Loading...
एमालेबाट २६ नयाँ अनुहार, नाम चलेका समानुपातिकबाट आउट

एमालेबाट उम्मेदवारी दर्ता गरेका २९ मध्ये ३ जना मात्र पूर्वसांसद छन् । बाँकी २६ जनाले पहिलोपटक राष्ट्रिय सभाका लागि टिकट पाएका हुन् ।
प्रदेश १ बाट उम्मेदवारी दिएकामध्ये परशुमेघी गुरुङबाहेक नैनकला ओझा, खेम नेपाली, हरिचरण सिवाकोटी र अगम बान्तवाले पहिलोपटक अवसर पाएका हुन् । गुरुङ भने एकपटक संखुवासभाबाट सांसद भइसकेका छन् ।
त्यस्तै, प्रदेश २ बाट सुमन प्याकुरेल, ३ बाट पार्वती रावल, उदया शर्मा, सिंहबहादुर विक, बलराम बास्कोटा र रामचन्द्र राई दनुवारले पहिलोपटक राष्ट्रिय सभामा टिकट पाएका छन् । बेदुराम भुसाल भने एकपटक राष्ट्रिय सभामै निर्वाचित भएका थिए ।
त्यस्तै, प्रदेश ४ मा रामबहादुर थापा, गणेश तिमिल्सिना, शान्ति अधिकारी, दीपा गुरुङले पनि राष्ट्रिय सभामा पहिलोपटक अवसर पाएका छन् । प्रदेश नं। ५ बाट रामलखन हरिजन, खिमलाल भट्टराई, मीना बुढा, कोमल वली, प्रदेश नम्बर ६ बाट कविता बोगटी, नन्दा शर्मा, नरपति लोहार, भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्र पुरीले पहिलोपटक अवसर पाएका छन् ।
प्रदेश नम्बर ७ बाट कमला ओली, इन्दु कडेरिया विष्ट, चक्रप्रसाद स्नेहीले पहिलोपटक अवसर पाएका छन् । ७ बाटै अवसर पाएका शेरबहादुर कुँवर भने पहिलो संविधानसभा निर्वाचनमा अछामबाट निर्वाचित भएका थिए ।
समानुपातिकका दर्जन नेता ‘आउट’
समानुपातिक सूचीमा नाम रहेका कारण एमालेका एक दर्जनभन्दा बढी पुरुष नेता राष्ट्रिय सभाको उम्मेदवार छनोटमा वञ्चित भएका छन् । प्रतिनिधिसभाको परिणाम सार्वजनिक नभएसम्म समानुपातिकको सूचीबाट पार्टीले नाम फिर्ता लिन नमिल्ने तथा एकै व्यक्ति दुईतिर उम्मेदवार बन्न नपाउने निर्वाचनसम्बन्धी नियमावलीका कारण दर्जनभन्दा बढी केन्द्रीय नेता उम्मेदवार छनोटमा वञ्चित भएका हुन् ।
प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेका केन्द्रीय लेखा आयोगका अध्यक्ष डा। पुष्प क“डेल, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, केन्द्रीय सदस्यहरू ईश्वरी विश्वकर्मा, रामप्रित पासवान, श्रीप्रसाद शाह, घनेन्द्र बस्नेत, खगेन्द्र राई, गणेश विश्वकर्मालगायतका नेता राष्ट्रिय सभा उम्मेदवार बन्न पाएनन् । परिवार दलबाट एमाले प्रवेश गरेर समानुपातिक सूचीमा नाम रहेका एकनाथ ढकाल, चुरे भावरबाट एमाले प्रवेश गरेका बद्री न्यौपाने, मधेसी समता पार्टीका तत्कालीन अध्यक्ष मेघराज नेपाली पनि उम्मेदवार बन्नबाट वञ्चित भए । केन्द्रीय नेताको नाम प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेका कारण राष्ट्रिय सभाको दलित, अल्पसंख्यक र अपांगता समूहमा जिल्ला तहका ‘जुनियर’ नेताले पनि अवसर पाएका छन् ।
एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ जितेको ४१ सिटमा ३९ जना महिला निर्वाचित हुने निश्चित छ । खस आर्य समूहबाट मुकुन्द न्यौपाने र जनजाति समूहबाट विजय सुब्बाबाहेक निर्वाचित हुन नसक्ने पुरुष केन्द्रीय नेता राष्ट्रिय सभाको उम्मेदवार हुनबाट वञ्चित भएका हुन् । ‘पार्टीले नै मापदण्ड बनाइसकेपछि छनोटमा पर्ने कुरै भएन,’ केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘पार्टीले निर्णय गरिसकेपछि प्रश्न उठाउने कुरा पनि अब ढिला भइसक्यो ।’
एमालेले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा उम्मेदवार बनेकालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउनेसहितको ६बुँदे मापदण्ड पारित गरेको थियो । प्रतिनिधिसभा निर्वाचन परिणाम घोषणामा ढिलाइ र पार्टीले बनाएको मापदण्डका कारण पटक–पटक सूचीमा परेर पनि केही नेता सांसद बन्नबाट वञ्चित भएका छन् । केन्द्रीय सदस्य ईश्वरी विश्वकर्मा ०६४ को पहिलो संविधानसभायता तीनपटक समानुपातिक सूचीमा परेका थिए । नेता प्यासी र साहले पनि मापदण्डकै कारण अवसर पाएनन् । राष्ट्रिय सभा गठन पहिल्यै प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएको अवस्थामा अवसर नपाउनेहरूको नाम फिर्ता लिएर उनीहरूलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउन सक्थ्यो ।
आकांक्षी यी नेता पनि परेनन्
उपाध्यक्ष युवराज ज्ञवाली, नेता भरतमोहन अधिकारी, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल, पोलिटब्युरो सदस्यहरू जगन्नाथ खतिवडा, रघुजी पन्त, अग्नि खरेल, महेन्द्रबहादुर पाण्डे, ठाकुर गैरेलगायतका नेताहरू छनोटमा परेनन् ।
नयाँ पत्रिकामा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads