Loading...
२० दिनमै राष्ट्रियसभा चुनाव हुने

काठमाडौं ।  प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले २० पुसमा निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा गर्न सक्छ ।
सरकारले चाहेमा तत्काल प्रदेश प्रमुख नियुक्त गर्न सक्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रमुख दलहरूसँग यसबारे छलफल पनि गरिसकेका छन् । सोमबार मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ । चाँडो निर्वाचन गराउने उद्देश्य भए त्यही दिन प्रदेश प्रमुखको नियुक्ति गर्न सक्छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ ।
निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने व्यवस्था छ । आयोगले मिति घोषणा भएको बढीमा २५ दिनभित्र निर्वाचन गर्न सकिने बताउँदै आएको छ । जबकि, त्योभन्दा चाँडै निर्वाचन गर्न सकिन्छ । आयोगले २५ माघका लागि मिति तोक्न सरकारलाई सुझाएको छ । सरकारले अहिलेसम्म मिति तोकेको छैन । सरकार र आयोगले चाहेमा १५ माघभित्रै राष्ट्रिय सभा निर्वाचन सम्पन्न गर्न सकिने देखिन्छ ।
आयोगले प्रदेश सभाको निर्वाचन परिणाम घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था छ । सरकारले सोमबारभित्र प्रदेश प्रमुख नियुक्त गरेमा पुस मसान्तभित्रै आयोगले प्रदेश प्रमुखसमक्ष निर्वाचन प्रतिवेदन बुझाउन सक्छ । सरकारलाई सातै प्रदेशका प्रमुख नियुक्त गर्न अप्ठ्यारो भएमा एक प्रदेशको नियुक्त गरेर सातै प्रदेशको जिम्मेवारी दिन सकिने व्यवस्था पनि संविधानमै छ । जुन काम सरकारले चाहेमा तत्काल गर्न सक्छ ।
आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न पुस मसान्तसम्मको समय दिइसकेको छ । जबकि यो काम पनि बढीमा सात दिनभित्रै सकिन्थ्यो । आयोगकै तालिकाअनुसार पुस मसान्तभित्र दल दर्ता हुनेछन् ।
२ माघभित्र प्रदेश सदस्यको शपथ
प्रदेश सभाका ज्येष्ठ सदस्यले प्रदेश प्रमुखसमक्ष र अन्य सदस्यले ज्येष्ठ सदस्यसमक्ष शपथ लिने व्यवस्था छ । यो काम २ माघभित्रै सकिन्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads