Loading...
आज श्रीपञ्चमी अर्थात् सरस्वतीपुजा

सौन्दर्य, विद्या र यौवनको त्रिवेणी : 
वसन्तपञ्चमी/श्रीपञ्चमी/सरस्वतीजयन्ती/सरस्वती पूजा

लेखक : अमृत प्रसाद सापकोटा


“विद्याधनं सर्वधनं प्रधानम्”

सम्पूर्ण विश्व एकवर्णमिदम्को भावनामा सुगन्धित भएको वर्तमान विश्वमा विभिन्न देश, समाज, धर्म र परम्परामा विभिन्न नाम र महत्व बोकेको पर्व हो – वसन्तपञ्चमी । ऋतुहरुको राजाको रुपमा चिनिने वसन्त ऋतु चैत कृष्णप्रतिपदाभन्दा ४० दिन पूर्व अर्थात् माघ शुक्ल पञ्चमीबाट नै सुरु हुने हुनाले यस पर्वलाई वसन्तपञ्चमी पनि भनिन्छ । 
विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा गरेर शैक्षिक समुदायले विशेष पर्वको रुपमा मनाउने हुँदा यस पर्वले हिजोआज सरस्वती जयन्तीको रुपमा सांस्कृतिक स्वरुप धारण गरेको छ । सरस्वती विद्या, ज्ञानविज्ञान, प्रविधि, कला, साहित्य र संगीतकी देवी हुन् । ब्रह्मा, विष्णु र महेश्वरले पनि सरस्वतीबाट नै शिक्षा प्राप्त गरेको पाइन्छ । वेदमा जलदेवीको रुपमा चर्चित सरस्वतीको शाब्दिक अर्थ हुन्छ – तलाउबाली । महाभारतमा वेदकी जननी, जैन धर्ममा सुरकी देवी र वौद्ध धर्ममा ‘प्रज्ञादेवी’ सरस्वतीको प्रभाव विश्वव्यापी छ । ‘प्रज्ञादेवी’का रुपमा बौद्ध धर्मका माध्यमबाट जापानमा प्रवेश गराइएकी विद्याकी देवी सरस्वतीलाई जापानमा “बेन्जाइतेन” भनिन्छ । सरस्वती पूजादेखि नै गुरुङ समाजको प्रसिद्ध धार्मिक नृत्य घाटु प्रारम्भ हुने प्रचलन छ । बलामी जातिमा त यसै दिनमा मात्र परम्परागत विवाह गर्ने चलन पाइन्छ । 

वर्तमान समयमा विभिन्न शैक्षिक संघसंस्था, देवालय, मठमन्दिर र प्रत्येक शैक्षिक व्यक्तित्वको अध्ययन कक्षमा सरस्वती पूजा विशेष महत्वका साथ गर्ने गरेको पाउन सकिन्छ । विद्याकी जननीको रुपमा चर्चित सरस्वती माताका चार हात सर्वव्याकता तथा चार दिशाका प्रतीक मानिन्छन् । चारै हातमा भिन्नाभिन्नै गुण धारण गरेकी सरस्वतीको हातमा ज्ञानको प्रतीक वा झलक पुस्तक, संगीतको प्रतीक विणा, एकाग्रताको झलक माला, शान्तिको स्वरुपमा कमलको फूल पाउन सकिन्छ । सरस्वतीको बाहन हंश भएबाट निरक्षीर विवेकशील संसारमा रहेर पनि निर्लिप्त र साधक व्यक्ति नै विद्याको अधिकारी हुनसक्छ भन्ने कुरा प्रष्ट हुन्छ । जीवन दर्शनमा प्रत्यक्ष रुपले सम्बन्धित यस पर्व निरक्षरदेखि साक्षरसम्म उत्तिकै महत्वका साथ पाउन सकिन्छ । यसर्थ कि निरक्षर वा अबोध बालकलाई यसै दिनदेखि अक्षर कोर्न लगाइन्छ र साक्षरले विशेष महत्वका साथ नयाँ योजना निर्माण गर्ने दिनको रुपमा लिइन्छ । नेपाली समाजमा सरस्वतीको मूर्ति बनाई वा चित्र तस्वीरमा नै साक्षात् माता मानी पूजा गरिन्छ । तर पाश्चात्य केही देशहरुमा त एउटी सबैभन्दा राम्री बालिकालाई छानेर उक्त केटीलाई फूलैफूलले सिँगारी सौन्दर्य रानीको संज्ञा दिई वसन्तपर्व मनाइन्छ । पञ्चमी तिथिका आधारमा श्री शब्द जोडिएको श्रीपञ्चमी सर्वश्रेष्ठ सिद्ध हुन्छ । यस प्रकार वसन्तपञ्चमी रुप सौन्दर्य दिने, विद्या दिने, सम्पत्ति दिने र आनन्द दिने चाड हो । यस दिनमा ऋतु पूजा, विद्या पूजा, लक्ष्मी पूजा, विष्णु पूजा, श्रीकृष्ण पूजा, प्रकृति पूजा र हलोको पूजा पनि गर्ने प्रचलन छ । सरस्वतीको प्रसादले सम्पूर्ण कामना पूरा हुने जनविश्वास छ । आजको दिन जसले सरस्वतीको पूजा गर्दछ र सरस्वती बन्दना उच्चारण गर्दछ, त्यसको जिब्रोमा सरस्वतीको बास हुने र ज्ञान विज्ञानको क्षेत्रमा उत्कृष्ट हुने मानिन्छ । सरस्वतीको प्रसादले प्रसन्न श्रीकृष्णले बरदान दिई वसन्तपञ्चमीमा सरस्वती पूजाको परम्परा चलाएको मानिन्छ । यसै दिन सरस्वतीको जन्म भएको प्रसिद्ध छ । यस दिनमा कामदेवको पूजा गर्ने पनि विशेष परम्परा रही आएको छ । 
अन्त्यमा मानिसको उदास मनलाई प्राकृतिक सौन्दर्यले प्रसन्न गरी जीवनमा र जीउमा यौवन भरी ज्ञान दिने यस प्राकृतिक पर्व वसन्तले जड र चेतनमय सृष्टिमा एकताको जीवनदृष्टि दिई देशबासी सबैलाई शिक्षित गराउन सके मात्र देशमा वसन्त आई हाम्रो देश धनी बन्ने सन्देश सुनाएको छ । किनभने विद्याधनबाट मात्र देशमा व्याप्त असमानता, अज्ञानता, अन्धविश्वास आदिको अन्त्य भई देशमा सर्वाङ्गिण विकास सम्भव छ । 
शिक्षक – माउन्ट एभरेष्ट आवासीय मा.वि., बेनी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads