Loading...
महोत्सव सबैको साझा हो

म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा २०६० सालदेखि प्रत्येक वर्ष मेला तथा तीन वर्षको अन्तरमा म्याग्दी महोत्सवको आयोजना हुँदै आएको छ । विगतका वर्षहरुमा सम्पन्न गरिएका मेला महोत्सवहरुबाट स्थानीय एवं जिल्लाका उद्योग, व्यापार, पर्यटन लगायतका अन्य क्षेत्रहरुमा भएको उत्साहजनक प्रगति र त्यसबाट उद्योगी व्यापारीका साथै जिल्लावासीहरुमा थपिएको ऊर्जाबाट अभिप्रेरित भई म्याग्दी उद्योग वाणिज्य संघले २०७४ साल पौष २८ देखि माघ ७ गतेसम्म परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई जगाउने उद्देश्यका साथ सोही पर्वको अवसर पारेर “उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं” भन्ने मूल नाराका साथ छैटौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला एवं ४ नंं. प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७४ आयोजना गरेको छ । स्थानीय उत्पादनलाई उपभोक्तासामू पहिचान गराउनुका साथै स्थानीयलगायत राष्ट्रिय उत्पादनको उपभोगमा उत्प्रेरणा जागृत गर्ने, सूचना र प्रविधि क्षेत्रमा भएका नयाँ आयामहरुको बारेमा सम्बन्धित पक्षहरुलाई जानकारी गराउनु नै म्याग्दी उद्योग वाणिज्य संघको लक्ष्य हो । लोक, संस्कृतिलाई जर्गेना गर्नु, पर्यटनको प्रचुर सम्भावना बोकेको यस जिल्लाका धार्मिक, ऐतिहासिक एवं पर्यटकियस्थल लगायतका विभिन्न स्थलहरुको फोटो प्रदर्शनी एवं वृत्तचित्र प्रदर्शनीबाट प्रचारप्रसार गरी पर्यटक भिœयाउनमा मद्दत गर्नुका साथै खेलकूद, शिक्षा क्षेत्रको बारेमा समेत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै जिल्लाको समग्र क्षेत्रको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । यस महोत्सवले धेरै अर्थ राख्ने आयोजकको अपेक्षा रहेको छ । यसै सन्दर्भमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं छैटौं म्याग्दी महोत्सवका मूल आयोजक समितिका संयोजक उत्तमकुमार कर्माचार्यसँग रुप्से दैनिकले गरेको कुराकानीको सम्पादित अंश ः
म्याग्दी महोत्सवको तयारी कति भयो ?
हाम्रो महोत्सवको उद्घाटन पुस २८ गते हुने हो । अहिलेसम्म अन्य सबै तयारीहरु द्रुत गतिमा अगाडि बढिरहेका छन् । समग्रमा हाम्रो तयारी ७५ प्रतिशत पुरा भैसक्यो । महोत्सवको लागि व्यापारीक स्टलहरु बनिरहेका छन् । रमाइलो मेलाका लागि सामाग्रीहरु आइतबार बेनी आइपुगेको छ । २६ गतेसम्ममा रमाइलो मेलाको पिङ् लगायतका सबै निर्माण कार्यहरु पुरा हुन्छ भने स्टल पनि २६ गते नै पूर्णरुपमा तयार भैसक्छ । पर्यटन प्रवद्र्धनको रुपमा लिएको फोटो प्रदर्शनीको पनि तयारी अन्तिम चरणमा पुगेको छ । डकुमेन्ट्री प्रदर्शनीका लागि सबै कार्य सकिएको छ अब मिक्सिङ र स्वर हाल्ने काम बाँकी छ सबै भिडियो कलेक्सन सकिएको छ ।
आर्थिक सहयोग के कति उठ्यो र उठ्दै छ ?
आर्थिक सहयोगका लागि अहिलेसम्म ४० लाखको प्रतिबद्धता पाएका छौं । महोत्सवका लागि विभिन्न क्षेत्रका दाताहरुले हामीलाई ४० लाख सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । साविकको म्याग्दी जिल्लाभित्रका गाउँपालिकाहरुबाट राम्रो सहयोग पाएका छौं । गाउँपालिकाहरुको फोटो प्रदर्शनी पनि हामी राख्ने तयारीमा छौं । धौलागिरी गाउँपालिकाले महोत्सवलाइ निकै ठूलो सहयोग गर्दैछ । उनीहरुले आर्थिक मात्र नभई स्थानीय उत्पादनलाई यहाँ प्रदर्शनीमा राखेर सहयोग गर्दै हुनुहुन्छ । हामीले उहाँहरुले महोत्सवमा ल्याउने सामाग्रीको बिक्रीका लागि पहल गर्दैछौं । स्थानीय उत्पादन लिएर आउनेलाई यातायात खर्च तथा यहाँको खाना बस्नको खर्च पनि हामीले व्यवस्थापन गरिदिन्छौ । यसले गर्दा उहाँहरुले यहाँ ल्याएर बिक्रीबाट पुरै मूनाफा आर्जन गर्न सक्नुहुन्छ ।
प्रचारप्रसार के कसरी भएको छ र खेलकुद कसरी गर्दै हुनुहुन्छ ?
प्रचारप्रसारको काम निकै अगाडि छ । पोष्टर टाँस्ने, ब्रोसर तयार गरी बाड्ने काम पनि भैसकेको छ र भैरहेको पनि छ । सबै गाउँपालिका तथा साविकको धौलागिरी अञ्चलभर यो काम जारीरहेको छ । खेलकुदका लागि हामीले धौलागिरी अञ्चलभित्रका स्थानीय तहस्तरीय खेलकुद आयोजना गर्न लागेका छौं । भलिबल र बास्केटबल प्रतियोगिताको तयारी गरिएको छ । भलिबल खेलको सम्पूर्ण व्यवस्थापनको जिम्मा जिल्ला भलिबल संघ म्याग्दीलाई दिएका छौं । त्यसैगरी बास्केटबलको जिम्मा कालिपुल युनाइटेड क्लबलाई दिएका छौं । खेलकुदको तयारी पनि निकै अगाडि बढिसकेको छ । सबैले खेलमा सहभागिताको लागि प्रतिबद्धता आएको छ । 
अतिथि तथा प्रमुख अतिथिको अवस्था के छ ?
हामी पर्यटन र व्यापारसँग सम्बन्धित भएर महोत्सव आयोजना गरीएकोले यही क्षेत्रका अतिथिहरुलाई बोलाएका छौं । प्रमुख अतिथिमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)लाई निम्त्याएका छौं । उद्घाटनको दिनमा अन्य अतिथिहरु पनि आउनुहुनेछ । अन्य दिनमा पनि चर्चित कलाकारलाई निम्त्याउँदै छौं ।

सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम कसरी अगाडि बढ्छ ?
म्याग्दी साङ्गीतिक तथा सांस्कृतिक रुपमा अग्रस्थानमा रहेको जिल्ला हो । त्यसैले पनि महोत्सवमा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम प्रथमिकतामा छ नै । यसपटक रत्यौली प्रतियोगिता आयोजना गरिएको छ त्यसमा सहभागिताको लागि पनि निकै टिमहरु सम्पर्कमा आएका छन् । खुल्ला लोकनृत्यका लागि स्कूल तथा क्लबहरुबाट सम्पर्क भैरहेको छ । हामीले साङ्गीतिक माहौललाई प्राथमिकताका साथ राखेका छौं । ३० जना जति बाहिरबाट चर्चित (राष्ट्रिय) कलाकारहरुलाइ महोत्सवमा ल्याइने छ । स्थानीयलाई प्राथमिकता उच्च रहने छ । तर, यसपटक अहिलेसम्म पनि स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुतीका लागि सम्पर्क गर्नुभएको छैन । उहाँहरुले प्रस्तुती नदिने भनेर हो या किन हो सम्पर्कमा आउनुभएको छैन । यदि आफ्नो प्रस्तुती राख्ने हो भने महोत्सव आयोजकसँग उहाँहरुले सम्पर्क गर्नुपर्छ ।

महोत्सव अवलोकनका लागि टिकटको व्यवस्था कसरी गरिएको छ । 
यसपटक हामीले ४ प्रकारको टिकटको व्यवस्था गर्दैछौं । दुई हजार रुपैयाँ पर्ने विशेष टिकट रहने छ । त्यो टिकट लिएका व्यक्तिहरुले महोत्सवस्थलमा पुगेर कुर्सीमा बसेर महोत्सवको अवलोकन गर्न पाउनुहुनेछ । त्यस्तै अर्को एक हजार रुपैयाँको टिकट हुनेछ त्यो टिकट महोत्सव अवधिभर भित्र बाहिर गर्न मिल्ने छ तर त्यो टिकट लिएका व्यक्तिलाई कुर्सी हुनेछैन उँभिएरै अवलोकन गर्न पाइने छ । त्यस्तै अर्को भनेको साधारण टिकट हो जसको मूल्य ५० रुपैयाँ कायम गरेका छौं । त्यो टिकट लिएपछि एकपटक भित्र गयो भने त्यो टिकट च्यातिनेछ । भने अर्को हो विद्यार्थी टिकट । विद्यार्थी टिकट भनेको विद्यार्थीहरुलाई ल्याएर अवलोकन गर्नका लागि हो र त्यो टिकटको मूल्य १५ रुपैयाँ तोकिएको छ । हामीले समग्र टिकट बिक्रीबाट ३५ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेको छ । गत महोत्सवमा २८ लाखको टिकट बिक्री भएकाले यसपटक हामी ३५ लाखसम्म पुग्ने अपेक्षा गरेका छौं । 
अन्त्यमा केही छ कि ?
यस वर्षको महोत्सवको उद्घाटनको दिनमा विभिन्न झाँकीसहितको बजार परिक्रमापछि महोत्सव सुरु हुन्छ । २८ गते बिहान ११ बजे हामी कुनै पनि हालतमा महोत्सवको ¥याली सुरु गर्नेछौं । कति मान्छे जम्मा भए ११ बजे भन्ने सवाल हुँदैन त्यो दिन । हामी ११ बजे ¥याली शुरु गर्छौं त्यो ‘फिक्स टाइम’ हो । उक्त समयमा विभिन्न जातजाती, भेषभूषा, कला, खेलकुद जस्ता पहिचानहरु झल्कने खालको झाँकी प्रदर्शन हुनेछ । महोत्सव हामी सबैको हो । त्यसैले साविकको अञ्चल, जिल्ला तथा अहिलेको नगपालिका, गाउँपालिका र सबै क्षेत्रका महानुभावहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुनेछ भन्ने आशा गरेका छौं । महोत्सवलाई सबैले मिलेर सफल बनाउनुपर्ने छ, त्यसैले सबैले महोत्सवका लागि सहयोग गर्नुहोला । महोत्सवसम्बन्धी आफ्नो र आयोजक संस्थाको कुरा राख्ने मौका दिनुभएकोमा रुप्से टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।




,

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads