित्र छ ।
माओवादीलाई बाइपास गरेर सरकार एमालेले सरकार बनाए त्यो सरकार कुनै पनि बेला धरापमा पर्ने विश्लेषण एमाले नेताहरुले गरिरहेका छन् । स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे भन्नुहुन्छ, ‘माओवादीलाई बाहिर राखेर एमालेले सरकार बनाउने विषय सोच्न पनि सकिँदैन । पार्टी एकता भएर वाम गठबन्धकै सरकार बन्छ । त्यसमा अरु दललाई पनि सहभागी गराउने प्रयास गर्नेछौं ।’
उज्यालो अनलाइन बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads