Loading...
रेन्टसिकीँगको त्रासदी बीच देश विकासको नियति !

Image may contain: 1 person

लेखक : कृष्ण पौडेल

विकास र समृद्धिको भेलै बगाई दिने शंखनादका साथ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले नयाँ सरकार पाउँदैछ । लामो राजनैतिक उथलपुथलको चक्र पश्चात निर्वाचित सरकार पनि विगतमा झै अपजस र असफलताको दुश्चक्रको शिकार बन्न सक्ने जोखिम यथावत छ । नेपाल जस्तो पछौटे मुलुकको आर्थिक सम्वृद्धि, विकासका नाममा हुने  भौतिक निर्माणको कस्मेटिक सिँगार पटारले मात्र हासिल हुँदैन । देशको  आर्थिक संरचना र सामाजिक साँस्कृतिक चरित्रमा समेत प्रयाप्त फेरबदल आउनु पर्दछ, जसलाई आमुल परिवर्तन वा क्रान्तिको मान्न सकिन्छ । संसारका प्राय सबै मुलुकहरुमा अल्पविकसित अवस्थावाट आधुनिक समाजमा संक्रमणको चरणमा  विशेष संस्कार एवम प्रवृत्तिगत रोग देखा पर्दछजसको सहि उपचार विना कुनै पनि देश विकास सहज हुँदैन । यस्तो रोगलाई सामाजिक अर्थशास्त्रिहरुले रेन्ट सिकिँग प्रवृतिको नाम दिएका छन ।
कुनै बेला नेपाल संसारकै दोस्रो गरिव देश थियाे, नेपाल भन्दा पनि गरिब इथोपिया थियाे रे ।  इथोपिया अाज विश्वमा दोहोरो अंकको तिब्र आर्थिक बृद्धिदर हासिल गर्ने देशकाे श्रेणी परेकाे छ ।  त्यहाँको सरकारले रेन्टसीकिग प्रवृत्तीलाई आर्थिक प्रगतिको लागि ठूलाे बाधक मान्दै त्यस विरुद्ध कठोर अभियान चलाउने निति अख्तियार गरेको छ ।  नेपालको सन्दर्भमा रेन्ट सिकिग प्रवृत्तिको चुनौति के कति सम्म गम्भिर छ  भन्ने बारे गहन अध्ययन विश्लेषणको जरुरी देखिन्छ ।
सामान्य  अर्थमा रेन्ट भनेको घर ,जग्गा वा कुनै सम्पत्ति प्रयोग वापतको भाडा वा शुल्क हो । तर विशेष अर्थमा  रेन्टसीकिंग  अतिरिक्त लाभको खोजी  भन्ने बुझिन्छ । यो शब्दावलीलाई अर्थशास्त्रि  एनी क्र्यूगरले सन् १९७४ मा परिचित गराएकी थिइन ।  अरु विद्धानहरुले रेन्ट सिकिँगलाई सभ्रान्तवर्ग वा राज्यका अधिकारीहरुले समाज वा राष्ट्रको कुल उत्पादन वा आय वृद्धिमा खास योगदान विना रातारात अकुत धन, सम्पत्ति वा आय आर्जन गर्न सक्ने स्थितिको रुपमा परिभाषित गरेका छन । 
यस मान्यता अनुसार आमरुपमा रेन्ट सिकरहरुले विद्यमान आर्थिक प्रणालीमा उत्पादनशील गतिविधि विना उत्पादनको हिस्सा कब्जा गरिरहेका हुन्छ ।  व्यक्ति तथा समुह, कर्मचारी तथा राजनैतिक व्यक्ती, व्यवसायी तथा वह्य एजेन्सीहरु अादि रेन्ट सिकर हुन सक्दछन । यो प्रवृत्तिले  विकासोन्मुख मुलकुहरुको आर्थिकव्यवस्थालाई अत्यन्त विषाक्त  बनाइरहेको हुन्छ । ती मुलुकहरुको आर्थिक, सामाजिक तथा राजनैतिक संस्थागत संरचनाधनको सृजनामा  होइन अनुत्पादक हस्तान्तरणको लागी अनुकुल हुन्छ । यसर्थ यो प्रवृत्तिको प्रभावकारी नियन्त्रण विना देशको विकास र प्रगतिका योजना केवल दिवास्वपना मात्र सावित हुने गर्दछन । यसलाई भ्रष्टाचार भन्दा धेरै गुणा ठूलो र जटिल समस्या मानिएकोछ । 
रेन्टसीकिग कार्यका अनेक रुप र आयामहरु छन । कर्मचारीतन्त्रबाट राज्य र समुदायलाई नोक्सान र सिमित व्यक्ति, व्यवशायी तथा स्वार्थसमुहहरुलाइ फाइदा हुने गरि सरकारी नीति योजना र कार्यक्रम कार्यान्वयन गरिन्छ । त्यसबाट आर्जित कमाई घुस, कमिशन, महिनाबारी,हप्तावारी आदिको रुपबाट बाँडफाँड गरिन्छ । सार्वजनिक सेवाको दायित्व निर्वाहको क्रममा सेवाग्राहीहरुलाई कृत्रिम विवशता सृजना गरेर तथा करछली, राजस्व ठगीमा मिलेमतो गरेर  घुस लिने गरिन्छ, । न्यायिक  प्रक्रियामा समेत आर्थिक चलखेल हुने गर्दछ । 
रेन्टसिकिंग कार्य  राजनीतिक निकाय, संसद एवम सरकारबाट कानुन तथा नीति निर्माण कार्यमा अनुचित प्रभावमा पारेर पनि हुन्छ  । यस्तो अवस्थामा सरकारी नीति, कार्यक्रम, रणनीतिहरु व्यक्तिगत वा खास स्वार्थ समुहको हितलाइ केन्दमा राखेर तय हुन सक्दछन । भनिएको छ ः समग्र समाजको हित विपरित आफनो वर्ग समुहहरुको हितको लागि नीति निर्णय गराउन दिने दवाव, आन्दोलन, प्रचारवाजी, बन्द हडताल, विद्रोह आदिबाट समेत रेन्ट सिकिगको अवसर सृजना गराइन्छ । एनजिओ र आइएनजियो बाट हुने दक्ष जनशक्तिको दुरुपयोग , सार्वजनिक बजेट तथा सुविधाको असमान वितरणस्वार्थ समुहरुको नीति निर्माणमा प्रभाव, कृत्रिम अभाव सृजना इत्यादि  रेन्ट सिकिग गतिविधिका विभिन्न रुप मानिएका छन ।राजनैतिक अर्थशास्त्रिहरुले अनुत्तरदायि, अपारदर्शी एव झन्झटिलो सरकारी  प्रक्रियालाई  रेन्टसिकिंगको उर्वरभूमि मान्दछन । 
रेन्ट सिकिगको अवधारणा अलि जटिल छ । यो निरपेक्ष रुपमा अवैध हुदैन, बैध जति सवै जायज पनि हुदैन । प्राकृतिक स्रोत सम्पदा प्रयोगबापतको रोयल्टि, कपि राइट तथा पेटेन्ट राइट जस्ता बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई बैध तथा जायज रेन्टसिकिग मानिन्छ । तर कर छुट, क्षतिपूर्ति, एकाधिकार इत्यादि बैधताको दायरा भित्र हुने अनुचित रेन्ट सिकिंग अत्यन्त खतरनाक मानिन्छ ।  
कानुनी एवम नीतिगत समस्या तथा कमजोरीहरुभ्रष्टाचार तथा रेन्टसिकिग गतिविधिका रुपहरु र त्यसको असरको सम्बन्धमा सामाजिक चेतना स्तरको कमी, कर्मचारी तथा सार्वजनिक जिम्मेवारी रहनेहरुको महत्व, भूमिका तथा योग्यता अनुुुसार पारिश्रमिक तथा सुविधामा कमी, बढ्दो महंगी एवम अन्य खर्च वृद्धिको कारण मौद्रिक आय बढे पनि वास्वविक आयको घट्ने कारणले सम्मान जनक जीवन निर्वाहमा अपूग, कानुनी दायरा तथा छिद्रहरुको दुरुपयोग, व्यक्तिगत लोभ लालच, नेतिकताको अभाव, नैतिक मूल्यहिन सामाजिक तथा कार्यस्थलको माहोल आदि तत्वहरु रेन्टसिकिग कार्यलाई प्रोत्साहन गर्ने स्रोतहरु मानिन्छ ।
विकासोन्मुख मुलुकहरुमा रेन्ट सिकिग संक्रमणको परिणाम अत्यन्त  भयावह पूर्ण मानिन्छ  । कर्मचारी तन्त्रनै सरकारी नीति तथा कार्यक्रमहरु लागू गर्ने मूख्य औजार हो ।  रेन्टसिकिग प्रवृत्ति हावि हुँदा त्यो सरकारी मेकानिज्म खिया लागेर भुत्ते भएको हुन्छ । नयाँ सुधारका कार्यक्रम यदि रेन्ट सिकरहरुको हित स्वार्थ प्रतिकुल भए लागू हुन नदिने, भए भने पनि असफल पार्ने काम हुन्छ । सरकारी प्रयास निकम्बा सावित हुने गर्दछ । 
रेन्टसिकिँग महामारीको कारण देशको अर्थतन्त्रमा उत्पादन लागत अस्वाभाविक रुपमा अत्यधिक हुन्छ, उत्पादकत्व न्युन हुन्छ । त्यसकारण राष्ट्रिय अर्थतन्त्रको प्रतिस्पर्धी क्षमतालाइ क्षिण बनाउँछ, साथसाथै आन्तरिक तथा बाह्य लगानी दुरुत्साहित हुन पुग्दछ  । आधुनिक अर्थव्यवस्थामा उद्यमशिलता र इन्नोभेशन आर्थिक विकासको लागि इन्जिन वा ड्राइभिंग शक्ति मानिन्छ तर रेन्टसिकिग वातावरणसग तीनको विपरित सम्वन्ध हुन्छ । रेन्टसिकिग समाज उद्यमशिलताको निम्ति मृत नदि सरह मानिन्छ ।
रेन्ट सिकिँगबाट अक्रान्त देशको शान्ति शुरक्षा तथा कानुनी शासन निरिह हुन्छ ।, न्याय र सुरक्षाको खरिद विक्रि हुन्छ । सिमित व्यक्ति रातारात धनि हुन सक्छनआम नागरिकको आर्थिक हैसियत गिर्दै जान्छ र आर्थिक असमानता बढ्दै जान्छ । रेन्टसिकरहरुले अनुचित लाभको लागि अनुचित लगानी गर्दछन र सर्वसाधारणले राज्यबाट स्वाभाविक सेवालिन पनि घुस तथा दलाली खर्च दिनु पर्ने हुन्छ, यस्तो कार्यमा राष्ट्रको ठूलो सम्पत्ति अनुत्पादक र अनुचित रुपमा अपव्यय हुन्छ ।
रेन्ट सिकिँग प्रवृतिकाेे रोगग्रस्थ राज्यमा सरकारी सेवाको प्रवाह जनमैत्री र प्रभावकारी  हुन सक्दैन । आयोजना तथा कार्यक्रमहरु यथोचत कार्यान्वयन हुँदैनन, भएको पनि समयमा नहुने , सरकारी प्रतिबद्धताहरु पुरा नहुने  हुँदा  जनविश्वास समाप्त हुँदै जान्छ । रेन्ट सिकरहरुको प्रत्यक्ष वा परोक्ष कारण सैनिक विप्लव वा  राजनैतिक विद्रोह, आन्दोलन, सरकार वा व्यवस्था परिवर्तन आदिबाट राजनैतिक अस्थिरता सृजना हुन सक्दछ । 
नाजायज रेन्ट सिकिँग कार्य भनेको फाँटवालाको सामान्य जिन्सि नगदको बेरुजुको भ्रष्टाचार मात्र होइन, उपल्लोस्तरको आर्थिक, समाजिक, राजनीतिक, प्रशासनिक, न्यायिक तथा सुरक्षा शक्ति वा निकायलाई समेत हातमा लिएर गरिने राष्ट्रको ब्रम्हलुट हो ।  रेन्टसिकरको शक्ति र प्रभावको कारण राजनैतिक सत्ता र व्यवस्था समेत तलमाथि हुन सक्ने भएकोले केवल प्रशासनिक उपायबाट यस्को नियन्त्रण हुन संभव हुदैन ।  राजनैतिक सुधार, सरकारी प्रतिबद्धता र प्राथमिकता , व्यापक जनचेतना, नागरिक समाज तथा विभिन्न सामाजिक संस्थाको  एवम मिडियाको भूमिका, कानुनी तथा नीतिगत सुधार, आधुनिक प्रविधिको प्रयोगबाट रेन्टसिकिग गतिविधिमा नियन्त्रण गर्न सम्भव हुन सक्छ ।
नेपाल जस्तो विकासोन्मुख  मुलुकमा  यो रेन्टसिकिंङ्ग प्रवृत्ति रुपि वनमारा झाडि नफाँडिकन आर्थिक उन्नतिको गाडी चल्ने राजमार्ग  बन्दैन, तर याे त्यति सजिलो  पनि छैन । समाजको परम्परागत पृष्ठभूमि, राजनैतिक प्रणाली, धर्म,सस्कृति, सामाजिक मूल्य मान्यता, नैतिक मापदण्डहरु, व्यक्तिगत मानसिकताको चरित्र र प्रकृतिको उपज पनि हो त्यसैले जब्बर छ । यो मध्य युगिन सामन्ती  लागि ठूलो चुनौति हो 
नयाँ सरकारले आर्थिक विकासका अधिकतम सम्भावनाहरुलाई वास्तविकतामा परिणत गर्न, मुलुकलाई  दोहोरो अंकको आर्थिक वृद्धिदर सहित समृद्धिको पथमा अगाडि बढाउने हो भने  इथिपियामा झै रेन्टसिकिँग प्रचलन र प्रवृत्तिलाई समेत  गम्भिर समस्याको रुपमा स्विकार गर्नु पर्ने हुन्छ । साथै यस्लाई  नियन्त्रण गर्ने प्रभावकारी रणनीति अपनाउन अपरिहार्य देखिन्छ । निश्चित आर्थिक विकासको सम्पूर्ण समस्या यो मात्रै होइन तर यसलाई जुन स्तरको समस्याको रुपमा बोध हुनु पर्ने हाे त्यो हुनु पर्ने हुन्छ । यस्ता आधारभूत प्रकृतिका समस्याहरु कार्पेटमुनी लुकाउन खोज्दै मुढेबलले विकासे रथ तान्न खोज्नु वा ह्याकुलाले पेलेर समुचित आर्थिक समुन्नतिको सपना देख्नु राजनैतिक मुर्खताको पराकाष्ठा सावित हुनेछ । कामना छ आउँदा वामपन्थीहरुको भारी बहुमत सरकार रेन्टसिकिँगको चास्निमा नडुबोस ।
कृष्ण पौडेल, कोपेनहेगन डेनमार्क


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads