Loading...
हजार गीतमा आवाज दिने खड्ग गर्बुजाः पानी खायो बाघैले !


अमृत सुवेदी
गीत त गीत नै हो, गाउँका खेतालाहरु पनि गीत गाउँथे । घाँसदाउरा, पराल बोक्दा होस् या चौतारीमा थकाइ मार्दा होस्, वा उकाली-ओराली गर्दा, मानिसहरु सुसेल्थे- झ्याउरे, सालैजो वा कुनै मन परेको लोकभाका ।
मेलापातमा पसीना र थकाइ भुलाइदिने गतिलो माध्यम थियो- लोकगीत । गाईबाख्रा चराउँदै गोठालाहरु कुनै रुखको हाँगामा बसेर बजाउँथे पात । वनका पातहरुले स्वयं निकाल्थे धुन । खोला स्वयं छङछङ भथ्र्यो संगीत । गाउँका प्रत्येक चिजले गाएझैं लाग्थ्यो शब्दहरु, निकाले झैं लाग्थ्यो अनौठो धुन ।
जति नै रमाइलो माने पनि यी गीतहरुमा, जति नै रमाए पनि गाउँपाखाहरुमा, अनि जति नै नाचे पनि गाउँबाट निस्कने यस्ता धुनहरुमा रमाइलो लाग्दो रहेनछ आˆनै पेटको सारंगीको आवाज । बडो र्क्रकश लाग्ने रहेछ अभावहरुको चिच्याहट ।
सुरिलो सुनिँदो रहेनछ कुनै साहुको हप्काइ । कसैको मन रमाउँदो रहेनछ अभावले झरेको आँसुको संगीत । त्यसैले झोला भिरेर निस्कियो गाउँबाट, १५ वर्षे एक किशोर सपनाहरु किन्न शहरतिर ।
अभावले धेरै दबाव दिएपछि ६ कक्षा पढ्दापढ्दै ऊ निस्किएको हो, लाहुरे हुन ।
जिन्दगीको लय मिलाउन वा भनौं केही थान सपनाहरु किन्न हानिएको थियो, भारततिर । उसलाई लागेको हुँदो हो, एक दिन झोला भरेर र्फकनेछु गाउँमा र भन्नेछु – ल हेर मैले अभावहरु बेचेर खुसी किनेर ल्याएको छु ।
तर, सजिलो कहाँ थियो र ? बेंसी खेतबाट धान बोकेर घर पुगेजस्तोे भइदिएन, लाहुरे हुने सपनाको दौड । एउटा कुरा चाहिँ मिल्यो, मुरी धान बोकेर थकित भएर घर पुगेझैं उनी पनि लाहुरे हुने प्रयास मरेपछि थकित भएरै घर फर्किएका हुन् ।
लाहुरे हुने प्रयास अन्तिम प्रतिस्पर्धाबाट तुहेपछि एक वर्ष उनले भारतका विभिन्न ठाउँमा चाहारे । दुःख, हन्डर खेपे । अभावलाई जित्ने तत्वको खोजीमा लागिरहे । कहिले सर्कस, कहिले होटल, कहिले कोइलाखानी हुँदै जीवनको सर्कसले उनलाई अन्ततः म्याग्दीतिरै फर्काइदियो । म्याग्दीको मराङबाट १५ वर्षमै विदेशको हन्डर खाएर फर्किए, उनी ।
उनी, अर्थात्- खड्ग गर्बुजा ।
एकपटक खड्ग गर्बुजा नाम सुन्नुभयो भने लाहुरे हुन हिँडेको त्योबेलाको किशोरभन्दा सयौं गीत गाएर स्वाभिमानले बाँचेको लोकगायक मनमा ढक्क आउँछ । खड्गलाई प्रत्यक्ष देख्नुभयो भने धेरैको आँखा हृविलचियरमाथिको सम्वेदनामा पर्नेछ । कसरी यस्तो भएको होला, तपाईँ सोच्दै हुनुहुन्छ ? त्यो कुरातिर एकैछिन पछि फर्कौंला, तर अहिले ०४७ सालतिर जाऔं ।
रेडियो नेपालको एउटा चर्चित कार्यक्रम थियो, चौतारी । पछिल्लो पुस्ताले समेत भेऊ पाएको चर्चित कार्यक्रम थियो त्यो । रेडियो नेपालमा बेलुका साढे ८ पछि बज्ने चौतारीका सञ्चालक थिए, चर्चित प्रस्तोता, गायक पाञ्डव सुनुवार र युक्त गुरुङ । ०४७ तिर खड्ग गर्बुजामा गायक बन्ने भुत सवार भइसकेको थियो ।
उनले त्यही चौतारी कार्यक्रममा गीत गाए-
‘पानीको कलधारा,
बैमानीको संगतै नगर,
बिग्रेला घरबार,’
पहिलोपटक रेडियो नेपालबाट आफ्नो आवाज आफैंले सुन्दा उनी उत्पात खुसी भएछन् । उनले काजु शेरचनको गीत गाएका थिए । भन्छन्, ‘नेपाली गीत संगीतमा लागेर त्यो दिनजति अरु दिन खुसी लागेको छैन । म एकदम खुसी थिएँ ।’
रेडियोमा पहिलोपटक आफ्नो आवाज सुन्दा छमछमी घुमेर नाच्न चाहन्थे उनी । रेडियोमा आफ्नो आवाज सुनेर उनी खुसी त भए, तर छमछमी नाच्ने खुट्टाहरु उनीसँग भएनन् । नाच्न नमिल्ने गरी उनी ह्विलचियरमा पुगिसकेका थिए ।
दुःखैदुःखको भूमरी

०४३ सालको एकदिन वनमा घाँस काट्न जाँदा भीरबाट लडेर गर्बुजा झन्डै सय मिटर तल खसे ।
अघिल्लो दिनमात्र उनी चिना हेराउन पुगेका रहेछन् । ज्योतिषले भनेछन्, ‘तपाईँको ग्रह राम्रो छैन, ग्रहशान्ति गर्नुपर्छ ।’ सधैं उस्तै भन्ने ज्योतिषको कुरा खासै मनमा लिएनन्, उनले । त्यसको भोलिपल्ट घाँस काट्न जाँदा उनी भीरबाट लडे । त्यो एउटा संयोग त के भन्नु, दुर्योग थियो ।
उपचार गर्ने पैसा थिएन । परिवारको आर्थिक अवस्था उस्तै नाजुक थियो । परिवारको । अन्धविश्वास पनि उस्तै थियो गाउँमा । परिवारले धामीझाँक्री गरे, जडीबुटी गरे । तातोपानीमा डुबे ठीक हुन्छ भन्दै तातोपानी कुण्ड पनि पुर्‍याए । कसै ठीक भएनन् उनी । अन्तिममा परिवारले गरगहना धितो राखेर अस्पताल पुर्‍याउँदा ढीला भइसकेको । डाक्टरले भनिदियो, ‘माफ गर्नुहोला तपाईँ स्वस्थ हुन सक्नुहुन्छ । तपाईँका दुबै खुट्टाले काम गर्दैनन् ।’
निराश भएर घर फक्र्यो परिवार । उनी हिँडडुल गर्न नसक्ने भए । घर फर्केपछि उनका दिन झनै कष्टकर बने, उनको काम त्यो बेला रेडियो सुन्ने थियो । रेडियो सुनेरै बाजा बजाउने अभ्यास गर्थे । त्यही समय उनले मौरी बाजा बजाउन सिकेका थिए । त्यही मौरी बाजा वादकका रुपमा उनी अहिले देशमा चिनिन्छिन् ।
गाउँ फर्केर उनी र उनको परिवारले थुप्रैसँग उपचार सहयोगका लागि बिन्तीभाउ गरे । ‘एक वर्ष काम गरेर ६ महिनामात्र खान पुग्ने मेरो परिवार थियो,’ गर्बुजा भन्छन्, ‘बाँकी ६ महिनालाई साहुबाट चौब्याजे अन्न ल्याउँथ्यौं । चौब्याजे कस्तो भने, एक पाथी अन्न ल्यायो भने अर्को वर्ष ४ पाथी तिर्नुपर्ने ।’
जब उनी दुबै खट्टा नचल्ने भए, त्यसको ठीक एक वर्षपछि आमा उलबती गर्बुजालाई पक्षघात भयो । दुखीलाई झन् दुःखैले घेर्छ भने झैं भयो उनको परिवारलाई । उनको परिवारको जीवन झनै कष्टकर बन्यो ।
गर्बुजाले दबाङ, बेनी, बागलुङलगायतका ठाउँमा मौरी बाजा र गीतमार्फत मनका पीर व्यथा पखाल्दै हिँड्न थाले । दुःखपीरका गीत सुनाउँदै हिँड्थे । झ्याउरे, सालैजो, कौरा र स्थानीय लोकभाकामा उनले शब्दहरु उनेर सुनाउँथे । उनलाई देखेर कतिले कठै भनिदिन्थे, गीत सुनेर कतिले रुमालमा पैसा राखिदिन्थे ।
यसरी रुमालमा जम्मा भएको पैसा पोको पारेर उनी काठमाडौं जाने सुरु कसे । बागलुङको बलेवा विमानस्थलबाट जहाज चढेर पहिलोपटक काठमाडौं ओर्लिए, गर्बुजा ।
अलिअलि गीत गाएर जम्मा गरेको पैसा थिँदै थियो । केही दिन बागबजारका गेष्ट हाउसमा बसेर आफूलाई सहयोग गर्ने दाताको खोजिमा लागे । थुप्रै मान्छेसँग हारगुहार गरे ।
‘जति रुनु थियो रोएँ, धेरै भयो मैले रुन छाडेको,’ गर्बुजा भन्छन्, ‘जीवन त हाँसेरै जीउने हो, अब छोराछोरीलाई हाँस्न सिकाउँदैछु’
यही क्रममा भेट भयो, सेन्ट जेभियर्स सामाजिक सेवा श्रम जावलाखेलका थोमस ई ग्याˆनी । उनै ग्यानी गर्बुजाको शिक्षादीक्षाको व्यवस्था गने अभिभावक बन्न आइपुगे । उनलाई जीवनको ठूलै भार बिसाउने चौतारी मिलेभैं भयो । पढाइ छाडेर लाहुरे हुन हानिएका गर्बुजाले दुर्घटनाबाट बाँचेर अर्को जन्म पाएपछि फेरि पढ्न पाए । उनी ६ कक्षामा भर्ना भए । पढाइ र गायन दुबैमा तीक्ष्ण गर्बुजाले प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।
०४७ ले जीवनै युटर्न
काठमाडौं पुगेर पढ्ने स्कुल र बस्ने बास पाएपछि गर्बुजाले बल्ल रेडियो नेपालको चौतारी कार्यक्रममा गीत गाउन पुगेका थिए । चौतारी कार्यक्रममा गीत गाउन पुगेको ०४७ साल धेरै कुरामा उनको जीवनमा अर्थपूर्ण छ । ०४७ ले जीवनलाई नै युटर्न गर्‍यो भन्दा पनि हुन्छ । योसालमा सुख र दुःख दुबै मिसिएको छ, उनको ।
सुरुमा खुसीकै कुरा गरौं, जब उनले चौतारीमा गीत गाए, त्यही साल उनले रेडियो नेपालमा स्वर परीक्षा पास गरे । स्वर परीक्षामात्रै पास गरेनन् रेडियो नेपालमै जागिरसमेत पाए । दुःखको कुरा, त्यही साल आमाको निधन भयो । तर, उनले २ महिनापछिमात्रै जानकारी पाए ।
रेडियो नेपालको अस्थायी जागिर सुरु भएपछि उनले पहिलो एल्बम निकाले र त्यसको नाम दिए, दुखको भूमरी । दुःखको भूमरीमा दुःखैदुःख थिए । गीतमा उनका जीवनकै दुःखहरु आए । जीवनका पीडाहरु पोखिए । वेनी, म्याग्दीतिरकै भाका र शब्दहरु आए ।
लाहुरे हुन गएको युवाको कथा समेटेर उनले दोस्रो एल्बममा कर्खा गाएका छन्, ‘खोली बगर, मेरो जोवन आशै नगर ।’ यो गीतमा शब्दहरुमा पनि उनकै प्रतिविम्व भेटिन्छ ।
उनको तेस्रो एल्बम ‘धौलागिरिमा, यो जोवन मायालाई, दिउँला फिरिमा’ निकाले । धेरैपछि त्यही गीतसँग प्रभावित भएर ‘धौलागिरिमा सके गुन तिरौंला नत्र फिरिमा’ भन्ने अर्कैको गीत बजारमा एक समय हिटै थियो ।
गीतैले जुरायो जीवनसाथी
यहीबीचमा ०४९ सालतिर धौलागिरि सांस्कृतिक संगम प्रस्तुति दिन पुगेको रहेछ, काठमाडौंमा । खड्ग काठमाडौंतिरै थिए । उनको त्यही कार्यक्रममा भेट भयो, मीना पुनसँग । मीन पुन पनि खुबै राम्रो गीत गाउँदी रहिछन् । दुबैजनाको देखादेख भयो । देखादेखमात्रै कहाँ मनमा अर्थोक नि भयो । मन मिल्यो र त्यही साल झ्याईँ पारे उनीहरुले । यो जोडीले बिहेपछि दर्जनौं गीतसँगै गाएर बजारमा ल्याएका छन् । खड्गको जीवनमा मीनाको आगमनले यो परिवार उज्यालो र समृद्धिको बाटोमा हिँडेको छ । लामो समय एक्लै संघर्ष गरेका खड्गले साथी पाए, सहारा पाए । मीनाले आफूलाई धेरै माया गर्ने जीवनसाथी पाइन् ।
गीत गाउँदै रुमालमा जम्मा गरेको पैसा पोको पारेर काठमाडौं छिरेको एक युवा अहिले देशकै प्रशिद्ध गायक र काठमाडौंमा परिवारका साथ आˆनै घरमा शानका साथ बसिरहेका छन् । श्रीमतीले घरदेखि कार्यक्रमहरुसम्म गाउँछिन् । गर्बुजालाई सघाउँछिन् । गर्बुजालाई देशविदेशकै कार्यक्रमहरुबाट पनि राम्रो आम्दानी हुन्छ । रेडियो नेपालमा पनि अझै अस्थायी जागिरे छँदैछन् । उनका २ छोरीहरु उच्च शिक्षा लिँदैछन् ।
जब गीतले चर्चाको शिखर चुम्यो

जब खड्गको पाँचौं, छैटौं एल्बम निस्क्यो, त्यसले नेपाली सांगेतिक क्षेत्रमा ठूलो तरंग नै ल्याइदियो ।
त्यो रानी वनको तिरतिरे धारा, सालैजो पानी खायो बाघैले, हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई, यो नानीले माया लाउँदैन जस्ता चर्चित गीत समेटिएको सम्झना मनैमा एल्बम निस्क्यो ।
यो एल्बमका गीत यति चल्यो कि सलैजो भन्नेबित्तिकै यही गीत सम्झन्थे मान्छेहरु । माइक्रो, ट्याक्सी, मिनीबस हरेकमा यही गीत । गाउँ, शहरका सांस्कृतिक कार्यक्रमहरुमा घन्किए, गर्बुजाका गीत । शाहका दोहोरी साँझमा यही गीतले मात चढाउन थाल्यो । यो एल्बम झन्डै डेढ लाख बिकेको थियो ।
‘त्यो क्यासेट धेरै बिक्यो । धेरै चर्चा र पैसा दुबै मिल्यो । राम्रो गीत निकाल्ने हो भने, राम्रो कलाकारिता गर्ने हो भने बाँच्न सकिने रहेछ भन्ने लाग्यो,’ खड्क ती दिन सम्झन्छन् ।
हिजो हेयले हर्नेको दृष्टिकोण आज फेरिएको छ । ‘लक्ष्य राख्यो र आत्मबल बढायो भने, कमजोरीलाई अवसरका रुपमा लिएर सकारात्म सोच्यो भने नसक्ने केही हुँदोरहेनछ,’ गर्बुजाले धेरैलाई मोटिभेट गर्छन् । पहिलेका दुःख र पीडाका दिन सम्झेर गर्बुजाका आँखाबाट आँसु झर्दैन । बरु भरिन्छ मनमा ऊर्जा र फरक जीवनको स्वाद पाउनको मजा ।
हजार गीतमा आवाज, देशविदेशमा कार्यक्रम
खड्गले झञ्डै हजार गीतमा आवाज दिएका छन् भने दर्जनौं पुरस्कार तथा सम्मान पाएका छन् । गीत गाएरै उनी अमेरिका, अष्ट्रेलिया, जापान, बेलायत बहराइन, थाइल्याण्ड, कोरियालगायत दर्जनभन्दा बढी देशमा सांगीतिक कार्यक्रम लिएरै घुमिसकेका छन् ।
पोखरा, काठमाडौंलगायत थुप्रै देशविदेशमा समेत एकल प्रस्तुति दिइसकेका छन् । ‘देशविदेशका कार्यक्रममा सम्झिरहनुहुन्छ, जान्छु । उहाँहरुको मायाले पुलकित बनाउँछ,’ गर्बुजा सुनाउँछन् । पहिलेजस्तो अहिले गीतका एल्बम बिक्दैनन् । गीतै निकालेर एल्बम बेचेर पैसा कमाउँला भन्ने दिन अब रहेन तर स्टेज कार्यक्रमले जीवन चालउन सकिएको उनी बताउँछन् ।
बाआमालाई खुबै चिन्ता थियो, ‘अब छोराको जीवन बर्बादै हुने भयो । के गरी खाना दुख पाउने भयो ।’ छोरा दुर्घटनामा परेको एक वर्षपछि आमाको त निधन भइहाल्यो, बाबुचाहिँ अहिले खड्गसँगै काठमाडौंमा बसेका छन् । ‘आमा त बितिहाल्नुभयो । बुबालाई चाहिँ सुखले पाल्न सकेको छु जस्तो लाग्छ,’ खड्क बताउँछन् ।
गर्बुजा पीडामै दुखिरहेको भए, अँध्यारोमै रुमलिरहेको भए, जीवन खत्तमै भयो भनेर बसिरहेको भए उनले आज यो उचाइ प्राप्त गर्ने थिएनन् । ‘जति रुनु थियो रोएँ, धेरै भयो मैले रुन छाडेको,’ गर्बुजा भन्छन्, ‘जीवन त हाँसेरै जीउने हो, अब छोराछोरीलाई हाँस्न सिकाउँदैछु ।’
म्याग्देली कलाकार गर्बुजाको यो सामग्री अनलाइनखबरबाट साभार गरिएको हो

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads